शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभा विघटन बदर भएसँगै दाङमा दीप प्रज्वलन

मङ्गलबार, ११ फागुन २०७७, २२ : ४६
मङ्गलबार, ११ फागुन २०७७

दाङ । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरेसँगै दाङमा दीप प्रज्वलन गरिएको छ । घोराही र तुलसीपुरमा नेकपाका प्रचण्ड–माधव पक्षका नेता तथा कार्यकर्ताहरुले दीप प्रज्वलन गरेका हुन् ।

नेकपा तुलसीपुर नगर कमिटीले बिपी चोकमा र घोराही कमिटीले सहिद गेटमा दीप प्रज्वलन गरेका थिए । सो पार्टीका नेता–कार्यकर्ताले मंगलबार साँझ कोणसभा पनि आयोजना गरे । तुलसीपुरमा आयोजित कोण सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले बर्षौंंपछि जनताका प्रतिनिधिले निर्माण गरेको संविधानको घाँटी रेट्ने केपी ओलीको सपना विफल भएको र जनताको जित भएको बताए ।

उनले सर्वोच्चको फैसलाले देशलाई बर्बादीको मार्गबाट जोगाएको समेत बताए । अदालतको फैसलाले विधि र विधानभन्दा माथि कुनै पनि ब्यक्ति हुन सक्दैन भनेर प्रमाणित गरेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर नगर कमिटी अध्यक्ष खुशीराम चौधरीले अदालतको निर्णयले न्यायप्रेमी आम जनताको जित भएको बताए । ‘परिवर्तनको घाँटी रेट्नेहरु पराजित भएका छन्,’ चौधरीले भने ‘परिवर्तनकारी शक्तिहरुको विजय भएको छ ।’

घोराहीमा आयोजित दीप प्रज्वलन कार्यक्रममा घोराही उपमहानगरका नेकपा अध्यक्ष गेहेन्द्र बस्नेत, विद्यार्थी नेता सन्तोष पोख्रेलसहित प्रचण्ड–माधव पक्षका नेता, कार्यकर्ता सहभागी थिए । उनीहरुले आपसमा अबिर लगाएर खुसियाली साटेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप