शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७ सम्पन्न

बुधबार, १२ फागुन २०७७, १३ : २८
बुधबार, १२ फागुन २०७७

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१को उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा युनेस्को काठमाडौंसँगको सहकार्यमा मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७’ भव्य रुपमा आयोजना गरियो । 

महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मातृभाषाहरूको संरक्षण र संवर्धनमा राज्य र सबै पक्षले विशेष ध्यान दिनुपर्ने बताए । “हाम्रो मौलिक भाषामा भएको अतिक्रमणलाई स्विकार्न गाह्रो हुन्छ,” उनले भने, “बिस्तारै विभिन्न जातजातिमा मौलिक भाषा बोल्नेको सङ्ख्यामा कमी आइरहेको छ, कतिपय भाषा लोप भइसकेका छन् भने कतिपय लोप हुने अवस्थामा छन्, तिनको संरक्षण गर्नु राज्यको दायित्व हो ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बुहभाषा, बहुसंस्कृति र बहुलता मुलुकको विशिष्ट पहिचान भएको उल्लेख गर्दै मातृभाषा र मातृभाषा साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि प्रज्ञा–प्रतिष्ठान गम्भीरतापूर्वक लागिपरेको बताए । उनले आगामी वर्षमा अझै भव्य र सार्थक रुपमा महोत्सव आयोजना गरिने प्रतिबद्धता प्रकट गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको सम्पत्ति भनेकै जातजातिका विविध संस्कार, संस्कृति र मातृभाषा भएको धारणा व्यक्त गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्यायले कविता वाचन सत्रको अन्त्यमा सांस्कृतिक झाँकी प्रस्तुत गर्ने समूहहरू र मातृभाषामा कविता वाचन गर्ने कविहरूलाई प्रमाण–पत्र प्रदान गरे ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागका प्रमुख प्राज्ञ लक्ष्मी मालीले महोत्सव आयोजनाको उद्देश्यमाथि प्रकाश पारे । उनले मातृभाषा राष्ट्रिय कविता महोत्सवका लागि ५६ भाषाका १ सय ५४ ओटा कविता आएका र ती मध्ये अतिथि कवितासहित ७० ओटा कविता वाचनका लागि छनोट गरिएको बताए । कार्यक्रममा कवि रामनारायण देवले मैथिली भाषामा ‘मिथिला महान्’ शीर्षकको कविता वाचन गरी कविता महोत्सवको आरम्भ गरेका थिए ।
उक्त कविता महोत्सवमा विभिन्न भाषामा कविता वाचन गरिएको थियो । महोत्सवमा केही कवि भने जुम मार्फत सहभागी भए ।

महोत्सवमा बाजागाजासँगै विभिन्न झाँकी तथा सांस्कृतिक विशेषता झल्कने १६ ओटा समुदायका बाजागाजासहितको सांस्कृतिक झाँकी प्रदर्शन गरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप