शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा नारा लाग्यो– सर्वोच्च अदालत हाईहाई, केपी ओली बाईबाई

बुधबार, १२ फागुन २०७७, १६ : ४९
बुधबार, १२ फागुन २०७७

हेटौंडा । नेकपाको प्रचण्ड–माधव पक्षले संवैधानिक इजलासद्वारा प्रतिनिधिसभा विघटन बदर गरेको खुसीयालीमा बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार विजय र्याली निकालेको छ । हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी स्कुलको चौरमा भेला भएका सो पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रतिगमनको हार भएको भन्दै आपसमा खुशी साट्दै र्याली निकालेका हुन् ।

उनीहरुले ‘सर्वोच्च अदालत हाईहाई, केपी ओली बाईबाई’, ‘न्यायालयलाई धन्यबाद’ जस्ता नारा लगाएका थिए । उक्त र्यालीले हेटौंडाको मुख्य–मुख्य चोकहरुको परिक्रमा गर्दै सीमाचोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य तथा मकवानपुर सह–इन्चार्ज कुमारी मोक्तानले प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनताको विश्वासमाथि कुठाराघात भएको बताइन् ।

प्रतिनिधिसभा पुनर्स्थापना हुनु सबै नेपालीको जित भएको उनको भनाइ थियो । अझै अर्को लडाइँ बाँकी नै रहेको भन्दै उनले भनिन्, ‘अब निर्वाचन आयोगले हामीलाई सही विधी र प्रकृयाको आधारमा वैधानिकता दिन्छ र हाम्रो जित हुन्छ ।’

विजय सभामा बोल्दै अध्यक्ष मुनु सिग्देलले आफ्नो नेतृत्व गलत बाटोमा लाग्दासमेत पदको लोभमा चुप लागेर बस्दा यो अवस्था आएको बताइन् । नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी (छिन्चु)ले नेकपा चुनावबाट भागेको नभई संविधान र गणतन्त्रको रक्षाका लागि प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोधमा सडकमा आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप