बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड–नेपाललाई 'भाइहरू' भन्दै ओलीको व्यङ्ग्य मिश्रित कटाक्ष : लड्डु खुवाइखुवाइ गर्‍या रैछन् !

बुधबार, १२ फागुन २०७७, १७ : १७
बुधबार, १२ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा रहँदासम्म आफूले देश र जनताको पक्षमा राम्रो काम गरिरहने बताएका छन् । बुधबार राजधानीमा आयोजित ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले सर्वोच्चको मंगलबार आएको फैसलापछि पनि प्रधानमन्त्रीका रुपमा आफ्नो कामको रफ्तार उही रहेको बताए । 

उनले सर्वोच्चको फैसलालाई लिएर नेकपाका प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले चितवनमा लड्डु खाँदै आपसमा खुसीयाली मनाएको प्रति व्यङ्ग्य मिश्रित कटाक्ष समेत गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र नेपालले आपसमा लड्डु खुवाउँदै खुसीयाली मनाएका थिए । 

प्रचण्ड र नेपाललाई ‘भाइहरु’को संज्ञा दिँदै ओलीले लड्डु खाँदैमा उनीहरुले केही नपाउने बताए । उनले भोलि पर्सादेखि प्रचण्ड–नेपालले आफ्नो राजीनामा माग्न सक्ने पनि बताए । 

‘मेरा केही भाइहरूले लड्डु खुवाइखुवाइ गर्या रैछन् । लड्डु खाएछन् जित्यौँ हामीले भनेर । के जित्यौ भन्ने चाहिँ थाहा छैन’ व्यंग्य मिश्रित कटाक्ष गर्दै ओलीले भने, ‘उनीहरुलाई लड्डु खाएर के पाउँछौँ भन्ने थाहा छैन । के पाउँछन् त्यो चाहिँ मैले हेर्नु छ । मेरो विचारमा भोलि पर्सीदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’ 

उनले सर्वोच्चको फैसलापछि पनि आफ्नो देश विकासको संकल्पमा केही फरक नभएको र त्यस्तो हुन आवश्यक  समेत नरहेको बताए । पदमा रहेसम्म आफूले इमान्दार भएर देश र जनताको पक्षमा निरन्तर उही रफ्तारमा काम गर्ने ओलीको भनाइ छ । 

‘मान्छे कतिबेला मर्न सक्छ,  ब्रेन ह्यामरेज भएर मर्न सक्छ, गाडी ठोक्किएर मर्न सक्छ । जिन्दगी कुनै ठेगान छैन । अहिलेसम्म बाँचिन्छ त्यतिबेलासम्म राम्रो काम गर्ने हो’, ओलीले भने, ‘मरेपछि न मान्छे बेइमान हुन सक्छ न इमान्दार । मरेपछि केही अर्थ छैन । बाँचुन्जेल इमान्दार हुने हो ।’

ओलीले कतिपय मान्छे सरकारले ल्याएको विकासको लहर देखेर आत्तिएको पनि बताए ।  कृषि क्षेत्रसहितका क्षेत्रमा सरकारले राम्रो काम गरिरहेको भन्दै नेपाल विकासको दृष्टिले हरेक क्षेत्रमा नयाँ युगमा प्रवेश गरेको ओलीको दावी छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप