शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्छः सभापति देउवा

बुधबार, १२ फागुन २०७७, २१ : ३८
बुधबार, १२ फागुन २०७७

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ बनाउन कांग्रेस लाग्ने बताएका छन् ।  

    कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज आयोजित ‘अहिंसा र शान्तिः आजको सन्दर्भ’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रलाई सुदृढ बनाउने बाटो अदालतले खोलिदिएको बताएका हुन् । “संसद् पुनःस्थापना गर्ने अदालतको आदेशले न्याय र प्रजातन्त्रको जीत भएको छ”, सभापति देउवाले भने ।

    पूर्वप्रधानमन्त्री देउवाले अदालतप्रति विचाराधीन मुद्दामा कांग्रेसले यो गर वा ऊ गर भनेर भन्न नमिल्ने भएकाले कांग्रेस चुप लागेर बसेको स्पष्ट पारे । कांग्रेस संसदीय व्यवस्था र प्रजातन्त्रका लागि लडेको पार्टी भएकाले संसद् पुनःस्थापनाले कांग्रेस खुशी रहेको उनको भनाइ छ । 
    
    सभापति देउवाले पार्टीको १४औँ महाधिवेशन भदौमा सम्पन्न हुने उल्लेख गरे । 

    कांग्रेस उपसभापति विमलेन्द्र निधिले पुनःस्थापित संसद्मा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
    कांग्रेस केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले सादा जीवन उच्च विचारका व्यक्ति निधि भएको भन्दै निधिको आदर्श र सिद्धान्तबाट कांग्रेसले पाठ सिक्नुपर्ने बताए । 

    अहिंसाबाट गरेको आन्दोलन सफल हुने धारणा राख्ने निधि गान्धीवादी नेता भएको उनको भनाइ थियो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले कांग्रेसले अहिले सत्ताको लोभ गर्न नहुने धारणा राखे । 

    सो अवसरमा पूर्वमन्त्री तीर्थराम डङ्गोल, कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, प्रा डा आनन्दप्रसाद आचार्यलगायतले मुलुकको विकासका लागि शान्ति र अहिंसाको बाटो उपयुक्त हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप