शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समयमा काम सम्पन्न नभएको भन्दै स्थानीयले गरे हटियालाइन् सडक अवरुद्ध

बिहीबार, १३ फागुन २०७७, १६ : ४७
बिहीबार, १३ फागुन २०७७

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको हटिया लाईन बजार क्षेत्र  निकै व्यस्त हुने सडक–खण्ड हो । मुख्य बजार (चोक) भएकाले पनि दैनिक सयौँ सवारी–साधन आवत–जावत हुनुका साथै पैदलयात्रीहरुको भींड पनि उस्तै हुन्छ  । मुख्य बजार भएकाले पनि सामान किन्न आउने–जानेहरुको भीड उस्तै हुन्छ । तर, बीच भागमा पर्ने सडकको धुलो–धुवाँले भने व्यापारी, पैदल यात्रीले निकै सास्ती खेप्नुपरेको छ । 

मुख्य राजधानी भित्रकै व्यस्त सडक भएपनि धुलो–धुवाँले दुबै तर्फका पसलहरूमा समस्या दिने गरेको छ भने पैदलयात्रुहरुलाई मुखमा रुमाल छ्यापेर यात्रा गर्नुपर्ने बाध्यता छ ।  निर्माण कम्पनीले समयमा कालोपत्रेको काम नगर्दा यो अबस्था आएको हो । समयमा सडक निर्माणको काम सम्पन्न नगरेको भन्दै बिहीबार बिहानैदेखि स्थानीय पसल व्यवसायीहरुले डोरी बाँधेर सडक अवरुद्ध गरेका छन्  । 

मुख्य सडक भएपनि समयमा काम सम्पन्न नगरेको भन्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् । निर्माणका लागि ठेक्का प्रक्रियामा काम सुरु भएको लामो समय भइसक्यो । तर, हाल सम्म काम सम्पन्न नगरेको भन्दै उनीहरु आक्रोशित भएका छन् । 

आईएमई चोकदेखि उत्तर नेकपा पार्टी कार्यालयसम्मको उक्त, बाटोको कालोपत्रेको  जिम्मा लिएको पि.के एन, सन कन्स्ट्रक्सन निर्माण कम्पनीले  लिएको छ । स्थानीय व्यवसायी कुसुम रावल भन्छन, ‘निर्माणाधीन सडकको समयमा काम सम्पन्न नगर्दा धुवा–धूलोको सास्ती त छँदैछ । गाडी गुड्दा गिटी उछिट्टिएर बालबालिका घाइते भएका छन् ।’ यतिमात्र होइन पसलका काउण्टर समेत फुटेर क्षति हुने गरेको छ । काम सम्पन्न नगरुञ्जेल सम्मका लागि हामी सडक सुचारु हुन दिँदैनौँ ।’ 

एक वर्षभन्दा धेरै भइसक्यो ।  मुख्यमन्त्री, मन्त्रीहरु मेयरहरु यात्रा गर्ने बाटो पनि यही हो । हामीलाई रहर होइन् बाटो बन्द गर्नु बाध्यता हो,’ व्यवसायीहरुले भने । व्यापारीहरूका अधिकांश सर–सामानहरु धुलोले फोहोर हुने गरेको उनीहरुको गुनासो छ ।

आईएमई, नेकपा, नेपाली काँग्रेस लगायतका पार्टी कार्यालयहरु यही आसपासमा पर्दछन् भने सिधै अघि पर्ने होटेल भ्याली भ्यु सबैभन्दा ठुलो होटेल पनि यही अन्तरगत पर्दछ । जहाँ दैनिक ठुला ठुला कार्यक्रमहरु हुने गर्दछन् । तर, यही सडक धुलो–धुवाँले अस्तव्यस्त हुँदा सम्बन्धित निकाय बेखबर जस्तै बनेको स्थानीयको भनाई  छ ।  

राजधानीको मुख्य सडक हो यो राज्यले किन ध्यान दिन नसकेको ? एक अर्का स्थानीयले भने । सडक निर्माणको काम सुचारु नगरेसम्म सडक बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन्  । यता वीरेन्द्र नगरपालिकाले भने सडक कालोपत्रे गर्न मात्र बाँकी रहेको प्रतिक्रिया दिएको छ । गत आर्थिक वर्षमै सम्पन्न भइसक्नुपर्ने सडकखण्डको काम कोभिडको कारण देखाउँदै निर्माण कम्पनीले काम गर्न नसकेको बताएको थियो  । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले चैत्र मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने बताए  । ‘स्थानीयले अवरुद्ध गरेका छन् भने हामी ठेकेदार कम्पनीलाई व्यवस्थित गर्न लगाउँछौँ’ उनले भने । नगरपालिकाका इञ्जिनियर हरि केसीले गत वर्ष कोभिडले समस्या दिएको भन्दै म्याद थप गरेर यो वर्षदेखि काम सुचारु गरिएको बताए । यद्यपी, चिसोको समयमा कालोपत्रे गर्न केही समस्या हुने भएकाले अब तत्काल काम सुचारु हुने उनले बताए । ठेकेदार कम्पनीले कालोपत्रेको  लागि ८१ लाख ८२ हजार  ५ सय १७ रुपैया मूल्य अभिवृद्धि करसहित जिम्मा लिएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप