बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पार्किङ र फुटपाथ व्यवस्थापनमा उद्योग वाणिज्य संघले दियो सुझाव, मेयर भन्छन्न् : अध्ययनपछि कार्यान्वन

बिहीबार, १३ फागुन २०७७, २० : २५
बिहीबार, १३ फागुन २०७७

पोखरा । उद्योगी तथा व्यवसायीहरुको छाता संगठन पोखरा उद्योग बाणिज्य संघले व्यवसायीहरूसँग​ छलफल गरी निकर्ष सहितको निस्किएको सुझाव सहितको प्रतिवेदन पोखरा महानगरलाई बुझाएको छ । वाणिज्य संघले महानगरपालिका, जिल्ला प्रशासन कार्यलय कास्की र जिल्ला प्रहरी कार्यालयलाई फुटपाथ, पार्किङ र बजार व्यवस्थापनबारे सुझावसहित ज्ञापन बुझाएको हो  ।

संघका वाणिज्य उपाध्यक्ष तथा फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापन उपसमितिका संयोजक अर्जुन पोखरेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बिहीबार महानगरका मेयर मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रतिनिधि मण्डलमा संघका महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य, उपमहासचिव केशवबहादुर खत्री, कार्यसमिति सदस्यहरु शोभा गौतम, देवेन्द्र केसी, मुना बास्तोला, उत्तममान बुद्धाचार्य, सुदीप प्रधानाङ्ग, भरत केसी, पवित्रादेवी गुरुङ, बालकृष्ण कोइराला, यमनाथ तिमिल्सिना र रुपनारायण भुजेलको सहभागिता रहेको थियो ।

संघले सोही सुझाव कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठलाई बोधार्थका रुपमा समेत बुझाएको छ । पोखरा महानगरपालिकाले २ महिना अगाडी सडकमै सवारी साधन पार्किङ गरेवापत घण्टा अनुसारको रकम उठाउने गरी ठेकेदार कम्पनीलाई जिम्मा दिएपछि अदालतमा मुद्धा परेको थियो भने व्यवसायीले समेत चर्को विरोध गर्दै आएका थिए । अदालतमा परेको मुद्धा हाल विचाराधीन रहेको छ ।

ज्ञापनपत्र बुझ्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पार्किङको जिम्मा लिने कम्पनीको कामप्रति महानगर सन्तुष्ट नरहेको बताए । आफूलाई पार्किङ व्यवस्था नै मन नपरेको बताउँदै आउँदो आर्थिक वर्षमा ठेक्का सम्झौता नवीकरण गर्ने/नगर्नेबारे निर्णय गरिने बताए ।

बिदाको दिन, रातको समयमा र तोकिएका ठाउँबाहेक अन्यन्त्र पार्किङ शुल्क लिन नहुनेमा उनले सहमति जनाए । उद्योगी तथा व्यवसायीले पोखरालाई सुन्दर र व्यवस्थित बनाउन दिएको सुझाव स्वागतयोग्य रहेको बताउँदै मेयर जिसीले अध्ययनपछि कार्यान्वन सुरु गरिने आश्वासन दिए ।
१८ बुँदे सुझावलाई ज्ञापनपत्रको रुपमा बुझाउँदै पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघले सर्वसाधारण र व्यवसायीको हितका लागि सुझावहरु दिएको जानकारी गराए । 

उनले संघ पोखराको व्यापार साझेदार पनि भएको स्मरण गर्दै पोखरा बिगार्दाको दोषबाट महानगर मुक्त हुन पनि सुझाए । संघले बुझाएको सुझावमा सम्झौता नभएका ठाउँमा पार्किङ शुल्क उठाउन तत्काल बन्द गर्नुपर्ने,सडक सवारी साधन गुड्न र फुटपाथ मान्छे हिँड्न मात्र प्रयोग हुनुपर्ने, वैकल्पिक पार्किङको व्यवस्था गरिनुपर्ने र त्यस्तोमा मनासिव शुल्क लिनुपर्ने, अर्को व्यवस्था नहुञ्जेलसम्म सडकमा पार्किङ गर्दा पनि एकातिर गाडी र अर्कोतिर मोटरसाइकल राखिनुपर्ने,पार्किङ शुल्क घटाउनुपर्ने उल्लेख छ ।

त्यसैगरी नगर क्षेत्रका घरहरूको अण्डर ग्राउण्ड पार्किङस्थल सोही प्रयोजनमा लगाउनुपर्ने,पार्किङ एप्स निर्माण गरी सोही एप्समार्फत ट्राफिक र पार्किङबारे जानकारी गराउनुपर्ने,पार्किङ ठेक्का दिने कार्य नियमसंगत नभएकाले अन्त्य गर्नुपर्ने,पार्किङ शुल्क उठाउँदा बालश्रमको प्रयोग तत्काल रोकिनुपर्ने लगायतका विषय समेटिएका छन् ।

संघले उद्योगी/व्यवसायीहरूसँग विभिन्न चरणमा सुझाव संकलन गरी एकमुष्ट रुपले साझा सुझाव महानगरलाई बुझाएको हो । बोधार्थपत्र बुझ्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बजार अनुगमन अनि जनता र व्यवसायीको हितको लागि प्रशासन सदैव तयार रहेको बताए । 

कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले तोकिएको क्षेत्रबाहेक अन्यत्र, बिदाको दिन र रातमा पार्किङ शुल्क उठाउने काम रोकिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप