ad
केन्द्रीय संस्करण

पुस्तक अंश : राजतन्त्रको मलामी

person explore access_timeफागुन १५, २०७७ chat_bubble_outline0

प्रिय कमरेड तिलक राज भण्डारी (परिवर्तन) 
हार्दिक क्रान्तिकारी लाल सलाम । 
आराम रही सोही  कामना गर्दछु । 

रोल्पा सम्मेलन (माघ ७–९) सकेर घर भेटघाटको करिव १० दिन सल्यान बसाइपछि दाङ झरियो । दाङ आएको पनि अब एक महिना बित्न थालेछ । पूर्ण (पूर्ण बहादुर सिंह) जी रुकुम लाग्नु भयो भने रत्न महरा प्यूठान पुगेर दाङतिरै झर्नु भएको छ । जनयुद्धको १० औं वार्षिकोत्सव क्षेत्रभरि विविध कार्यक्रम सहित सम्पन्न भएका खबरहरु प्राप्त भएका छन् । सल्यानमा पनि राम्रो गर्नु भएछ । शहीद सप्ताहको क्रममा सहित परिवार सम्मान तथा भेटघाट कार्यक्रम पनि राम्रोसँग सम्पन्न भएका छन् । हिजो राति मात्र ईलाम सदरमुकाममा जनमुक्ति सेनाले भीषण हमला गरेको खबर सञ्चार माध्यममा आएका छन् । शाही हत्यारा जत्थाका बिरुद्ध ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति अन्तर्गत पाल्पा, धनकुटा, उदयपुर सदरमुकाम आक्रमण, शाही सत्ताको केन्द्र काठमाण्डौं भित्रै थानकोट र दधिकोटमा भएको सफल आक्रमण र सुनवल लगायत देशका विभिन्न भागमा भएका मोर्चावन्दी युद्ध

र जनमुक्ति सेनालाई प्राप्त सफलताबाट फौजी रुपले रणनैतिक प्रत्याक्रमणको दोस्रो योजना शानदार रुपमा सम्पन्न भईरहेको आभास हुन्छ । 
तिलकजी, वास्तवमै चुनवाङ बैठक नेपाली  जनयुद्धको नयाँ मोड थियो भन्ने कुरा छ महिना यताका गतिविधिले पुष्टी गर्दै गएका छन् । नेपाली क्रान्तिको विकासका सामू देखा परेका आन्तरिक र वाह्य चुनौतीलाई सामना गर्न नेतृत्वले कुशलतापूर्वक लिएको यो नयाँ छलाङले एकातिर विभाजनको डिलमा पुगेको पार्टीलार्ई एकतावद्ध मात्र गरेन देश र जनताको मुक्ति र नेपाली क्रान्तिको विजयी अभियानको लागि फेरि अझ उचाइबाट बलिदानको कोटा चुक्ता गर्ने चट्टानी एकता हासिल गर्यो भने अर्कातिर “लोकतान्त्रिक गणतन्त्रको पक्षमा व्यापक मोर्चा कायम गरौं । राजनैतिक र फौजी प्रत्याक्रमणलार्ई नयाँ उचाईमा उठाऔं”भन्ने नाराका साथ सिङ्गो देशलार्ई शाही फासिवाद र त्यसको मालिक साम्राज्यवादी डाँकाहरूका विरुद्ध एकतावद्ध गर्न सफलता हासिल भयो । लोकतान्त्रिक गणतन्त्रको नारामा कार्तिक ७ मा भएको एमालेसँगको वार्ता तथा समझदारी र त्यसको निरन्तरताको रुपमा मंसिर ७ गते भएको १२ बुँदे समझदारी नेपाली राजनीतिको इतिहासमा सामन्तवाद र साम्राज्यवादका विरुद्धको सङ्घर्षमा एउटा कोशेढुङ्गा भएका छन् । यसले सिङ्गो देशलाई शाही हत्याराका विरुद्ध उभ्याउन हाम्रो नेतृत्व सफल भएको छ भने जनमुक्ति सेनाले पनि आफ्नो फौजी सफलता हासिल गर्दै गएको छ । यसबाट के भन्न सकिन्छ भने हामी अव छिट्टै सामन्ती राजतन्त्रको मलामी बन्ने दिन आउँदै छन् । अब जनयुद्धले हार्दैन । नेपाली क्रान्तिको विजय अवश्यम्भावी छ । 

तिलकजी, जनआन्दोलन र जनपरिचालनको क्षेत्रमा हाम्रो केन्द्रीय आधार इलाका क्षेत्रमा पनि सफलता प्राप्त भईरहेको छ । पार्टी इन्चार्ज कमरेड विप्लव(नेत्र विक्रम चन्द) सँगको निरन्तर सम्पर्क र निर्देशनमा हामीदाङ  केन्द्रित भएका छौं । धेरै ठूलो मेहनत गरेर महेन्द्र बहुमुखी क्याम्पसलार्ई गणतन्त्र बहुमुखी क्याम्पस भन्ने क्याम्पेनिङ्ग सहित क्याम्पसमा सबै विद्यार्थी संगठनलाई सामेल गरेर समावेशी स्ववियु निर्माण गरिएको छ । हाम्रो प्रत्यक्ष नेतृत्वमा थालिएको वार्ता र संवादले सबै सङ्गठन    र क्याम्पस प्रशासनले सहमत हुनु र गणतन्त्र प्राप्तिको लागि स्ववियूलार्ई मोर्चाको रुपमा  खडा गर्न सक्नु हाम्रो सफलता भएको छ । हाल घोराही आसपासका क्षेत्रमा विविध कार्यक्रम सहित जनपरिचालनको कामलार्र्ई तिव्रता दिदै जनआन्दोलनको उठान गर्ने अभ्यास भईरहेको छ । शहरभित्र पत्रकार, मानव अधिकारवादी, विभिन्न राजनैतिक दल, नागरिक समाज, प्राध्यापक, व्यवसायिक संघ÷सङ्गठनसँग निरन्तर छलफल तथा अन्तरक्रियाहरू भईरहेका छन् । उहाँहरु अव संगठित र संस्थागत रुपमा निरङ्कुश राजतन्त्रका विरुद्ध आन्दोलनमा सहभागीबन्ने तयारी गरिहनु भएको छ । हत्यारो ज्ञानेन्द्र शाहीद्वारा घोषणा गरिएको कथित नगर निर्वाचन वहिस्कारको क्रममा घोराहीमा उमेश थापाको हत्या गरिए पश्चात शाही हत्याराहरुले आन्दोलन कमजोर हुन्छ भन्ने ठानेका थिए होला । तर, त्यो अझ बढि प्रज्वलित भईरहेको छ । जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ भने झैं त्यसले जनआन्दोलनको रुप ग्रहण गरिरहेको छ ।   

तिलकजी, आज सिङ्गो देश आन्दोलनमय भईरहेको बेला हामीले पनि नयाँ ढंगले मोर्चा सम्हाल्नु पर्ने देखिन्छ । सल्यानदेखि पश्चिमदाङ सम्म (तुल्सीपुर केन्द्र बनाएर) तपार्ईले संगठनको कमाण्ड सम्हाल्नु पर्ने आवश्यकता महसुस भएको छ । अब तपार्ईले सोही अनुसार आफ्नो कमाण्ड खडा गर्नुपर्छ । 

रत्न महराजी लार्ई पनि मैले घोराही केन्द्रित हुन भनेको छु । पूर्ण बहादुर सिंह लार्ई पनि अब दाङ केन्द्रित भएर रुकुम, रोल्पा, प्युठान लगायत सबैतिर यतैबाट कार्यविभाजन गरौं भनेको छु । उहाँहरू पनि यता केन्द्रित हुने कुरा छ । 
हामीले सङ्गठन  र नेतृत्व विकासको क्षेत्रमा चुनवाङ्ग जनसाक्षर अभियानको मूख्य प्रशिक्षक भएर २०६० साउनदेखि मंसिर सम्म तपार्ईँले जुन भूमिका  र सफलतामा योगदान गर्नुभयो त्यो तत्कालीन  नेतृत्वको टिमको कुशलता र सफलता थियो । जसलार्ई मोडेलको रुपमा देशव्यापी विस्तार गरियो । तर, २०६१को केन्द्रीय समिति विस्तारको क्रममा भने सल्यानबाट नेतृत्व विकासमा ध्यान नपुगेको अनुभूति मलार्र्ई भईरहेको छ । खैर यो तपार्ई र मेरो विचको अनुभूति आदान–प्रदानको कुरा भयो । यदि यसलार्ई उपयुक्त समयमा सम्बोधन गर्ने प्रयास नेतृत्वले गर्नुपर्छ भन्ने मलाई लागेको छ। ​

तिलकजी, सेती महाकाली क्षेत्रबाट जिम्मेवारी स्थानान्तरण भएर केन्द्रीय आधार ईलाका संयोजक भएको पनि अब छ महिना बितेछ । यो बिचमा प्रायः सबै जिल्लाका सम्मेलनहरु सम्पन्न भएका छन् । बिचार, सङ्गठन र सङ्घर्षका गतिविधिले शाही सत्तालार्ई चुनौती दिने र आन्दोलनलार्ई सुदृढ गर्न मद्धत गरेका छन् जस्तो लाग्छ । यो बिचमा मंसिर १४ को रोल्पा मणिमारेको घटना जहाँ डिभिजन घोषणाकै दिन जनमुक्ति सेनाका पाँचौं डिभिजनले आफ्नो कमाण्डर (किम बहादुर थापा“सुनिल”)लार्ई गुमायौं । हामीले एक नेता तथा कमाण्डर गुमायौं । जहाँ कमरेड झक्कु प्रकाश पुन(निर्मम) लार्ई पनि गुमायौं । घटना स्थलमा म सँगै थिएँ । उहाँहरुको त्यो क्षति नेपाली क्रान्तिका लागि अपुरणीय क्षति हो । घटनाको अघिल्लो दिन मात्रै कमरेड निर्ममसंग उहाँले लेखेको पुस्तक “अभ्यस्त सिपाही” को बारेमा छलफल गरेका थियौं । उहाँ एक कुशल लेखक, कथाकार बन्दै हुनुहुन्थ्यो । अब त्यो जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ । 

तिलकजी, मेहनत राम्रोसँग गर्नु पर्दछ । अब फाल्गुण पनि सकिन थाल्यो । चैत्रमा आन्दोलन उत्कर्षतिर जान सक्छ । देशव्यापी माहोल बनिरहेको छ । सम्भव भए सम्म म यसको अन्त्य वा चैत्रको पहिलो साता क्षेत्रीय समितिको बैठक बोलाउने सोचेको छ । बैठकमा अरु छलफल गरौंला । यदि बैठक भनेको समयमा बस्न सकिएन भने तपार्ईले सल्यानको टिमलाई दक्षिणतिर केन्द्रित गर्ने र तपार्ईँ भने तुल्सीपुर घेरा हाल्ने गरी पश्चिम दाङ  केन्द्रित भएर गतिविधि बढाउनु पर्छ । तपार्ईँ तल झरेपछि नियमित सम्पर्क भई नै हाल्छ । 
अन्त्यमा सन्निकट जनविद्रोहको नेतृत्व गर्ने आशा र विश्वास सहित 
उही तपार्ईँको रमेश मल्ल 
२०६२।११।२२

सन्दर्भः यत्ति बेला रमेश मल्ल संगठनको केन्द्रीय आधार ईलाका (राप्ती) को संयोजक हुनुहुन्थ्यो । जनआन्दोलन तयारी भईरहेको बेला संगठनका सम्पूर्ण गतिविधि र नेता कार्यकर्ता शहरतिर केन्द्रित गर्ने निर्देशन सहितको यो पत्र । रमेश मल्ल जनयुद्धकालदेखि नै एक कुशल संगठक र वैचारिक नेता हो । उहाँको मेहनत र कुशल संगठनात्मक क्षमताको परिणामस्वरुप नै अनेरास्ववियू (क्रान्तिकारी) को १९ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्ष जस्तो गौरवपूर्ण जिम्मेवारीमा पुग्नु भयो । उहाँको मेहनत र राजनीतिक इच्छाशक्तिले हामीलाई सधै प्रेरित गरिरहन्छ । 

(नेकपा विद्यार्थी नेता तिलक राज भण्डारीको ‘जनयुद्धको हस्ताक्षर’ पुस्तकबाट लिइएको एक पत्र । पुस्तकमा जनयुद्धको समयमा आदान–प्रदान भएका पत्रहरू समावेश गरिएका छन्)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.