बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मृत्यु दर्ता गरेर भाइले अंश हडपे, ‘ज्युँदो छु, भूत होइन’ भन्दै दाजु सडकमा

शनिबार, १५ फागुन २०७७, १४ : ३७
शनिबार, १५ फागुन २०७७

यो एउटा त्यस्तो कहानी हो, जसले चर्चा त धेरै पायो । तर यसको शृंखला रोकिने छाँट देखिएको छैन । उत्तर प्रदेशको मिर्जापुर अमोई गाउँका ६५ वर्षीय भोला सिंहलाई मृत घोषित गर्दै राजस्व अधिकारीहरुसँग मिलेर उनका भाइले पैतृक सम्पती हडपे । 

त्यसपछि भोलाले आफूलाई जीवित छु भनेर प्रमाणित गर्न संघर्ष गर्नुपरेको छ । मिर्जापुर जिल्ला प्रशासनले उनको वास्तविक पहिचान साबित गर्नका लागि डिएनए परीक्षण गराउनुपर्ने आदेश दिएको छ । जिल्ला कलेक्ट्रेट बाहिर एक साइड बोर्ड बोकेर उनी बसिरहेका हुन्छन् । जसमा लेखिएको छ, ‘सर म जिउँदो छु । म एक मानिस हुँ, भूत होइन ।’

यस विषयमा छानविन गरिरहेका एक अधिकारीले अमोईका मानिसहरुले भोलालाई नचिनेका कारण डिएनए परीक्षण आवश्यक परेको प्रतिक्रिया दिएका छन् । अतिरिक्त जिल्ला मजिस्ट्रेट युपी सिंहले भने, ‘हामीले घटनाको छानविन गरिरहेका छौं । यी व्यक्ति अमोई गाउँमा नभएर अन्यत्रै गाउँमा बस्छन् । जब भोला सिंहलाई अमोईमा ल्याइएको थियो, तब गाउँलेले उनलाई चिन्न सकेनन् । उनका आफ्नै भाइले पनि चिन्न सकेनन् । यहाँसम्म कि गाउँका कसैले पनि चिन्दिनँ भने । यी व्यक्ति पछिल्लो २० वर्षदेखि अन्य कुनै गाउँमा बसिरहेका रहेछन् ।’

जिल्ला मजिस्ट्रेटको कार्यालयबाहिर ६५ वर्षका यी वृद्धले पत्रकारहरुसँग भनेका छन्, ‘मेरो नाम भोला हो । मेरा बाबुको निधनपछि जग्गाजमिन दुुई भाइको नाममा हुने भनेर लेखिएको थियो । तर, जमिनको कागजातहरुमा मलाई मृत देखाइयो, जबकी म ज्युँदो छु । त्यहीकारण अहिले यहाँ उभिनुपरेको हो ।’

यस केसको सुरुवात झन्डै ५ वर्षअघि भएको थियो । जब नोभेम्बर २०१६ मा कोतवाली पुलिस स्टेशनमा जालसाजी गरेर एक प्राथमिकी दर्ज गराइएको थियो । भोला सिंहका अनुसार उनका भाइ राज नारायण र दुई जिल्लाधिकारीहरुले मिलेर गलत तरिकाले उनलाई मृत घोषित गरे, अनि उनको पैतृक जमि हडपे । यस विषयमा कसैले बास्ता नगरेपछि उनले एफआईआर दर्ज गराएका छन् । 

भोलाको यो कहानी धेरै हदसम्म लाल बिहारीसँग मिल्छ, जसलाई पनि सम्पत्ती हडप्ने क्रममा आफन्तहरुले कागजमा मृत घोषणा गरेका थिए । त्यसपछि झन्डै १९ वर्षसम्म भारतीय कर्मचारीतन्त्रसँग लडेर उनले आफ्नो अधिकारी लिए । लाल बिहारीको यस घटनामा फिल्ममेकर सतिश कौशिकले ‘कागज’ फिल्म बनाइसकेका छन्, यसलाई ओटिटी प्लेटफर्ममा रिलिज पनि गरिएको छ । भारतमा यस्ता घटनाको शृंखला धेरै देखिएको छ । यस्ता घटनाले चर्चा धेरै पाएपनि पीडितहरुले भने न्याय पाउन अझै मुस्किल छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप