शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

शनिबार, १५ फागुन २०७७, १८ : ०५
शनिबार, १५ फागुन २०७७

नेपाली राजनीतिमा अनौठो दृश्य देखिएको छ । प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला सर्वोच्च अदालतले गरेसँगै नयाँ सरकार गठनको रस्साकस्सीका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रुपमा कहिले विभाजित होला भन्ने प्रतिक्षामा केही दलहरु देखिएका छन् ।  नेकपा ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष भएर राजनीतिक रुपमा विभाजित भएपनि कानुनी रुपमा एकै हुँदा नयाँ सरकार गठनको कोर्स अघि बढ्न नसकेपछि राजनीतिमा यस्तो दृश्य देखिएको हो । 

सरकारको नेतृत्व हाल नेकपाको केपी ओली पक्षले गरिरहेको छ । तर सर्वोच्चको फैसलापछि ओली सरकारलाई विस्थापित गर्न अर्थात नयाँ सरकार गठनका लागि नेकपाकै प्रचण्ड–नेपाल पक्षले सुरुमा काँग्रेस र त्यसपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग छलफल गरिसकेको छ । तर दुबै दलले प्रचण्ड–नेपाल पक्षको दलको आधिकारिकताको प्रश्न उठाएका छन्  ।

 त्यसमाथि अविश्वासको प्रस्तावमार्फत ओलीलाई हटाउनका प्रचण्ड–माधव पक्षले सांसद संख्या पुर्याउनका लागि विभिन्न दललाई गुहार लगाइरहेको छ भने आफ्ना बचाउका लागि संसद संख्या पुर्याउनका ओली पक्षले पनि दलहरूको दैलो चहारिरहेको छ । 

सोही क्रममा नेकपा प्रचण्ड–माधव पक्षले काँग्रेसपछि जसपासँग एक चरण छलफल सकेको हो । छलफलका क्रममा सो पार्टीका नेताहरुले ‘तपाईंहरु कहिले विभाजित हुनुहुन्छ’ भनि प्रश्न गरेका थिए । 
प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपा नेपाल आफ्नो पक्षमा रहेको र आफूलाई साथ दिने बताउँदै आएका छन् । उनले नेकपा, काँग्रेस र जसपा मिलेर सरकार बनाउने भनि अभिव्यक्ति पनि दिएका छन् । तर जसपा नेपालका नेताहरुले नेकपा विभाजन नभएसम्म सरकार गठन वा सरकारमा सहभागी बारेमा कुनै छलफल गर्न नसकिने प्रतिक्रिया दिएका छन् । 

 


 

जसपा नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले नेकपा विभाजन नभएसम्म जसपा नेपाल सरकारमा जाने÷नजाने बारेमा भन्न नसकिने बताए  । सरकारका लागि जसपा नेपाल आवश्यक शक्ति नभएको र मुख्य शक्ति काँग्रेस पार्टी रहेको उनको भनाइ छ ।  उनले भने, ‘नेकपा विभाजन भएपछि मात्र कुन पार्टीसँग कति शक्ति रहेछ कसले सरकार बनाउन सक्छ, क–कसको गठबन्धनमा सरकार बन्छ, त्यो थाहा हुन्छ र त्यसपछि मात्र अरु कुरा गर्न सकिन्छ, अहिले त्यतिकै कुनै कुरा गर्नुहुँदैन ।’ उनले रेशम चौधरी रिहाइ तथा संविधान संशोधनका यसअघिको माग पूरा नभएसम्म पार्टी सरकारमा जान नहुने पनि बताए । 
सरकारमा जानका लागि पार्टीमा छलफल गरेर निर्णय हुनुअघि पहिला नेकपा आफूमा स्पष्ट हुनुपर्ने भन्दै उनले अनि मात्र मार्गप्रशस्त हुने उनको भनाइ छ । 

उसो त जसपा नेपालमा पनि प्रचण्डलाई रोज्ने कि ओलीलाई रोज्ने भन्ने दुई धार देखिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षधर नेताहरुले प्रचण्डलाई सहयोग गरेर अगाडि बढ्नुपर्ने धारणा राख्दै आएका छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीतिर झुकाव राखेका छन् । 

 


 

अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई जसरी अध्यक्ष ठाकुर र नेता महतोले खुलेर आफ्नो धारणा राखेका भने छैनन् । यद्यपी ठाकुर र महतो पक्षधर नेताहरुले खुलेर ओलीलाई साथ दिइरहेका छन् । यस्तो पृष्ठभूमिमा खुल्ने अवस्था आए महन्थ ठाकुरहरुको समर्थन ओलीलाई नै जाने अवस्था रहेको एक नेताले बताए । 

उपेन्द्र यादवले ओली मधेश विरोधी हुन्, उनले मधेशलाई विभेद गरेको होच्याएको र त्यो भन्दा ठूलो कुरा लोकतन्त्रलाई नै धरापमा पार्ने गरी कदम चालेका कारण यही अवस्थामा ओलीलाई साथ दिन नसकिने पार्टीमा भन्दै आएका छन् । पार्टीमा दुई धार देखिएकाले जसपा नेपालमा नै संकट आउने खतरा रहेको नेताहरु बताउँछन् ।  

राजनीतिक विश्लेषक जयनिशान्तले नेकपा कानुनी रुपमा विभाजित नभएसम्म जसपा नेपाल मात्र नभइ काँग्रेसले पनि सरकार बनाउन साथ दिन नहुने बताए । 

उनले भने, ‘नेकपा स्पष्ट रुपमा विभाजित नभएसम्म जसपा नेपाल मात्र होइन, काँग्रेसले पनि सरकार बनाउन साथ दिनु हुँदैन । नेकपा कानुनी रुपमा विभाजन नभएसम्म त्यसको लडाईमा काँग्रेस र राजपा नेपाल फस्नु हुँदैन ।’
 नेकपामा एकीकरणका लागि पनि प्रयास भइरहेको भन्दै उनले यदि एकता भयो भने यही सरकारको निरन्तरता हुन सक्ने वा प्रधानमन्त्री फेरिन सक्ने भएकाले  काँग्रेस र जसपा नेपालले हतार गर्न नहुने धारणा राखे । 
यद्यपी प्रधानमन्त्री ओलीले जुन गल्ती गरेका छन् त्यो कुरा अहिले त्यतिकै बिर्सन नहुने उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप