बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जोनसनको ‘सिंगल डोज’ खोपलाई अमेरिकामा अनुमति

आइतबार, १६ फागुन २०७७, ११ : १३
आइतबार, १६ फागुन २०७७

अमेरिकाले शनिबार जोनसन एन्ड जोनसनले तयार गरेको कोरोनाभाइरसविरुद्धको खोप ‘जेनसेन’ लाई आपत्कालिन प्रयोगको अनुमति दिएको छ । मोडर्ना र फाइजरपछि अमेरिकामा अनुमति पाउने यो तेस्रो खोप हो ।

सीएनएनकाअनुसार यो अमेरिकाको पहिलो सिंगल डोज खोप हो । ह्वाइट हाउसका शीर्ष अधिकारी एन्डी स्लाविटले तेस्रो सुरक्षित खोप आउनु खुसीको कुरा भएको बताए ।

अमेरिकी फुड एन्ड ड्रग रेगुलेटरी एडमिनिस्ट्रेसन (एफडीए) को सल्लाहकार प्यानलले शुक्रबार यस खोपका सिफारिसका लागि मतदान गरेको थियो । जसमध्ये सबै २२ जना सदस्यले खोपको पक्षमा मत दिएका थिए ।

यस खोपको ट्रायल अमेरिका, दक्षिण अफ्रिका र ल्याटिन अमेरिकाका ४४ हजारभन्दा बढी व्यक्तिमा गरिएको बताइएको छ । एफडीएका अनुसार यस खोपको प्रभावकारिता ६६.१ प्रतिशत रहेको छ ।

अब यो खोप १८ वर्षभन्दा माथिका मानिसमा लगाइनेछ । अमेरिकामा हालसम्म ७ करोडभन्दा बढीले खोप लगाइसकेका छन् ।

विश्वभर कोरोनाभाइरसबाट ११.४३ करोडभन्दा बढी संक्रमित बनेका छन् । यसमध्ये ८ करोड ९९ लाखभन्दा बढी निको भएका छन् भने २५ लाख ३६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

स्रोत : दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप