शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वको कुख्यात जेलमा थुनिएका निर्दोषको कथा

आइतबार, १६ फागुन २०७७, ११ : २१
आइतबार, १६ फागुन २०७७

महोम्मेदु अल्ड सलाहीको चर्चित आत्मकथा ‘ग्वान्टानामो डायरी’मा आधारित रहेर स्कटिस निर्देशक केभिड म्याकडोनाल्डले बनाएको ‘द मरीटेनियन’ १२ फेब्रुअरीदेखि अमेरिकामा प्रदर्शनमा आएको छ । सलाही ती व्यक्ति हुन्, जसले बिना कसुर ग्वान्टानामो समुद्री किनारास्थित कुख्यात अमेरिकी बन्दीगृहमा यातनापूर्वक १४ वर्ष बिताए ।  अमेरिकी न्याय प्रणालीको एक अँध्यारो पक्षलाई यस फिल्मले उजागर गरेकोे छ ।

सेप्टेम्बर ११, २००१ मा अमेरिकामा अलकायदाले गरेको आतंककारी हमलाको दुई महिनापछि फिल्मको कथा सुरु हुन्छ । मोहम्मेदु सलाहीको भूमिकामा तहर रहिम छन् । उत्तर अफ्रिकी देश मरीटेनियाको समुद्री किनारमा भएको वैवाहिक समारोहको दृश्य फिल्मको सुरुवातमा देखाइएको छ । यतिबेला सलाही जर्मनीबाट छात्रवृत्तिमा इलेक्ट्रिकल इन्जिनियनिङ पढेर स्वदेश फर्किएका थिए । अमेरिकी अधिकारीहरुले प्रश्न सोध्न खोजेको भन्दै सलाहीलाई स्थानीय प्रहरीले आफुसँग हिँड्न भन्छ, यतिबेला आमा बाया बिलाल निकै पीडामा देखिन्छिन् । छोराले छिट्टै फर्कन्छु भनेपनि उनलाई जीवनभर भेट हुँदैन भन्ने लागिसकेको हुन्छ । सलाही ९० को दशकको सुरुवातमा कम्युनिष्ट सरकार गिराउन अफगानिस्तानमा भएको जिहादी आन्दोलनमा सहभागी थिए, यतिबेला अमेरिकाले पनि जिहादीहरुलाई सहयोग गरेको थियो । तर सेप्टेम्बर ११ पछिको परिवर्तित सन्दर्भमा उनी अमेरिकी सुरक्षा अधिकारीहरुकै आँखाको तारो बन्छन् ।

आफ्ना भाइ महफौज ओउल्ट अल वालिदा उर्फ अबु हाफ्स अल मउरिसानीको ठेगाना भनिदिन उनीसमक्ष आग्रह गरिएको हुन्छ, यी व्यक्ति अल कायदाका सदस्य तथा बिन लादेनका सल्लाहकार हुन्छन् । अबुले कुनै समय जर्मनी छँदा लादेनको नम्बरबाट सलाहीलाई फोन गरेका हुन्छन् । सलाहीले उनकै अनुरोधमा एक व्यक्तिलाई जर्मनीस्थित आफ्नो कोठामा बास पनि दिएका दिन्छन् । यति सम्पर्क र परिस्थितीजन्य फोन कलकै आधारमा सलाही र अलकायदाको सम्बन्ध स्थापित हुन सक्दैन । न, त उनी सेप्टेम्बर ११ को हमलामा सहभागी थिए भन्ने स्थापित हुन्छ । यद्यपी, ग्वान्टानामो हिरासत केन्द्र कानूनरहित ठाउँ हो, जहाँ मानिसहरुलाई वर्षौंसम्म बिना आधार–प्रमाण थुन्न, यातना दिन र भए नभएका कुरा ओकल्न लगाइन्छ ।

सलाहीले वल्र्ड ट्रेड हमलामा प्लेन उडाउने चालक छनोट गरेको आशंका गरिन्छ र कुनै प्रमाण तथा औपचारिक अभियोग बिना नै उनलाई वर्षौंसम्म थुनामा राखिन्छ । आफु निर्दोष भएको बयान पटक–पटक दिएपनि सलाहीलाई मुक्ती मिल्दैन । भेट्रान वकिल न्यान्सी होल्यान्डर  (जोडी फोस्टर) ले सलाहीको बन्दी प्रत्यक्षीकरण (गैरकानूनी रुपमा थुनामा राखिएका बन्दीलाई अदालतमा पेश गर्नुपर्ने) मुद्दा हेर्छिन् । आफ्ना सहयोगी टेरी डुन्क्यान (साइलेनी उड्ली) लाई लिएर होल्यान्डर हिरासत केन्द्र पुग्छिन्, विभिन्न समस्याहरु झेल्दै उनीहरुले हिरासत केन्द्रमा बनाइएका झुठा र बनावटी तथ्य खोतल्न थाल्छन् ।

अर्कोतर्फ स्टुआर्ट कोच छन्, जसको भूमिका बेनेडिक्ट कुम्बर्वाचले निर्वाह गरेका छन् । यी पूर्व पाइलटका एक निकट साथी त्यही विमानमा सवार हुन्छन्, जसलाई अपहरण गरेर वल्र्ड ट्रेड सेन्टरको दक्षिणी टावरमा खसालिएको थियो । त्यसैले यस घटनामा उनलाई पनि व्यक्तिगत चासो हुन्छ, यसक्रममा आफ्नो देशले गरेको अपराधको गहिराई पत्ता लगाउँछन् ।

लामो कानूनी लडाइँपछि २०१० मा सलाहीलाई जमानतमा रिहा गर्न अदालतले आदेश दिन्छ । तर बाराक ओबामा प्रशासनले फेरि यसबारे पुनरावेदन गर्छ र अर्को ७ वर्षसम्म सलाही थुनामै रहन्छन् । यही अवधिमा २०१३ मा उनकी आमाको निधन हुन्छ ।

यसरी, केही प्रश्न सोध्न लगिएका व्यक्ति १४ वर्षसम्म बिना प्रमाण हिरासतमा पर्छन् । उनी ७ सय ६० नम्बरका कैदी हुन्, आफ्नो कोर्टमा फुटबल फ्याँकिरहने फ्रान्सेली साथीसँग उनको दोस्ती जम्छ । उनले आफुलाई ‘मरीटेनियन ’ भनेर बोलाउन आग्रह गर्छन् ।

यस कथाले युद्धको आतंकमा सर्वसाधारण कसरी  प्रताडित हुन्छन् भनेर देखाएको छ । विशेषगरी, सेप्टेम्बर ११ मा अमेरिकामा अल कायदाले हवाई हमला गरेपछि मध्यपूर्वका पूरुषहरुलाई शंकाकै भरमा कतिसम्म यातना दिइएको थियो भन्ने देखाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप