शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेयरको कारोबार गर्नेले बुझ्नै पर्ने ‘ट्रयाप’ के हो ?

​ट्रयापमार्फत् कसरी खेल्छन् खेलाडीले ?
सोमबार, १७ फागुन २०७७, १२ : ४२
सोमबार, १७ फागुन २०७७

सेयर बजारप्रति लगानीकर्ताको चासो बढ्दै गएको छ । प्राथमिक सेयर (आईपीओ) कुनै पनि नछुटाउने लगानीकर्ताले आजकाल त सेयर पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ । मागभन्दा ज्यादा आवेदन परेपछि धेरैजसो कम्पनीले सेयर बाँडफाँट गर्न गोला प्रथा विधि नै अपनाउन थालेको छ । यसकारण भाग्यलाई कुरेर नबस्नेहरु दोस्रो बजारमा पसेर धमाधम सेयर कारोबारसमेत गर्न थालेका छन् ।

सेयर कारोबार गर्नेले लहैलहैमा लाग्दा र सामान्य जानकारीसमेत नराख्दा उनीहरुमाथि खेलाडीले खेल्न सक्छन् । यसअघि हामीले सेयर कारोबार गर्नेले बुझ्नैपर्ने ‘क्लोजआउट’को विषयमा चर्चा गरिसकेका छौँ । अब भने अर्को जान्नै पर्ने ‘ट्रयाप’को विषयमा चर्चा गर्दैछौ । ताकि लगानी गर्ने लगानीकर्ताले यस विषयलाई  आधार बनाएर सुरक्षित लगानी गर्न सकुन् ।

 


 

अनलाइन कारोबार आइसकेपछि धेरै खालका अनलाइन कारोबारमा गर्न मिल्ने सिस्टमले दिएका कुरालाई प्रयोग गरेर चलखेल हुन सक्ने विषयलाई ध्यान दिँदै ट्रयापको विषयमा  बुझ्नु जरुरी छ ।

कसरी हुन्छ ट्रयाप ?

मानौँ खुलेको सेयर बजारमा कुनै एउटा सूचीकृत कम्पनीको सेयरलाई लिएर कुनै एउटा समुहले चलखेल गर्न खोज्दैछ । चलखेल गर्ने कुनै लगानीकर्ता वा कुनै ब्रोकर कम्पनी हुन सक्छ । धेरै पैसा लिएका मानिसहरुले यस्ता चलखेल गर्न सक्छन् । हामीले अनलाइन मार्केट डेप्थ हेर्छौँ तर सर्वसाधारणले मार्केट डेप्थमा खाली खरिद र बिक्री चाप मात्र हेर्ने गर्छ । यी दुइ कुरालाई मात्र ध्यान दिँदा ट्रयापमार्फत् चलखेल हुन सक्छ । खेलाडीहरुले आफु अनुकुल मूल्य बढाउन वा घटाउन खोजिरहेका हुन्छन् ।

यदि कसैलाई बिक्री गराउनु छ भने उसले लाखौँ कित्ता बिक्रि नै नहुने दर अर्थात् महँगो मूल्य राखेर टिएमएसमा हालिरहेको हुन्छ । मानौँ कुनै कम्पनीको सेयर मूल्य २ सय रुपैयाँ बजारमा चलिरहेको छ भने २ प्रतिशतसम्म तलमाथि हुन्छ । यदि कसैले २ सय ४ रुपैयाँमा ५० हजार कित्ता हालिदियो भने त्यो  झुट (फेक) भयो ।  अनि उसले काउन्टर आदेश पनि हाल्छ । आफ्नो कारोबार भएपछि सो रकम स्वाट्ट मेटाउँछ ।  यस्ता खालको ट्रयापहरु धेरै हुने भन्दै विज्ञ डा. केशव श्रेष्ठ ट्रयापबाट बच्न सुझाउँछन् ।

 


 

कसरी थाहा पाउने ?

अनलाइन ट्रेडिङ गर्दा ट्रयापहरु के–के फाल्छन ? खेलाडीले कसरी खेल्न खोज्छन्, साना लगानीकर्ताको मेजर मनीसँग ठूला लगानीकर्ताले कसरी ट्रयापमा राख्छन् भन्ने जानकारी हुनु आवश्यक रहेको श्रेष्ठको भनाइ छ ।

यसकारण लगानीकर्ताले जम्मा सेयर कति हो भनेर हेर्नुहुँदैन । मार्केट डेप्थ हेर्दा सबैभन्दा माथिको एउटा वा दुईवटा लाइन हेरे  मात्र पुग्छ । त्यो रियल हुन्छ किनभने भोलि कसैले खेल्न चाह्यो भने नभएको सेयर बेच्दा उनीहरु कारबाहीमा पर्छन् ।

मानौँ कुनै ‘ए’ भन्ने बैंकको सेयर किन्न वा बेच्न बसिरहनु भएको छ भने मार्केट डेप्थमा त्यसको धेरै वटा मूल्य देखाइएको हुन्छ । यसकारण सबैभन्दा माथिको पहिलो र दोस्रो लाइन मात्र हेरेर सेयर खरिद गर्ने वा किन्ने विषयको निर्धारण गर्नुपर्छ । त्यसभन्दा तलका लाइन हेर्नै हुँदैन ।

अर्को कुरा कुनै कम्पनीको सेयर मूल्य बढिरहेको छ भने फ्लोसिट हेर्नुपर्छ । त्यतिकै बढिरहेको हो वा वास्तवमै बढिरहेको छ अथवा कारोबार चाहि छैन खाली मूल्य मात्र बढेको देखाएको हो कि भन्न तत्कालको लागि फ्लोसिट हेर्दा जानकारी हुन्छ । कारोबारको भोल्यूममा ध्यान दिनु जरुरी छ ।

तर कारोबार पनि बेस्सरी भएको छ र दर पनि बढेको छ भने त्यो स्वभाविक हो । कारोबार कित्ता कम छ,  दरचाहि ह्वात्तै बढेको छ भने त्यो कृत्रिम हो । यस्ता खालका ट्रयाप बुझ्नुपर्छ । ब्रोकर कहाँ गएर कारोबार गरेपनि मार्केट डेप्थ चाहिँ हेर्नुपर्ने हुन्छ ।

कसैले बढ्यो—बढ्यो भनेर वा घट्यो—घट्यो भनेर कराउँदैमा जोशमा आएर सेयर खरिद अथवा बिक्रीको आदेश दिनुहुँदैन । कर्नरिङ हुने, पन्जी स्किमहरु चलाउने धेरै खालका ट्रयाप हुन्छन् । सेयर बजार प्रवेश गर्नेले ट्रयापको विषयमा जानकारी नराखे खेलाडीहरुले खेल्न सक्ने सम्भावना अधिक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप