बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जसपा एकीकरणको ११ महिनासम्म पनि टुङ्गो लागेन समायोजन

सोमबार, १७ फागुन २०७७, १५ : १८
सोमबार, १७ फागुन २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल गठन भएको झण्डै ११ महिना भइसकेको छ तर अझै पार्टीभित्र समायोजनको टुङ्गो लागेको छैन ।  सो पार्टीले आइतबारमात्र आठवटा जनवर्गीय संगठनको समायोजन टुङ्गो लगाएको छ । जसपा कार्यकारिणी सदस्य एवं समायोजन सहजीकरण कार्यदलका सदस्य रामसहाय यादवका अनुसार साबिकका दुई दल (पूर्व समाजवादी र पूर्व राजपा) बीचको सहमतिबाट आठवटा जनवर्गीय संगठनको टुङ्गो लागेको हो ।

राष्ट्रिय समाजवादी ट्रेड युनियन महासंघ नेपाल, राष्ट्रिय समाजवादी खेलकुद महासंघ नेपाल, जनता समाजवादी थारु संघ, समाजवादी भूपू सैनिक तथा प्रहरी महासंघ, जनता समाजवादी साँस्कृतिक महासंघ, जनता समाजवादी युवा संघ, जनता समाजवादी महिला संघ, नेपाल सुकुम्बासी व्यवस्थापन संघको समायोजन टुङ्गो लगाइएको भए पनि अन्य जनवर्गीय संगठनको समायोजन टुङ्ग्याउन बाँकी रहेको उनले बताए । 

यादवले भने, ‘दुई पार्टीमा जनवर्गीय संगठन समान छैनन्, समाजवादी पार्टीमा कुनै जनवर्गीय संगठन छ भने त्यो राजपा नेपालमा छैन, राजपा नेपालमा कुनै जनवर्गीय संगठन छ भने समाजवादीमा छैन, त्यही भएर जनवर्गीय समायोजनमा केही ढिलाइ भएको छ । साबिकका दुवै पार्टीको जनवर्गीय संगठनलाई मिलाउने काम भइरहेको र केही दिनमा सबै टुङ्गो लाग्ने उनको भनाइ छ ।

जसपा नेपालले पार्टी गठनको तीन महिनाभित्र समायोजनको काम टुङ्गो लगाउने निर्णय गरेको थियो । तर तीन महिनामा केन्द्रीय समितिमै समायोजन हुन सकेको थिएन । त्यसपछि कात्तिक १५ गतेभित्र समायोजनको टुङ्गो लगाउने निर्णय गरेको थियो तर त्यो समयमा पनि टुङ्गो लगाउन सकेन । 

पुसमा बसेको कार्यकारिणी समितिको बैठकले मंसिर ३० गतेभित्र सबै जनवर्गीय संगठनमा समायोजन टुङ्गो लगाउने निर्णय गरेको थियो तर त्यो समयमा पनि टुङ्गो लाग्न सकेन । पटक पटक समायोजनको समयसीमा तोके पनि समायोजन टुङ्ग्याउन नसकेका कारण अहिले त्यस्तो समयसीमा तोकिएको छैन तर पार्टीले समायोजनको कामलाई अगाडि बढाएको छ । यद्यपि, जुन गतिमा समायोजन हुनुपर्ने हो, त्यो गतिमा नभइरहेको यादवले बताए । 

पहाडका केही जिल्ला, पूर्वका केही पालिकाहरुको मात्र समायोजन भएको जानकारी दिँदै उनले बाँकी केही ठाउँमा छलफल चलिरहेको बताए । प्रदेश, जिल्लाहरुको समायोजन टुङ्गो लगाउन बाँकी नै छ । आठसय सदस्यीय केन्द्रीय समिति गठन गरे पनि केन्द्रीय सदस्यहरुकै कार्यविभाजन समेत भएको छैन । केन्द्रीय समितिसहित पार्टीको ५१ सदस्य कार्यकारिणी समिति र ५१ सदस्यीय राजनीतिक समितिमात्र अहिलेसम्म गठन भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप