शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कानुनका साना छिद्रभित्र पसेर ठुला अत्याचार हुने गरेको पाइयोः सभामुख सापकोटा

सोमबार, १७ फागुन २०७७, १८ : ३७
सोमबार, १७ फागुन २०७७

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले सुशासन कायम गर्न कानुनको शुद्धता र गुणस्तरले बढी भूमिका खेल्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा आयोजित पत्रकारिता पुरस्कार वितरण एवम् सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सभामुख सापकोटाले सुशासनको क्षेत्रमा महत्वपूर्ण विधि, विधान, नीति निर्माण र कानुन भएको भन्दै सुशासन कायम गर्नको लागि कानुनको शुद्धता, पवित्रता र कानुनको गुणस्तरले सबैभन्दा बढी भूमिका खेल्ने बताएका हुन् ।

कानुनमा भएका स–साना छिद्र भित्र पसेर ठुला ठुला अत्याचार हुने गरेको भन्दै उनले कानुनलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने– ‘सुशासनको क्षेत्रमा मलाई के लाग्यो त भन्दाखेरी विधि विधान, नीति निर्माण, कानुन । म कानुनको विद्यार्थी त होइन । अहिले मलाई जब कानुनको अलिकति सुक्ष्म अध्ययन गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । मलाई के लाग्यो त भन्दाखेरी कानुन निर्माणदेखि लिएर कानुनमा हुने छिद्रहरु र कानुनको शुद्धता, पवित्रता, कानुनको गुणस्तरले चाहिँ सुशासन कायम गर्नका लागि सबैभन्दा बढी भूमिका खेल्छन् । तपाई हामिलाई थाहा छ, त्यहाँ छिद्रभित्र पसेर धेरै ठुला कुरा हुँदारहेछन् । एउटा कमा हुँदा र नुहुँदा, ‘र’ र ‘वा’ को बीचमा कति ठुला कुरा भइराखेको हुँदा रहेछन् । त्यसरी कति ठुला अत्याचारहरु भइराखेका छन् ।’

सभामुख सापकोटाले नेपालको संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको र नयाँ मूल्य मान्यताहरुलाई आत्मसात गर्न खोजेको बताए । संविधानले मौलिक अभ्यास गर्न खोजेको भन्दै उनले संविधानलाई अझै पनि विकास, परिमार्जन र संशोधन गर्नुपर्ने आवश्यकता रहेको र सो को लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने– ‘हाम्रो संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको छ । र नयाँ मूल्य मान्यतालाई पनि आत्मसात गर्न खोजेको छ । हाम्रो संविधान साँच्चिकै दुनियाँको मौलिक छ । र यसले मौलिक अभ्यास गर्न खोजेको छ हाम्रो संविधानले । यो परम्परागत संसदीय व्यवस्था पनि होइन र यो हाम्रै मौलिकतामा,मौलिक जगमा खडा भएको छ । नेपालीपन छ यसमा । नेपाली मौलिकता छ । र त्यो संविधानमा फेरि पनि हामीले विकास गर्नुछ । परिमार्जन गर्नुछ । संशोधन गर्नुछ । त्यो संशोधन, परिमार्जन र विकास गर्नका लागि यसको सफल कार्यान्वयन गर्नुछ ।’

सभामुख सापकोटाले संसद पुनःस्थापनाको निम्ति नेपाली पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेकाले नेपाली पत्रकारिताप्रति आफ्नो छाति गर्वले फुलेको र श्रद्धाले शीर झुकेको समेत बताए । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा इञ्जा खोजी पत्रकारिता पुरस्कारबाट पत्रकारद्य सुशील पन्त र टपेन्द्र कार्कीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी इञ्जाले पत्रकारिताका गुरु लालदेउसा राईलाई विशेष सम्मान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप