बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

'केपी ओलीको अर्को सेटिङ पनि भत्किँदैछ'

सोमबार, १७ फागुन २०७७, १९ : ५९
सोमबार, १७ फागुन २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवनेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिन भित्रै निर्वाचन आयोगले आफुहरुको पक्षमा निर्णय गर्ने बताएका छन् ।

सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरुले पाउने दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा गरेको सेटिङ भत्किने टिप्पणी गर्दै उनले केही दिनभित्रै आधिकारिक पार्टी बहुमतवाला पार्टी नै भएको र सूर्य चिन्ह र नाम बहुमतवाला पार्टीकै हो भनि फैसला गर्ने उनले बताए । 

उनले भने, ‘अर्को सेटिङ पनि भत्किँदैछ, निर्वाचन आयोगवाला सेटिङ । हेर्नुहोला, मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु केही समय भित्रै निर्वाचन आयोगले उहाँलाई यो पार्टी उहाँको आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिन्ह र नाम उहाँहरूकै हो भन्ने फैसला हुन्छ । यसमा एक इन्चपनि शंका गर्नु पर्दैन ।’


अध्यक्ष प्रचण्डले केपी ओली पाहा झैँ पछारिएको टिप्पणी गरे । ओली पाहा पछारिए झैँ पछारिए पनि हामिले जित्यौ झन बलियो भयौँ भन्दै हिँडेको उनको भनाई छ । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई खारेज गरिदिएपछि प्रधानमन्त्रीको पदमा एक क्षण पनि बस्न लायक नभएको उनले बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड–माधव पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले पार्टीले दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिसकेकाले प्रधानमन्त्री ओलीले कसैलाई हटाउने अधिकार नभएको बताए ।

उनले भने, ‘यो पार्टीको सदस्य नभएको व्यक्तिले, संसदीय दलको नेताको पनि दाबा गरिरहेका छन् । अनि मुख्य सचेतकबाट देव गुरुङजीलाई हटाएको पनि सुन्नु भाछ । अधिकार नै नभएको कुरा कहाँ बाट हटाउने ? किनभने संसदीय दलको बैठकबाट पुष्पकमल दाहाल प्रचण्डलाई नै दलको नेता त हामिले चयन गरिसकेका छौँ । अब केपी ओली दलको नेतापनि रहनुभएको छैन । त्यस हुनाले पनि उहाँले आफ्नो हिसाबले उहाँको डायरीमा नोट गरेका नाम जति काटे हुन्छ । हामिलाई भन्नु केही पनि छैन । रिस उठेपछि कलमले केरकार गरेपनि हुन्छ ।’

अध्यक्ष नेपालले संस्थागत कुरा विधानमा लेखिए बमोजिम मात्रै हुने बताए । कुनै एक व्यक्तिको सनकको भरमा देश अगाडि जान नसक्ने भन्दै उनले आफूहरुले विधि विधानलाई मान्ने देश बनाउन चाहेको उल्लेख गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप