शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन व्यवसायीहरुको निश्कर्षः ५ दिने क्वारेन्टिन मापदण्ड नै पर्यटक आगमनको प्रमुख बाधक

सोमबार, १७ फागुन २०७७, २१ : ५९
सोमबार, १७ फागुन २०७७

काठमाडौं । कोभिड–१९ पछि विदेशी पर्यटक आगमनमा सरकारले व्यवस्था गरेको मापदण्ड नै अहिलेको पर्यटन व्यवसायको प्रमुख चुनौतीको विषय भएको पर्यटन व्यवसायीहरुले निश्कर्ष निकालेका छन् । 

विदेशी पर्यटक आगमनमा सरकारले व्यवस्था गरेको अनिवार्य ५ दिनको होटल क्वारेन्टिनको व्यवस्थासहित न्यूनतम ५ हजार अमेरिकी डलरको कोरोना बीमा, ७२ घण्टाको पीसीआर रिर्पोट, उत्तर–दक्षिण सीमा नाका बन्द लगायत दर्जनौं अनावश्यक प्रावधानहरूले पर्यटन आगमनमा समस्या ल्याएको भन्दै व्यवसायीहरुले यस्तो प्रावधान तत्काल हटाउन माग गरेका छन् । 

यस्तो प्रावधान नै अहिलेको पर्यटन आगमनको प्रमुख बाधक भएको भन्दै व्यवसायी यस्तो व्यवस्था नहटे अब व्यवसायमा टिक्न नसक्ने बताएका छन् । सो व्यवस्थाबारे रातोपाटीसँग कुरा गर्दै ट्रेकिङ ऐजेन्सिसी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले अब पनि कोभिड–१९ को नाममा सरकारले लागु गरेको अनावश्यक प्रोटोकलहरु परिमार्जन नगरे व्यवसायीहरुले व्यवसाय छाडेर सिंहदरबार घेराउ गर्न बाध्य हुने बताए ।

विदेशीहरु नेपाल आउन र खर्च गर्न तयार रहँदा समेत सरकारकै नीति बाधक बनिरहेको भन्दै यस्तो नीति अबिलम्ब खारेज गर्न समेत सुवेदीले माग गरे ।

त्यसो त टनसँगै विभिन्न पर्यटन सम्वद्ध संघ संगठनहरु र नेपाल पर्यटन बोर्डले समेत पर्यटन व्यवसायको पुनर्जीवनका लागि अनावश्यक मापदण्डहरू खारेज गर्न सरकारसँग माग गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले पर्यटन व्यवसायको उत्थानका लागि अब सरकारले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउँदै कोभिड सुरक्षार्थ सकारले अपनाएको सबै अनावश्यक मापदण्डहरु तत्काल खारेज गरि पर्यटक आगमनको वातावरण तयार गर्नुपर्ने बताए । 

साथै, पर्यटक आगमनको सहजताका लागि अब सरकारले उत्तर–दक्षिण अर्थात् भारत र चीन दुबै तर्फको सीमा समेत खोल्न पहल गर्नुपर्ने बताए ।
यता, पर्यटन व्यवसायीहरु तथा पर्यटन व्यवसायमा आवद्ध विभिन्न संघसंस्थाहरू पर्यटन क्षेत्रकै पुनरुत्थानका लागि भन्दै सरकारसँग १० शुत्रे मागपत्र पेस गरेका छन् । 

यस्तो छ व्यवसायीहरुको माग :

१.७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरूका हकमा ७ (सात) दिनसम्म अनिबार्य क्वारेन्टिन​मा बस्न पर्ने प्रावधान हटाउनु पर्ने

२.अनलाइन र अराइ भल भिषा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरूबाट भिषा​को ब्यवस्था पूर्ववत् रुपले गराउनु पर्ने

३.त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाच मेशिन राख्नु पर्ने

४.हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न पहल गर्नु पर्ने

५.कोरोना विरुद्धको भ्याक्सिन पर्यटन ब्यवसायी र पर्यटन श्रमिकहरुलाई उपलब्ध गराउनु पर्ने

६.नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशीघ्र खोल्न पहल गर्नु पर्ने

७.नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिबार्य गाइड, तथा पदयात्रा सहयोगी लिएरमात्र नेपाल भ्रमण गर्न–गराउन पाउनु पर्ने ब्यवस्था गर्नु पर्ने

८.नेपाल–भारतका सीमानाहरूबाट भित्रिने पर्यटकहरूलाई सरकार तथा सम्बन्धित निकायबाट अनुगमन गर्नु पर्ने

९.कम्तिमा ५००० हजार अमेरिकन डलर बराबरको कोरोना बीमा हटाउनु पर्ने

१०.कोरोना विरुद्धको भ्याक्सिन पुरा मात्रा लगाई आएका पर्यटकहरूलाई सहज (निर्बाध) रुपमा घुम्न दिनु पर्ने, रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप