बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संसद् भवन भित्र बलात्कारको मामिलामा अष्ट्रेलियाका प्रमले श्रीमतीको कुरा कोट्याएपछि...

मङ्गलबार, १८ फागुन २०७७, ०९ : १०
मङ्गलबार, १८ फागुन २०७७

मात्रै १५ दिनअघि अष्ट्रेलिया एक पूर्व राजनीतिक सल्लाहकारले आफूमाथि संसद् भवन भित्र बलात्कार भएको खुलासा गरेकी थिइन् ।

ब्रिटनी हिगिन्सले आफूलाई एक पुरुष सहकर्मीले यौन हमला गरेको जानकारी दिइन् । उनका अनुसार ती व्यक्ति सत्ताधारी लिबरल पार्टीको सरकारमा सन् २०१९ मा एक मन्त्रीका सल्लाहकार थिए ।

ब्रिटनी हिगिन्सले यस्तो खुलासा गरेपछि थुप्रै महिला बाहिर निस्किए र अष्ट्रेलियाको राजनीतिमा यौन हमलाको आ–आफ्ना अनुभव साझा गरे ।

यीमध्ये सबैभन्दा विस्फोटक सन् १९८८ को एक बलात्कारको आरोप छ । यो मामिला एक अज्ञात क्याबिनेट मन्त्रीको हो ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मन्त्रीले बलात्कारको आरोप अस्विकार गरेको बताएका छन् ।

प्रहरीसमक्ष एक विपक्षी सांसदमाथि बलात्कारको अभियोग पनि आइपुगेको छ । यस्ता आरोपको बाढीले अष्ट्रेलियाको मोरिसन सरकार जवाफदेही हुनुपर्ने दबाब आएको छ ।

आफ्नो ‘ड्रिम जब’ मा जाँदाको पहिलो दिन  ब्रिटनी हिगिन्स

ब्रिटनी हिगन्स अगाडि आउनुः

ब्रिटनी हिगिन्सका अनुसार त्यतिबेला आफू २४ मात्रै भएको र आफूले जे कल्पना गर्थिन्, त्यो जागिर खान पाउँदा निकै उत्साहित भएको र कार्यालय जान थालेको केही हप्तामात्रै भएको थियो ।

मार्च सन् २०१९ मा एक वरिष्ठ सहकर्मीले उनलाई नाइट आउटपछि संसद्भवन लिएर गएका थिए । असाध्यै रक्सी पिएका कारण मन्त्रीको कार्यालयमा नै ब्रिटनीलाई निद्रा लाग्यो । उनी ब्यूझिँदा ती व्यक्तिले उनीमाथि यौन हमला गरेको भन्ने आफूलाई थाहा भएको ब्रिटनीले बताइन् ।

ती व्यक्तिलाई केही दिनमा नै बर्खास्त गरियो । उनी फायर हुनुका कारण यौन हमला त थियो नै उनले कार्यालयको सुरक्षा नियम पनि तोडेका थिए किनभने राती संसद् भवनमा जान पाइँदैनथ्यो ।

यसैबीच ब्रिटनीले आफ्नी बोस र तत्कालीन सुरक्षामन्त्री लिन्डा रेनल्ड्सलाई आफूमाथि यौन हमला भएको जानकारी दिएकी थिइन् । लिन्डासँग उनको कुरा त्यहि कोठामा भयो जहाँ ब्रिटनीले यौन हमलाको आरोप लगाएकी थिइन् ।

यता लिन्डाले ब्रिटनीलाई समर्थन गर्ने विश्वास दिलाएर प्रहरीमा उजुरी गर्न सल्लाह दिइन् ।

 


 

ब्रिटनीले भनिन्, ‘म दबाबमा थिएँ, यसो गर्दा कतै मेरो जागिर नै जाने त होइन भन्ने लागेको थियो । मलाई लिबरल पार्टीले चुप गरायो । तर मैले त्यतिबेला बोल्ने निर्णय गरेँ जब मैले जनवरीको महिनामा एउटा तस्बिर देखेँ जसमा मोरिसन यौन हमलाविरुद्ध कुरा गरिरहेका थिए ।’

ब्रिटनीले न्यूज डट कम एयूसँग भनिन्, ‘मरिसन नजिकै एक महिला उभिएकी थिइन् जसले यौन हमला झेलिसकेका महिलाको अधिकारका लागि अभियान चलाउने गर्छिन् । मैले सोचेँ – एकातिर यो तस्बिर छ र अर्कोतर्फ यसको सरकारले मलाई चुप गराउन लागीपरेको छ । यो त धोका हो । झुटो हो ।’

ब्रिटनी हिगिन्सले आफ्नो कहानी स्थानीय मिडियासँग बताइन् । 

अष्ट्रेलियाका प्रधानमन्त्रीको आलोचनाः

ब्रिटनी सार्वजनिक भएपछि अष्ट्रेलियाली प्रधानमन्त्रीले माफी मागे । दुई वर्ष अघि ब्रिटनीको ऊजुरीलाई जसरी सम्बोधन गरियो, त्यसका लागि उनले अफसोस व्यक्त गरे । प्रधानमन्त्रीले संसदमा कार्य संस्कृति र राजनीतिक कर्मचारीको मद्दतका लागि अनुसन्धान गर्ने बचन दिए ।

यो मामिलामा मोरिसनको एक टिप्पणीको विषयमा अत्यधिक चर्चा भयो । मोरिसनले भने, ‘ब्रिटनीमाथि जे भयो त्यसलाई मैले त्यतिबेला थप स्पष्टसँग बुझेँ जब मलाई मेरी श्रीमतीले ‘आफ्ना दुई छोरीलाई ध्यानमा राखेर पूरा घटना हेर्नुहोस्’ भनिन् ।’

मोरिसनले पत्रकारसमक्ष भने, ‘मेरी श्रीमतीले मलाई ‘तिमीले यो मुद्दालाई एक पिताको रुपमा हेर्नुपर्छ, यदि तिम्रा छोरीहरु माथि यस्तो भएको भए तिमी के गर्दथ्यौ ?’ भनिन् ।

मोरिसनको यो कुराका लागि आलोचना भइरहेको छ । मानिसहरुले ‘न्याय दिलाउनका लागि पिता नै हुनुपर्छ भन्ने छैन, प्रधानमन्त्री भएर पनि उनले यस्तो गर्न सक्छन्’ भनेर टिप्पणी गरिरहेका छन् । थुप्रै महिलाले ‘अष्ट्रेलियालाई पिता होइन एक प्रधानमन्त्रीको आवश्यकता भएको’ बताए ।

प्रधानमन्त्री स्कट मोरिसनले यो मामिलालाई गम्भीरताका साथ नलिएको भन्ने आरोप लागेको छ । मोरिसन र उनका मन्त्री प्रश्नबाट बच्न खोजेको पनि आरोप लगाएका छन् । मानिसहरुले सोधिरहेका छन्, ‘सरकारभित्र यो मामिलाबारे कसलाई थाहा थियो र कहिले थाहा भयो । थाहा भइसकेपछि पनि न्याय दिलाउन कति के गरियो ?’

यो घटनाबारे मोरिसनका कम्तीमा तीन मन्त्रीलाई थाहा थियो । मोरिसनले देशका मानिसहरुले जब यो घटनाबारे थाहा पाएँ, आफूले पनि यसबारे त्यति नै बेला थाहा पाएको बताए ।

यद्यपि, ब्रिटनी हिगिन्सले प्रधानमन्त्रीको तर्फबाट पीडितमाथि नै आरोप लगाउने मानसिकताले आफूलाई तनावमा पारेको बताएकी छिन् ।

उनी भन्छिन्, ‘यो मेरो मात्रै होइन, यो अनगिन्ती अन्य पीडितका लागि पनि हो ।’

अष्ट्रेलियाली प्रधानमन्त्रीसँग ब्रिटनी हिगन्स

अन्य महिला पनि सार्वजनिक भएः

ब्रिटनी हिगन्सपछि अन्य चार महिला पनि स्थानीय मिडियामा सार्वजनिक भए र उनले यौन हमला र उत्पीडनको आरोप लगाए ।

एक महिलाले द अष्ट्रेलियनसँग भने, ‘सन् २०२० मा एक पुरुषले मेरो बलात्कार गरे । उनीसँग मैले ड्रिङ्क र डिनर गरेकी थिएँ । यदि सरकारले सन् २०१९ मा ब्रिटनीमाथि भएको घटनालाई राम्रोसँग ह्यान्डल गरेको भए ममाथि सन् २०२० मा यस्तो हुने थिएन ।’

अर्की एक महिलाले भनिन्, ‘सन् २०१७ मा एक नाइट आउटपछि ममाथि बलात्कार भएको थियो ।’

अर्की तेस्रो महिलाले एबीसीसँगको कुराकानीमा ब्रिटनी हिगिन्सले आवाज उठाएपछि प्रहरीले रिपोर्ट दर्ता गरेको बताएकी छिन् । ती महिलाका अनुसार सन् २०१७ मा उनी आफ्ना सहकर्मीसँग डिनरमा जाँदा एक व्यक्तिले उनको तिघ्रा सुम्सुम्याएका थिए ।

अघिल्लो बुधबार चौथी महिलाले न्यूज डट कम डट एयूसँग एक व्यक्तिले आफूमाथि यौन सम्बन्धका लागि दबाब दिएको बताइन् । ब्रिटनी हिगिन्सको मामिलामा अष्ट्रेलियाका केही सांसद मौन बसिरहेका छन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप