शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धमाधम कालोपत्रे गरिँदै चरीकोट–जिरी सडकखण्ड

मङ्गलबार, १८ फागुन २०७७, १२ : ४३
मङ्गलबार, १८ फागुन २०७७

चरिकोट । लामोसाँघु–जिरी सडक अन्तर्गत चरीकोट जिरी सडक खण्डको निर्माण समयमानै सम्पन्न गर्न धमाधम कालोपत्र भइरहेको छ । कोरोनाले लामो समयसम्म प्रभावित सडक खण्ड विस्तार तथा निर्माणको काम तोकिएकै समयावधिमा सक्न छिटो काम भइरहेको छ । 

लामोसाँघु जिरी सडक अन्तर्गत दोलखाको चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक खण्डको विस्तार तथा कालोपत्रको काम लामा कन्स्ट्रक्सनले गरिरहेको छ । सडक निर्माण गर्न लामो समयसम्म कोरोनाले प्रभाव पारेको र उक्त प्रभावलाई मध्यनजर गरी सरकारले ६ महिनाको समयावधि थप गरेअनुसार तोकिएको समयमानै काम सम्पन्न गर्ने गरी काम भइरहेको लामा कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक जिपछिरिङ शेर्पाले बताए ।

चरिकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक २०१९ मार्चबाट साँढे दुई वर्षमा काम सक्ने गरी लामा कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । निर्माण कम्पनीले हालसम्म चरीकोटदेखि तामाकोशीसम्म १७ किलोमिटर र वैत्येश्वर गाउँपालिकाको नाम्दुको बुस्तीसम्मको साँढे दुई किलोमिटर कालोपत्र सम्पन्न गरिसकेको छ ।

 तापक्रम मापन गर्दै विभिन्न ठाउँबाट धमाधम कालोपत्रको काम गरिरहेको कम्पनीले अहिले बुस्तीदेखि नाम्दु बजारसम्म कालोपत्रको काम र नाम्दुदेखि मैनापोखरीसम्म सबवेसको काम सकेर बेस हालिरहेको आयोजनाका प्रमुख इन्जिनीयर राजेन्द्र पौडेलले बताए । कोरोनाको कारण र वर्षातको समयमा राम्रोसँग काम गर्न नपाए पनि हिउँदमा तीव्र गतिमा काम भइरहेको कारण मैनापोखरीदेखि जिरीसम्म ८६ प्रतिशत संरचना निर्माणको काम सम्पन्न भइसकेको र यो फागुनभित्र नाम्दुसम्म कालोपत्र गरी ५० प्रतिशत कालोपत्रको काम सम्पन्न गर्ने योजना रहेको कम्पनीले जनाएको छ । ठेक्का सम्र्झौता  सकिन अझै एक वर्ष बाँकी छ । 

करीब ३५ वर्षअघि स्विस सरकारको सहयोगमा निर्माण गरिएको चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक फराकिलो पार्ने तथा कालोपत्रको काम हाल नेपाल सरकारले गरिरहेको छ । स्विस सरकारले ३५ वर्षअघि सडक निर्माण गर्दा नै सडकको केन्द्रदेखि दायाँबायाँ ३० मिटर जग्गा मुआब्जा तिरेर सडकले आफ्नो स्वामित्वमा ल्याएको थियो । 

हिमाली क्षेत्र दोलखा र सिन्धुपाल्चोकको विभिन्न क्षेत्रको भूभागलाई समेटेर जिरीसम्म धेरै पहिले निर्माण गरेको सडक जीर्ण बन्दै गएका कारण भारतीय एक्जिम बैंकको ऋण सहयोगमा नेपाल सरकारले सडक विस्तारको काम गरेको हो । सडक निर्माण गर्न एक्जिम बैंकले रु तीन अर्ब ७० करोड सहुलियत ऋण लगानी गरेको छ । भारतीय कम्पनी उडहिल र नेपाली कम्पनी लामा कन्स्ट्रक्सनले रु दुई अर्ब २८ करोडमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप