केटी जिस्क्याएको निहुँमा कुटपिट गर्दा युवकको मृत्यु, सातजना पक्राउ
दाङ । घोराही उपमहानगरपालिका–१० जलौरामा केटी जिस्क्याएको निहुँमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ भने प्रहरीले सो घटनामा संलग्न सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१६ निवासी २१ वर्षीय राजन चौधरीमाथि बिहेको भोजमै कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते उनको उपचारका क्रममा निधन भएपछि प्रहरीले कुटपिटमा संलग्न सातजनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।
यसरी भएको थियो विवाद
प्रहरीका अनुसार फागुन १४ गते घोराही उपमहानगरपालिका–१० जलौरा निवासी वीरबहादुर चौधरीको छोराको बिहे भोज थियो । बेहुलाको साथीका रुपमा विवाहको निम्तो मान्दै भोज खान घोराही–१६ बस्ने २१ वर्षीय राजन चौधरी पनि पुगेका थिए । भोज चलिरहेको समयमै केटी जिस्क्याएको निहुँमा स्थानीय केही युवासँग राजनको विवाद भएको र विवाद बढ्दै जाँदा स्थानीय युवाले राजनमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ ।
कुटपिटबाट गम्भीर घाइते भएका राजनलाई उपचारका लागि तत्कालै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो । प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरियो । उपचारकै क्रममा बुटवल मेडिकल कलेजमा राजनको फागुन १५ गते मृत्यु भयो ।
राजनको मृत्युपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दै कुटपिटमा संलग्नहरुलाई नियन्त्रणमा लिएर कानुनी कारवाहीको प्रक्रिया अघि बढाएको हो । प्रहरीका अनुसार बेहुलाका पिता वीरबहादुरसहित कुटपिटमा संलग्न युवाहरुलाई पक्राउ गरिएको छ । वीरबहादुरले झगडा छुट्याउनुको साटो विवादलाई चर्काउँदै कुटपिट गर्न स्थानीय युवालाई हौस्याएको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
ईलाका प्रहरी कार्यालय नारायणपुरको प्रहरी टोलीले वीरबहादुरका अतिरिक्त कुटपिटमा संलग्न स्थानीय युवा आकाश चौधरी, उमेश चौधरी, आशिष चौधरी, सन्दिप चौधरीसहितलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दका अनुसार पक्राउ परेका सबैमाथि कर्तब्य ज्यान मुद्दा दर्ता गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपी मुकुन्द रिजालले बताए । रिजालका अनुसार पक्राउ परेका सबैले साबिती बयानमा आरोप स्वीकार गरेका छन् । यद्यपि अनुसन्धान जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यक: अध्यक्ष सिंह
-
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको शतक, नेपाल जिततर्फ अग्रसर
-
तीन तहबिच स्रोतको न्यायोचित वितरण सुनिश्चित हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-
सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्छः मन्त्री अधिकारी
-
सर्वोच्चद्वारा कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
-
प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री प्रचण्ड