ad
केन्द्रीय संस्करण

सालका रूख सोत्तर गर्ने काम ठीक होइनः प्रधानमन्त्री ओली

person explore access_timeफागुन १८, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै प्रकारका वनको संरक्षण, प्रबन्ध, विकास, प्रतिफललगायत विषयमा ध्यान दिएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले सरकारले वन र  वातावरण क्षेत्रमा अध्ययन गरेर मात्र कदम चाल्ने बताए ।

परिषद्ले छलफल गरी वन तथा वातावरण क्षेत्रका विविध पक्षमा महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, “निष्कर्षले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसमेत टेवा पुग्ने विश्वास छ । वन, वातावरण क्षेत्रलाई कसरी अझ बढी व्यवस्थित गर्न सकिन्छ भन्नेमा उपयोगी हुने गरी निष्कर्ष आउनेछ र यसले सरकारलाई नीति निर्माणमा योगदान हुनेछ ।” 

सामुदायिक वन उपभोक्ता समूहको योगदान नभएको भए अहिले मुलुकका धेरै वनमा मरुभूमीकरण भइसक्ने जनाउँदै उनले ४५ प्रतिशत वन क्षेत्र मुलुकका लागि गौरवको विषय भएको र यो नेपालका लागि मात्र नभई विश्वका लागि नै महत्वपूर्ण रहेको बताए । वनको विविध उपयोगका लागि वन क्षेत्रलाई कृषि वनका रुपमा पनि विकास गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।  

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा सालका बूढा रूख सोत्तर गर्ने काम ठीक नभएको जनाउँदै सरकारले सो कदम गलत भएको ठहराई खारेज गरेको तर्क दिँदै प्रधानमन्त्री ओलीले भने, “वातावरण संरक्षणमा अग्ला रुखको  विशेष महत्व हुन्छ, त्यसको पूर्ति साना रुखबाट हुन सक्दैन तर ठूला रूख छिपिए मात्र काट्नुपर्छ । अनि मात्र दिगो व्यवस्थापन हुन्छ” उनले सरकारले जनताको चाहना र भावनाअनुसार मात्र नीति बनाउने जानकारी पनि दिए ।

दुई दिनसम्म चल्ने परिषद् बैठकमा मुलुकभरबाट ३०० भन्दा बढी सामुदायिक वनका प्रतिनिधि रहेको र छलफलपछि बुधबार घोषणापत्र जारी हुने महासङ्घले जनाएको छ ।  सामुदायिक वन उपभोक्ता समूहको वनमाथि अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने तथा उपभोक्ता समूहको क्षमता र नेतृत्व विकास गर्ने लक्ष्यसहित २०५२ साल जेठ १८ गते महासङ्घ स्थापना भएको हो । हालसम्म देशभर २२ हजार ४१५ सामुदायिक वन हस्तान्तरण भएका छन् जसमध्ये २९ लाख २७ हजार ३२९ घरधुरीले दुई लाख २७ हजार २५६ हेक्टर वनको व्यवस्थापन गर्दै आएका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.