बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ लाई नाम र राजधानी तोक्नै सकस

जसपाको एकीकरणले प्रदेशसभा बैठक प्रभावित
मङ्गलबार, १८ फागुन २०७७, १५ : २७
मङ्गलबार, १८ फागुन २०७७

प्रदेश २ को प्रदेशसभा गठन भएको तीन वर्षको वर्षगाँठ प्रदेश सरकारले मनाइसक्यो । प्रदेशसभाको पाँच वर्षको कार्यकालमध्ये अब दुई वर्ष मात्र बाँकी छ । तर, हालसम्म पनि प्रदेशको नाम तथा राजधानी तोक्ने काम हुन सकेको छैन । प्रदेशको नाम र राजधानी नतोक्दै प्रदेशसभाको पहिलो कार्यकाल सकिन्छ कि भन्ने चिन्ता सबैतिर भइरहेको छ ।

प्रदेशको नामकरण र राजधानी तोक्ने विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै मौन छन् । पाँच महिनादेखि प्रदेशसभा बैठक बसेको छैन । कात्तिक ३ गते चौथो अधिवेशन सम्पन्न गरी स्थगित भएको प्रदेशसभा अझै सुचारु भएको छैन । प्रदेश सरकारले प्रदेशको नाम र राजधानी तोक्ने विषयमा ध्यान नै नदिएको गुनासो प्रदेशका सांसद तथा नेताहरुको गुनासो छ ।

प्रदेशको नाम तथा राजधानी तोक्नका लागि दुई तिहाई बहुमत चाहिन्छ । प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टी नेपालले गरिरहेको छ भने काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिपक्षमा छन् । नाम र राजधानीको विषयमा सहमति जुट्न नसक्दा यो काम अलपत्र परेको छ । किनभने त्यहाँ कसैसँग पनि बहुमत छैन ।

सरकारले नेतृत्व गरेको जसपा नेपाल प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने प्रस्ताव गरेको छ । नेपाली काँग्रेसको राजधानीको विषयमा सहमति भए पनि प्रदेशको नाममा भने फरक मत रहेको छ । काँग्रेसले प्रदेशको नाम मिथिला राख्नुपर्ने बताउँदै आएको छ । उता, नेकपा पनि राजधानीको नाममा सहमत भएपनि प्रदेशको नाम मिथिला–भोजपुरा राख्नुपर्ने अडान राख्दै आएको छ ।

जसपा नेपालका कार्यकारिणी सदस्य एवं प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेशको नाम र राजधानीको प्रस्ताव गरिएको तर दुई तिहाई बहुमत नपुगेको कारण रोकिएको बताउँछन् । बहुमतका लागि काँग्रेस र कम्युनिस्टसँग छलफल भइरहेको बताउँदै उनले प्रदेशको नाम र राजधानी चाँडै टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ का प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका मन्त्री सोनलले जसपा नेपालले गरेको प्रस्तावमा सहमति जुटाउने प्रयास भइरहेको बताए ।

तर, सत्ता पक्ष जसपाले (तत्कालिन समाजवादी र राजपा) ले प्रदेशको नाम र राजधानीबारे गरेको प्रस्ताव एक वर्षभन्दा बढी भइसकेको छ । तर अझै त्यसमा सहमति जुट्न सकिरहेको छैन । प्रदेशसभा सदस्य मनिष सुमन भन्छन्, ‘प्रदेशसभाको बैठक नै बस्दैन । अनि प्रदेशको नाम र राजधानी तोक्न कसरी सकिन्छ ? पाँच महिनादेखि बैठक नबसेको कारण प्रदेशको नामकरणलगायत थुप्रै कामहरु अड्किरहेको छ ।’

काँग्रेसको प्रदेशसभा संसदीय दलका नेता सरोज यादवले प्रदेशको नाम तथा राजधानी तोक्ने विषयमा प्रस्ताव पेस भएको छ तर दुई तिहाई बहुमत नपुग्दा त्यो पारित हुन नसकेको बताए । अब बस्ने बैठकमा यो कुरा विशेष रुपले उठाउने बताउँदै उनले भने, ‘प्रदेशसभा बैठक बसाउनका लागि सरकारलाई दबाब दिइरहेका छौँ ।’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले फागुन अन्तिम सात वा चैतको पहिलो साता प्रदेशसभाको बैठक बोलाउने प्रतिबद्धता जनाएको उनले बताए ।

प्रदेशमा जसपा नेपालको ५५, नेकपाका ३२ र काँग्रेसको १९ सांसद रहेका छन् । नाम र राजधानी तोक्नका लागि अहिलेसम्म कसैको प्रस्तावमा बहुमत पुग्ने अवस्था छैन ।

प्रदेश सरकार गठन हुँदा सत्तारुढ समाजवादी पार्टी र राजपा नेपाल छुट्टा छुट्टै थिए । गत बैशाखमा दुवै पार्टीबीच एकीकरणपछि प्रायः प्रदेशसभा बन्द नै रह्यो । प्रदेश सभा बन्द हुनुलाई कोरोना महामारीको बहाना बनाइयो । अहिले कोरोनाको प्रभाव कम हुँदै गएको छ । सबै क्षेत्र खुलिसक्दा पनि प्रदेशसभा भने अझै बन्द छ । प्रदेशसभा बैठक प्रभावित हुनुका मुख्य कारण दुई पार्टीबीचको एकीकरण नै भएको नेताहरु बताउँछन् । किनभने दुई पार्टी एकीकरण भएपनि प्रदेशसभाको संसदीय दल समायोजन भएको छैन । त्यही भएर प्रदेश सरकारले सचेतरुपमा बैठक नबोलाएको गुनासो भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप