शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमान्‌ले मर्ने बेला भिडियो बनाउनु भनेका थिए, के आयशाले साँच्चै श्रीमान्‌कै लागि आत्महत्या अघि रेकर्ड गरिन् भिडियो ?

बुधबार, १९ फागुन २०७७, १२ : ०२
बुधबार, १९ फागुन २०७७

‘यदि उनले मबाट स्वतन्त्रता चाहेका छन् भने त उनले पक्कै पनि स्वतन्त्रता पाउनुपर्छ । मेरो जीवन यत्ति हो । मलाई खुसी लागेको छ कि अब म अल्लाहलाई भेट्नेछु । म उनलाई सोध्नेछु कि आखिर म कहाँ गलत थिएँ ? मैले राम्रो आमा–बुवा पाएँ । राम्रा साथीहरु पाएँ । हुनसक्छ मसँग वा मेरो नियती नै गलत भयो होला । म खुसी छु । म सन्तुष्ट भएर गुडबाय भनिरहेकी छु । म अल्लाहसँग प्रार्थना गर्छु कि मैले अब ती व्यक्तिको मुख हेर्न नपरोस् । ’

यो आयशाको अन्तिम शब्द थिए ।

प्रहरी ऊजुरीका अनुसार आयशाले आफ्नो अन्तिम भिडियो २६ फेब्रुअरीमा बनाएका थिए । त्यसपछि उनले साबरमती नदीमा हाम फालेर आत्महत्या गरिन् ।

आयशा मूल रुपले राजस्थानकी थिइन् र अहमदाबादको वातवामा बसिरहेकी थिइन् । आयशाले साबरमती नदीमा छलाङ लगाउनु अघि यो पनि भनेकी थिइन्, ‘म प्रार्थना गर्छु कि यो प्यारो नदीले मलाई आफ्नो प्रवाहसहित अँगालो हालोस् ।’

साबरमती रिवरफ्रन्ट (वेस्ट) का प्रहरी इन्स्पेक्टर वीएम देसाईले यस विषयमा अनुसन्धान गरिरहेका छन् । उनका अनुसार आयशाले साबरमती नदीमा हाम फालिन्, जसका कारण उनको मृत्यु भयो ।

देसाईले भने, ‘हामीले आयशाको फोन पाएका छौं । फोनमा श्रीमान्‌सँग ग २५ फेब्रुअरीमा भएको ७० मिनेटको कुराकानी रेकर्ड गरिएको थियो । यो कुराकानीका बेला उनका श्रीमानले भने, ‘क तिमीलाई लिन आउँदिन । तिमीले पक्कै पनि मर्नुपर्छ । त्यतिबेलाको भिडियो बनाएर मलाई पठाउ । त्यो भिडियो देखेपछि मात्रै तिमी मर्यौ भनेर मलाई विश्वास हुनेछ । ’ यी महिलाले लामो समयसम्म श्रीमान्‌सँग चलिरहेको झगडाका कारण आत्महत्या गरेकी हुन् ।’

यो भिडियो बनाएपछि आयशाले आफ्ना पितालाई आफ्ना पतिलाई सबैकुराबाट मुक्त गराइदिन अपिल गरेकी छिन् र श्रीमान्​विरुद्ध दर्ता गरिएको मुद्दा फिर्ता लिन भनेकी छिन् ।’

 


आयशाले भिडियोमा भनिन्, ‘हेल्लो अस्सलाम अलेकुम । मेरो नाम आयशा आसिफ खान हो । मैले त्यहि गरेँ जुन म गर्न चाहन्थेँ । ममाथि कुनै प्रकारको दबाब छैन । म अरु के नै भन्न सक्छु । अल्लाहले मलाई यति धेरै कुरा दिएका छन् र मेरो जीवन आनन्दयुक्त रह्यो । ’

गुजराज प्रहरीले आयशाका श्रीमान् आरिफ खानलाई सोमबार बेलुका राजस्थानको पालीबाट पक्राउ गरेको छ ।

उनीमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको छ ।

आयशाको भिडियो र तनावः

आयशा आफ्नो अन्तिम भिडियोमा हासिरहेको देखिएकी छिन् । तर वास्तवमा उनी तनावले घेरिएकी थिइन् र उनको विवाहित जीवनमा सबैकुरा ठिक थिएन । उनका आमा–बुवाको आरोप अनुसार श्रीमान् र उनको परिवारको हिंसाका कारण आयशाको बच्चाको गर्भमा नै मृत्यु भएको थियो ।

आयशाको भिडियोबारे मनोवैज्ञानिक डा. प्रशान्त भिमानीले भने, ‘आयशा भिडियोमा जसरी बोलिरहेकी छन् त्यसले एउटा भ्रामक शान्तिको संकेत दिन्छ । यो आगो निभ्नु अघि आगोको ज्वाला जस्तै हो । साधारणतया जो मानिसहरु आत्महत्या गर्छन् उनीहरु एक प्रकारको अर्धचेतनाको अवस्थामा हुन्छन् । यस्तो लाग्छ कि उनीहरु यो संसार छोडेर जाँदैछन् र उनीहरुले दुःखबाट मुक्ति मिल्नेछ ।’

डा. भिमानीका अनुसार यस्तो व्यवहार ती व्यक्तिमा देखिन्छ जो आत्महत्या गर्नेबारे सोच्न थाल्छन्, आयशा निश्चित रुपमा डिप्रेशनमा थिइन् ।

आरिफ

दाइजोको माग र घरेलु हिंसाः

आयशाकी आमा हरमित बीबीले भनिन्, ‘आरिफले विवाह गर्ने बेला मेरी छोरीलाई थप पढाउने र जागिर पनि खान दिने बताएका थिए । हामीलाई लाग्यो कि केटा पढे लेखेको छ, त्यसैले हामीले उनको कुरा विश्वास गर्यौं । उसको परिवारको हैसियत हाम्रो स्तरभन्दा बढी थियो, हामीले आयशाको विवाहमा ऋण लिएका थियौं ।’

आयशाका परिवारका सदस्यका अनुसार विवाहमा दाइजोको रुपमा आरिफको परिवारले तीन तोला सुन र एक किलो चाँदी दिएका थिए । त्यसबाहेक आयशालाई धेरै कपडा र अन्य सामान पनि दियौँ ।’

आयशाकी आमाले भनिन्, ‘आयशाको विवाह पछि हामीमाथि ऋण थपियो । त्यसैले कान्छो छोरा अरमानले पनि पढाई छोड्नुपर्यो । उनले एक नीजि बैंकमा लोन एजेन्टको रुपमा काम गर्न थाले । हामीले बिस्तारै ऋण चुक्ता गरिरहेका थियौं ।’

लियाकत मरकानी भन्छन्, ‘सुरुमा यी दुईको विवाह राम्रोसँग चलेको थियो । त्यसपछि आरिफको अनुरोधमा आयशाले एमएको पढाई छोडिन् । त्यतिबेला उनी गर्भवती थिइन् र त्यसपछि उनको दुःख सुरु भयो ।’

आयशाको परिवारले लगाएको आरोप अनुसार उनकी सासू सायरा बानू र नन्द खुशबूले आयशाको गहना लिए र उनलाई प्रताडित गर्न सुरु गरे । साथै उनीहरुले गर्भवती आयशालाई पेटभरी खाना पनि खान नदिएको आरोप लगाएका छन् ।

यो मामिलामा २१ अगस्ट, २०२० मा वातवा प्रहरी स्टेशनमा पनि एउटा ऊजुरी दर्ता छ ।

प्रहरी ऊजुरीका अनुसार आरिफ खान, उनका पिता बानू खान गफूर खान, उनकी आमा सायरा बानू र बहिनी खुशबू खानलाई आरोपी बनाइएको छ ।

यसबाहेक अहमदाबादको घीकांटा मेट्रोपोलिटन अदालतमा पनि घरेलू हिंसाको मुद्दा दर्ता गरिएको छ ।

आयशाकी आमाले भनिन्, ‘आयशाको विवाह बचाउनका लागि मेरा श्रीमान् र दुई छोरा दिनरात काम गर्दथ्यौं । यो देखेर पनि आयशा दुःखी थिइन् । आयशा अबेर रातीसम्म आरिफसँग फोनमा कुरा गर्ने गर्थिन् । उनी आरिफलाई मेसेज पनि पठाउँथिन् । आरिफ आयशाको कुरामा कमै सहमत हुन्थे । आरिफ आयशासँग झगडा गर्दथे ।’

आरिफ

१० लाख भारु मागः

आयशाका पिता लियाकत मकरानीका आरोप अनुसार आरिफ र उनका परिवारले १० लाख भारु मागेका थिए । उनले भने, ‘जब आयशा गर्भवती भइन् तब उनका सासु ससुराले १० लाख भारु दाइजो ल्याउन भने । मैले उनीहरुलाई हामीसँग १० लाख भारु छैन भन्दा उनीहरुले आयशालाई हाम्रो घरमा छोडेर गएका थिए ।’

‘उनीहरुले मलाई र छोरीलाई गाली गरे । जब आयशाले उनलाई रोक्ने कोसिस गरे तब आरिफले रिसमा आयशाको पेटको लात्ती हाने । राजस्थान जानु अघि उनले १० लाख रुपैयाँको प्रबन्ध मिलेपछि छोरीलाई फिर्ता पठाउ भने ।’

आयशाकी आमा हरमत बीबीले आरोप लगाउँदै भनिन्, ‘आरिफको लात लागेपछि उनको पेटमा असाध्यै दुख्यो । हामीले उनलाई अस्पताल पुर्यायौँ । डाक्टरले हामीलाई चोटका कारण गर्भमा नै शिशुको मृत्यु भएको जानकारी दिए । हामीले गर्भपतन गराउनुपर्यो ।’

‘आफन्तको मद्दतले कुरा मिल्यो । हामीले आरिफलाई आफ्नो बाध्यता बतायौं र आयशालाई उनीहरु कोमा पठायौं । ’

आयशाका परिवारले आरिफको परिवारलाई त्यतिबेला डेढ लाख भारु पनि दिए ।

लियाकत मकरानी भन्छन्, ‘हामीलाई लाग्यो कि प्रहरीको डरले उनीहरुले मेरी छोरीलाई कम प्रताडित गर्नेछन्, तर प्रहरीमा ऊजुरी दिएपछि आरिफ थप रिसायो । आरिफको परिवारले पुनः पैसा माग्न थाले । हामीले छोरीको विवाह बचाउनका लागि मैले डेढ लाख रुपैयाँ उधारो लिएँ र सासु सुसरालाई दियौं ।’

‘यद्यपि, कोरोना संक्रमण र अन्य कारण बताउँदै आरिफले आयशालाई राजस्थान लैजान अस्विकार गरिरहे । उनले हामीलाई प्रहरीमा ऊजुरी फिर्ता लिन पनि धम्काए । आयशाले यो सबै सहन सकिरहेकी थिइनन् । उनी लगातार रोइरहन्थिन् ।’

राती झगडा र बिहान आत्महत्याः

आफ्ना पिता र भाइलाई समस्यामा देखेर आयशाले पछिल्लो तीन महिनादेखि नीजि बैंकमा काम गर्न सुरु गरेका थिए । उनी हरेक दिन बिहान साढे ९ बजे बैंक पुग्थिन् । यसका लागि उनी घरबाट चाँडै नै निस्किन्थिन् ।

हरमत बीबीका अनुसार आत्महत्याको ठिक अघि अर्थात् २५ फेब्रअुरी राती उनको आरिफसँग झगडा भएको थियो ।

हरमत बीबीले भनिन्, ‘मैले उसले ‘हो, तिमी मर्नु अघि म मर्नेछु । म तिम्रो इच्छा अनुसार भिडियो रेकर्ड गर्नेछु र तिमीलाई पठाउनेछु । भोलि बिहान प्रतीक्षा गर ।’ भनेको सुनेकी थिएँ । ’

आयशा र आरिफबीच २५ फेब्रुअरी राती झगडा भएको थियो । हरमत बीबीले यसबारे २६ फेब्रअुरी बिहान श्रीमान्‌लाई बताइन् ।

लियाकत मकरानीले भने, ‘मेरी श्रीमतीले मलाई आयशाले राती मर्नेबारे कुरा गरिरहेको बताएकी थिइन् । मैले तुरुन्त आयशालाई फोन गरेँ । आत्महत्या अघि अन्तिम पटक कुरा गर्ने बेला उनले रुँदै ‘अब म कसैको पनि मन दुखाउन चाहन्नँ । मेरो जीवनको कुनै अर्थ छैन । त्यसैले अहमदाबाद रिभर फ्रन्टमा हाम फालेर आत्महत्या गर्दैछु’ भन्न थालिन् ।’

‘आयशा निकै भावुक थिइन् त्यसैले मैले उनलाई ‘तिमीले आत्महत्या गरे पूरा परिवार आत्महत्या गर्नेछ, तुरुन्त रिक्सा लिएर घर आउन’ । त्यतिबेला उनले ‘म नदीमा हाम फाल्दै छु । यदि बाँचे भने घर लैजानु, मरे भने गाडिदिनु’ भनिन् । ’

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप