शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व बैंकको १२ वटा नगरपालिकासँग शसर्त अनुदान सम्झौता

बिहीबार, २० फागुन २०७७, १९ : २३
बिहीबार, २० फागुन २०७७

काठमाडौं । नेपाल सहरी शासकीय र पूर्वाधार आयोजनाले शहरी पूर्वाधार निर्माण र शहरी शासकीय क्षमता विस्तारका लागि विभिन्न १२ वटा नगरपालिकासँग शसर्त अनुदान सम्झौता गरेको छ । बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा विहिबार आयोजित कार्यक्रममा संघीय सरकारको तर्फबाट शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल र स्थानीय सरकारको तर्फबाट नगर प्रमुखहरुले अनुदान सम्झौतामा हस्ताक्षर गरेका हुन् । बिश्व बैंकको साढे १७ अर्ब रुपैया ऋण सहयोगमा सञ्चालनमा आएको नेपाल सहरी शासकीय र पूर्वाधार आयोजनाले मुलुकभरका विभिन्न ३३ नगरपालिकालाई सहयोग गर्ने कार्यक्रम अनुसार विहिबार १२ वटा नगरपालिका प्रमुखसँग हस्ताक्षर भएको हो ।

फिदिम, गोलबजार, हरिवन,सन्धिखर्क, अमरगढी, लम्कीचुहा, भीमेश्वर, पूर्व सुस्ता कावासोती, भेरी, मुसीकोट पश्चिम रुकुम, फलेवास र लमही नगरपालिकासँग अनुदान सम्झौता भएको हो । बाँकी नगरपालिकासँग शुक्रबार सम्झौता गरिने आयोजनाले जनाएको छ । दिगो शहरी विकासलाई प्रबद्र्धन गर्दै नेपालका रणनैतिक माध्यमिक शहरहरुमा कोभिड १९ पछिको आर्थिक पुनर्लाभलाई सहयोग पुर्याउने उद्देश्यसहित आयोजनाले २९ नगरपालिकालाई सशर्त अनुदान र थप चारवटा नगरपालिकालाई क्षमता अभिवृद्धिमा सहयोग पुर्याउनेछ ।

आयोजना प्रमुख परीक्षित कडरियाले आयोजनालाई प्राप्त रकम स्थानिय तहलाई सशर्त अनुदानका रुपमा दिइने बताइन् । शसर्त अनुदानका लागि नगरपालिका चयन गर्दा भारतीय सिमामा रहेका, पूर्वपश्चिम  र उत्तरदक्षिण राजमार्गमा पर्ने शहर तथा कोभिड १९ बाट बढी प्रभावित लाई मुख्य आधार बनाइएको पनि उनले बताइन् ।

यस आयोजना अन्तर्गत सञ्चालित कार्यक्रमले ४ वर्षभित्र नेपालका रणनैतिक माध्यमिक शहरहरुमा सेवा प्रवाह र संरचनागत क्षमताको अभिवृद्धि गर्दै श्रम–सघन सार्वजनिक कार्यहरु मार्फत कोभिड १९ पछिको आर्थिक पुनर्लाभलाई गति दिने लक्ष्य राखिएको छ । नेपालको संघीयता कार्यान्वयनपछि संघीय सरकारले व्यवस्थापन र स्थानीय सरकारले कार्यान्वयन गर्ने गरि विश्व बैंकले लगानी गरेको यो पहिलो आयोजना हो । यो आयोजनाले संघीयताको सुदृढीकरण र लक्षित नगरपालिकाहरूको क्षमता अभिवृद्धिका नतिजाहरु स्थानीय जनताको हितका लागि सुनिश्चित गर्ने विश्वास गरिएको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप