बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवको प्रशंसा गर्दै प्रम ओलीको प्रचण्ड–माधवमाथि हमला

शुक्रबार, २१ फागुन २०७७, १६ : ५७
शुक्रबार, २१ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताएका छन् ।  उनले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताए ।

सञ्चारमाध्यममा रातारात विप्लव समूहसँग वार्ता गरेर सहमति भएको समाचार आएको भन्दै प्रधानमन्त्रीले त्यसो नभएर लामो छलफलपछि अहिलेको सहमतिमा आइपुगेको उनको भनाइ छ ।  सहमतिपत्रमा हस्ताक्षरका लागि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले भने, ‘हामीले नगरा बजाएर वार्ता गरेनौं । वार्ताझैँ गर्यौं । जस्तो वार्ता हुन्छ त्यसैगरी गम्भीरताका साथ वार्ता गर्यौं ।’ उनले विप्लव र आफूबीच झण्डै १० वर्षदेखि नै विश्वासको वातावरण रहेको र त्यसैको जगमा अहिलेको सहमति भएको समेत भन्न भ्याए ।

धेरै कुरा, धेरै विषयको एउटै निष्कर्षका रुपमा आफूहरुले ‘कुनै समस्या आए छलफल र वार्ताबाटै टुंग्याउछौँ,’ भनेर सहमतिको एउटा बुँदामा उल्लेख गरेको उनले बताए ।  आफूले ८/१० वर्ष अघि विप्लवसँग गम्भीर कुरा गरेको र त्यो बेला केही घण्टासम्म दुई जनाबीच कुरा भएको पनि प्रधानमन्त्री ओलीले खुलासा गरे । त्यो बेलादेखि नै एक अर्कामाथि विश्वास बढेको उनले बताए ।

‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवजी, म उहाँलाई बधाई भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु  । उहाँले जुन साहसिक कदम चाल्नु  भएको छ, राज्यको तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु  ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिका तीन बुँदा नै मुलुकका लागि काफी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो सहमतिपत्रमा तीन बुँदा छ, त्यो नै काफी छ, १८ पुराणमा व्यासले जम्मा दुईवटा कुरा गरे ।’

गत वर्ष सरकारले पृथकतावादी आन्दोलनमा हिँडेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मुल धारमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यही राष्ट्रिय राजनीतिको मूल धारमा आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि आएको प्रस्ट पारे । उनले आफूहरु एउटै उद्देश्यमा रहेको पनि बताए । ‘समृद्ध नेपाल सुखी नेपाली,’ उनले भने, ‘हाम्रो साझा उद्देश्य हो ।’

ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई शान्तिपूर्ण राजनीतिमा पौडी खेल्न आउने बताए । ओलीले भने, ‘यस खुला परिवेशमा र शान्तिपूर्ण राजनीतिमा , राष्ट्रिय राजनीतिको मूलधारमा उहाँलाई स्वागत गर्न चाहन्छु । मलाई विश्वास छ यस राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ । उहाँ यसमा पौडी खेलेर सफलताका साथ अगाडि बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु,  यसमा उहाँलाई सफलताको हार्दिक शुभकामना भन्न चाहन्छु ।’

धर्मेन्द्रतिर हेर्दै ओलीले भने– यति थोरै जेलमा बस्न पाए पो, आफू त १४ वर्ष बसियो

ओलीले विप्लव नेतृत्वका नेता धर्मेन्द्र बास्तोलालाई भर्खरै जेलबाट छुटेर आएकोमा बधाई दिए । समारोहको मञ्चमा आसिन व्यक्तिहरुलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले धर्मेन्द्र बाँस्तोलाको नाम लिनासाथ ‘बधाई छ भर्खरै छुटेर आउनु भयो’ भनेका थिए । उनले अगाडि भने, ‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफू त १४ वर्ष...।’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीका अर्का नेता तथा सो पार्टीका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माको नाम लिएर पनि हँसाएका थिए । उनले सम्बोधनका क्रममा भनेका थिए, ‘... खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड हो क्यार नाम ।’

प्रचण्ड–माधवप्रति लक्षित गर्दै ओलीले भने– उहाँहरुलाई देखेर अचम्म लाग्छ पनि लाग्दैन पनि

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षले देशलाई वर्वाद पार्न खोजेपनि उनीहरुको योजना सफल हुन नदिने बताएका छन् ।  ओलीले आफु नेकपा संसदीय दलको नेता यता रहेको तर उता दलको बैठक राखेर तमासा देखाएको बताएका हुन् । ‘संसदीय दलको बैठक गर्दैछन् भन्ने सुनको छु । कुन दलको हो थाहा छैन । दलको नेता म यहाँ छु  । यति साह्रो नग्नताको हद ?’ ओलीले भने, ‘आफ्नो प्रधानमन्त्री हटाएर किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न भनेर अन्त जाने ?’

उनले प्रचण्ड माधवको नाम उच्चारण नगरि केही मान्छेहरु देशलाई वर्वाद पार्न तर्फ लागेको बताएका हुन् ।

‘केही मान्छेहरु देशलाई बर्बाद नै पार्न खोज्दैछन् । म यहाँ छु संसदीय दलको बैठक गर्न खोज्दैछन् । उहाँहरु मरिमेटेर लाग्नुभएको छ’, ओलीले भने, ‘उहाँहरुलाई देखेर अचम्म लाग्छ पनि लाग्दैन पनि । ’ प्रधानमन्त्री ओलीले आफ्नो दुई तिहाई भत्काएर प्रचण्ड नेपाल पक्ष अर्को व्यक्तिलाई प्रधानमन्त्री भइदेउ भन्दै गुहार्न थालेको बताए ।

‘आफ्नो पार्टी भाँड्ने, फुटाउने अनि अन्त प्रधानमन्त्री खाइदिनुस् भनेर जाने रु नेतृत्व गर्न छोड्ने अनि अन्तै गरिदिनुस् भनेर जाने मैले पढेको मार्क्सवादमा यो पर्दैन’ ओलीको भनाई छ । उनले  यस्ता तमासा भएपनि यस देशमा हाम्रो पार्टी पनि छ भन्ने सोच्न नेताहरुलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप