ad
केन्द्रीय संस्करण

सुखानी हत्याकाण्ड र मैले हेरेको दृश्य

person explore access_timeफागुन २१, २०७७ chat_bubble_outline0

झापा विद्रोहका कारण त्यहाँका मान्छेहरू आकुलव्याकुल भएका थिए । त्यस विद्रोहबाट खास गरेर शोषक, फटाहा र सामन्त मनोभाव भएका मान्छेहरूको सातोपुत्लो गएको बुझिन्थ्यो । झापा विद्रोहका अर्का नायक शिवप्रसाद शिवाकोटीहरू त्यस बेलासम्ममा नक्सलाइट कम्युनिस्टको शीर्षकमा कहलिन थालिसकेका थिए । त्यसै फेरोमा झापा क्रान्तिका मुख्य नायक मानिएका रामनाथ दाहाल पनि पक्राउ परेका थिए । उनी बुटन चौधरी मारिएको चार महिनापछि समातिएका थिए । अथवा भनौँ, उनी २०२९ साल मङ्सिर २८ गते उनकै घर छेउमा पक्राउ परेका थिए । तीन महिनासम्म उनलाई पिट्दै रगत छदाउँदै र अस्पताल लगेर उपचार गर्दै र फेरि पिट्दै, रगत छदाउँदै गरेर पुलिस प्रशासनले जेलमा राखेका थिए ।

राजा महेन्द्रको निधनपछि राजा वीरेन्द्रलाई नवचाकरीदारहरूले खेलाउन थालेको बुझिन्थ्यो । त्यसैले त्यस कालमा नेपालमा न्याय र अन्यायबारे अप्ठ्यारो अवस्थाको सिर्जना हुन थालेको थियो । राजनैतिक कुराहरू वार्ताबाट समाधान हुनुपर्ने या जनताको पीरमर्का बुझेर प्रशासनले न्याय दिने सक्ने भन्ने कुराले त्यति अर्थ राख्न सकिरहेको थिएन । राजा वीरेन्द्रको शासनकालमा जन हत्यामा क्रमशः बढोत्तरी हुने कारण नै राजाका चाकरीदार र कर्मचारीहरूको हावी नै प्रमुख तत्व मानिन्थ्यो । त्यसैले झापामा त्यति ठूलो डँडेलो लाग्दा पनि सरकारी पक्षबाट त्यतिसारो चासो देखाएको पाइदैन थियो । भनौँ झापा क्रान्तिका नायक रामनाथ दाहालदेखि झापा विद्रोहका अर्का नायक शिवप्रसाद शिवाकोटीसम्मको वार्तामा आएर मध्यस्थता गर्ने सरकारका तर्फबाट जिल्ला, अञ्चल र केन्द्रबाट कुनै मान्छे देखा परेका थिएनन् । अनि क्रमशः देशमा दुःखद घटनाहरू पनि दोहोरिरहेका थिए ।  

२०२९ साल फागुन २० गतेको कुरा हो- झापा जेलबाट इलाम जेल सार्ने बहानामा शनिश्चरे बजारको बाटोबाट बेलुका ४ बजेतिर रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई पुलिसले डोर्याएर लगिरहेका थिए । त्यस बेला उनीहरूका हात फलामका ठूलाठूला चुराले बाँधिएका थिए । पाराखोपीको पुलबाट म घर फर्कंदै गरेको अवस्थामा मैले अपर्झट त्यो दृश्य देखेको थिएँ ।

त्यसै घडी रामनाथ दाइका आँखामा मेरा आँखा जुद्न गएका थिए । त्यस बखत हामी एकअर्कालाई केही सेकेन्ड टुलुटुलु हेरिरहेका थियौँ । नातामा रामनाथ दाइ मेरी सानिमाका छोरा र शिव दाइ ठूलीमाका छोरा हुन् । तर मेरा नेताचाहिँ शिव दाइ नै थिए । उनकै निर्देशनमा खड्ग दाहाल र मैले सुरुका दिनमा पुलिससँग युद्ध गर्नु परेको थियो । त्यस युद्धलाई शिव दाइले चक्मकको झिल्को भनेका थिए । त्यस झिल्काले झापामा ठूलै डँडेलो लगाएको थियो र अन्ततः त्यही आगोे सुखानीमा पुगेर निभेको थियो ।  

कुरा के हो भने-
फागुन २१ गते बिहानै हामीले थाहा पाएका थियौँ-  रामनाथ दाहालहरूलाई सुखानी जङ्गलमा पुर्याएर गोली ठोकेर मारिएको रहेछ । भनौँ २०२९ साल फागुन २१ गते बिहानको सूर्योदयसँगै मेरा दाजु रामनाथ दाहाललाई इलाम जाने मूल बाटैको सुखानीको जङ्गलमा गोली हानेर मारिएको थियो । त्यतिखेर मैले त्यो दृश्य पनि सुखानीमा नै पुगेर हेरेको थिएँ । त्यतिखेर म सुखानी पुग्नुपर्ने कारण के थियो भने- मेरा दाजु विष्णुभक्त प्रसाईको झापाको शनिश्चरेमा हाङपाङ फोटो स्टुडियो थियो । त्यतिबेला मेची अञ्चलाधीश छिरिङतेञ्जङ लामा थिए । मेची अञ्चलका एसपी पद्मबहादुर मानन्धरचाहिँ सरासर हाम्रो घरमा आए । अनि मेरा दाजुलाई क्यामरासहित सोही जिपमा बस्ने उनको आग्रह भयो । अनि म पनि दाजु बसेको मोटरको पछाडि झुन्डिएर सुखानी पुगेको थिएँ । सुखानी पुगेपछि मैले अकल्पनीय र हृदय विदारक दृश्य देखेँ र मन थाम्न नसकेर म त्यहीँ रोएको थिएँ ।
 
हामी सुखानी पुग्नुअघि घटनास्थलमा मान्छेलाई हिँड्न पुलिसले प्रतिबन्ध लगाएको रहेछ । त्यस ठाउँमा झन्डै पन्ध्र जनाजति प्रहरी उभिएका देखिन्थे । तर घटनास्थल वारि र पारि मान्छेको कुँडुलो थियो । एकातिर त्यो इलाम झापाको मूलबाटो थियो र अर्कातिर पाँच जनालाई गोली ठोकेर मारेको समाचारले त्यो क्षेत्रमा कोलाहल मच्चिसकेको थियो । घटनास्थल पुगेपछि एसपीको मोटरबाट हामी सबै ओर्लियौँ । त्यति बेला एउटा प्रहरी आएर एसपी पद्मबहादुरसमक्ष सलाम हान्दै बोलेको थियो— ‘रामनाथ माओत्सेतुङ भनेर जोडले करायो, अरूले जिन्दाबाद भने ।’ अनि एसपी मानन्धरले त्यसै बेला कड्केर पुलिसलाई भनेका थिए— ‘नबोल्, चुप लाग् १’ हामी सुखानी पुगेको केही बेरमा नै इलामबाट पनि प्रहरीको एउटा जिप त्यहीँ आएर अडिएको थियो । त्यस जिपमा प्रहरी निरीक्षक त्रैलोक्यनाथ वली र जिपभरि प्रहरीहरू थिए ।  

केही समयपछि त्यहाँ बाटो हिँड्नेका लागि निषेध हटाइएको थियो । अनि त्यो कहालीलाग्दो ठाउँमा मान्छेहरूको भीड बढ्ने क्रम जारी भयो । रामनाथ दाइ इलाम जाने मोटरको बाटैको कापमा रगतको आहालमा उत्तानो परेर सुतिरहेका थिए । त्यहाँ मारिएका अरू क्रान्तिकारीहरुको मृत शरीर पनि त्यस्तै बीभत्स, दर्दनाक र हेरि नसक्नुको थियो । त्यो ठाउँ कतै रगतको दह, रक्ताम्मे र रगतकै टाटैटाटाले ढाकिएको थियो ।
 
रामनाथ दाइका कम्मरमा चाहिँ झन्डै २० फुटको लामो डोरीले बाँधिएको थियो । अरूहरूका पनि कसैका खुट्टा, कसैका कम्मरमा त्यस्तै लामा लामा डोरी बाँधिएको थिए । तर सबैका हातमा हतकडी नै पनि छँदै थिए ।
 
रामनाथ दाइका छातीमा गोलीका तीनवटा ठूलाठूला दुला परेका थिए । उनलाई गोली हान्दा उनी यताउति दौडिएका थिए, सायद १ किनभने उनी ढलेको वरिपरिका रूखबिरुवाका बुटा सोत्तरझैँ माडिएका थिए । सबै क्रान्तिकारीहरूलाई एकअर्का विद्रोही बाँधिएको आठदेखि दस फुटसम्मको हाराहारीमा बाँधिएको थियो । उनीहरू बाँधिएका वरिपरि सबैतिरका बुटा र झारहरू माडिएका थिए । त्यहाँ कसैका टाउकामा गोली हानिएको थियो, कसैका भुँडीमा र कसैको गुप्ताङ्गमा नै गोली लागेको थियो । कृष्ण कुइँकेलको टाउकाको खबटा उछिट्टिएर नौदस फुटजति उनीभन्दा पर देखिन्थ्यो । एक जनाको भुँडी फोरिएर छ्यालब्याल भएको थियो । मैले त्यहाँ रामनाथ दाइ, कृष्ण कुइँकेल र नेत्र घिमिरेलाई मात्र चिनेको थिएँ । घिमिरे चाहिँ झाडीको बुटोकै फेदमा ढलेका थिए । अनि त्यतिखेर उनलाई देखाउँदै एउटा पुलिस हाँस्तै बोलेको थियो— ‘यस मान्छेको त परिवार नियोजन नै भयो नि १’ घिमिरेका छाती र गुप्ताङ्गमा गोलीका डाम देखिन्थे । 
 
त्यस घडीको त्यो दृश्य हेरेर रुँदै म त्यस साँझ घर फ​र्केको थिएँ । अनि सुखानीको सबै बेलिविस्तार मैले मेरी आमालाई सुनाएको थिएँ । त्यतिखेर मैले मेरी आमालाई पनि म सँगसँगै रुवाएको थिएँ । सुखानीको त्यो रक्त कुण्डको डरलाग्दो इतिहास त्यसै दिन मैले मेरो डायरीमा पनि कोरेको थिएँ । -प्रकाशोन्मुख पुस्तक शिवप्रसाद शिवाकोटी झापा विद्रोहका एक कमान्डरबाट 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.