शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशको राजधानीमा भौतिक संरचना निर्माणको काम अझै शून्यमै

आइतबार, २३ फागुन २०७७, ११ : २३
आइतबार, २३ फागुन २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशसभाले गोदावरी नगरपालिकाको २ र ४ नम्बर वडामा पर्ने तेघरीमा प्रदेशको स्थायी राजधानी स्थापना गर्ने निर्णय गरेको दुई वर्षभन्दा बढी समय बितिसकेको छ । २०७५ असोज १२ गते प्रदेशसभा बैठकले स्थायी राजधानीको टुङ्गो लगाएको हो ।

प्रदेश राजधानीका लागि प्रशासनिक भवन निर्माण गर्न ४ सय बिगाहा जग्गा छुट्याइएको छ । तर सो जग्गा छुट्याइएको दुई वर्ष बितिसक्दासमेत त्यहाँ कुनै भौतिक संरचना निर्माणको काम सुरु हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेश राजधानी पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले सम्भाव्यता अध्ययन प्रतिवेदन प्राप्त भई अध्ययन प्रकृया अघि बढाएको जानकारी दिए । सो प्रतिवेदन स्वीकृत भइसकेपछि संरचना निर्माणको कामले गति लिने उनको भनाइ छ ।

‘हाम्रो तर्फबाट ढिलासुस्ती भएको छैन, सो क्षेत्रमा राष्ट्रिय वन भएका कारण जग्गा प्राप्तिका लागि विभिन्न चरणमा अध्ययन गर्नुपर्ने भएकाले समय लागेको हो,’ उनले भने, ‘डिपीआर तयार हुँदैछ, टेण्डर खोलेर काम सुरु गर्न अझै ६ महिनाजति लाग्न सक्छ ।’

उनले भौतिक संरचनाको पूर्वाधार निर्माणमा ५० बिगाहा जग्गा आवश्यक पर्ने बताए । वातावरणमा प्रभाव पर्ने किसिमले धेरै रुख पनि नकाटिने र हरियाली जंगलभित्रको शहरका रुपमा राजधानी निर्माणको काम अघि बढाउने सरकारको अवधारणा रहेको उनको भनाइ छ ।

तर प्रदेशसभा सदस्य एवं नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले राजधानी निर्माणमा ढिलासुस्ती भएको स्वीकार गरे । ‘दुई वर्ष बितिसक्दा केही न केही उपलब्धी हुनुपर्ने हो,’ उनले प्रश्न गरे, ‘जग्गाको भोगाधिकारको, डिपिआर तयार भएको छ कि छैन ? भएको भए छलफलमा किन नआएको ?’

प्रदेशको राजधानी बनाउने विषयमा केन्द्र सरकारले चासो नदेखाएको उनको भनाइ छ । ‘केन्द्र सरकार इमानदार भइदिएको भए प्रदेश राजधानीका लागि छुट्याएको बजेट पठाउनुपर्ने हो,’ उनले भने, ‘संघीयता लाई बलियो बनाउने आधार नै प्रदेश सरकार भएकाले प्रदेशको राजधानी निर्माणको कामलाई जसरी गति दिनु पर्दथ्यो, त्यो हुन सकेको छैन ।’

प्रदेश सरकार कानमा तेल हालेर बसेको छ : मेयर साउद

गोदावरी नगरपालिकाका प्रमुख हरसिंह साउद भने प्रदेश सरकार नै कानमा तेल हालेर बसेका कारण राजधानी निर्माणका लागि ढिला भइरहेको बताउँछन् । उनले भने, ‘राजधानीको विषयमा प्रदेश सरकारको चासो र चिन्ता हुनुपर्ने हो, तर सरकार कानमा तेल हालेर बसेको छ ।’

आफ्नो पालिकामा राजधानी बनाउने निर्णय भइसकेका कारण आफूहरुले यसका लागि पहल र चासो राख्दै आएको उनले बताए । ‘राजधानी गोदावरीमै बन्छ, डिपिआर ४ देखि ७ करोडको बीचमा तयार हुँदैछ,’ उनले भने, ‘काममा छिटो छरितोका लागि मुख्यमन्त्रीले नै बढी सक्रियता देखाउनुपर्ने खाँचो छ ।’

उनले जग्गा भोगाधिकारको समस्या नै नरहेको दावी गरे । उनले भने, ‘राष्ट्रिय वन पनि राज्यकै स्वामित्वमा छ, प्रदेशसभाले जहाँ राजधानी बनाउने भनेर निर्णय गरेको छ, त्यहाँ जग्गा भोगाधिकारको समस्या नै छैन । त्यो त राज्यले नै उपलब्ध गराउने कुरा हो ।’

उनले राजधानी बनाउनका लागि जथाभावी रुख नकाटिने दावीसमेत गरे । ‘जहाँ आवश्यक हुन्छ, त्यता रुख काटिने हो । आवश्यक नभएको ठाउँका रुखहरू काटिनेछैन,’ उनले भने ।

स्थानीयवासी अन्योलमा

स्थानीयवासी भने कतै राजनीतिक चलखेलका कारण राजधानीका लागि भौतिक संरचना नबनेको पो हो कि भन्ने आशंका गर्दछन् ।

गोदावरी नगरपालिका–२ का स्थानीय किसन साउद भने राजधानीको टुङ्गो लागेको दुई वर्ष बितिसक्दा पनि भौतिक पूर्वाधार निर्माण हुन नसक्नु दुःखद् पक्ष भएको बताउँछन् । ‘राजनीतिक चलखेल पो भइरहेको छ कि,’ उनले भने, ‘नभए यतिका समयसम्म भवन निर्माण कार्य अघि बढिसक्नुपर्ने हो ।’

केहीले बहुमूल्य रुख काटिने, वातावरणमा प्रभाव पर्ने भन्दै राजधानी निर्माणमा अवरोध गरिरहेको उनको भनाइ छ । ‘अहिले राजधानी स्थापना हुन नदिने तत्वहरु पनि विभिन्न अफवाह फैलाउँदै छन्,’ उनले भने, ‘जंगल मासिन्छ, राष्ट्रको सम्पत्ति नोक्सान हुने भयो भन्ने कुराहरु गर्दै हिँडेका छन् तर राजधानी बनाउने स्थानमा साल र सिसौका बुटा छँदै छैन । काम नलाग्ने काठमात्र छन् ।’ पहाड जाने प्रवेशद्वारको रुपमा रहेको यो क्षेत्रमा राजधानी स्थापना भए सुदुरपश्चिम प्रदेशका सबै जिल्लावासी लाभान्वित हुने उनको भनाइ छ ।

अर्का स्थानीयवासी लक्ष्मीनारायण जोशी राजधानीका लागि आवश्यक भौतिक संरचना छिटो निर्माण हुनुपर्ने बताउँछन् । उनले भने, ‘यहाँ राजधानी स्थापना गर्ने निर्णय सबै खुशी थियौं तर यतिका समयसम्म पनि राजधानी स्थापना हुने क्षेत्रमा कुनै काम नै सुरु नभएकाले शंका उत्पन्न भएको छ ।’

जग्गा नापजाँच भइसकेको, सो क्षेत्रमा सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटर समेत बसिसकेको उल्लेख गर्दै उनले भने, ‘तर पनि राजधानी निर्माण प्रकृयाको काम देखिने गरी सुरु हुन सकेको छैन । यसले स्थानीयवासीमा विभिन्न आशंका उब्जाएको छ ।’

अर्का स्थानीयवासी तुलबहादुर ओली पनि सरकारको ढिला सुस्तीप्रति आश्चर्य प्रकट गर्दछन् । ‘फिल्डमा गएर हेर्ने हो भने राजधानी निर्माणको प्रक्रिया सुरु नै नभएको देखिन्छ,’ उनले भने, ‘निर्णय भएको यतिका समयसम्म पनि देखिने गरी कुनै काम हुन नसक्नु अनौठो विषय हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप