शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गौर घटनालाई पुनः ब्युँताइँदै, पीडित परिवारले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

आइतबार, २३ फागुन २०७७, १२ : ४९
आइतबार, २३ फागुन २०७७

काठमाडौं । १४ वर्ष पुरानो गौर घटना पुनः चर्चामा ल्याइएको छ । २०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालिन मधेशी जनअधिकार फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो ।  तर त्यो घटनाको बारेमा छानविन भएपनि दोषीमाथि अझै कारवाही नभएको अवस्थामा मृतकका परिवारले फेरि सक्रियता देखाएका हुन् । 

सोही क्रममा मृतकका परिवारले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर दोषीलाई कारवाही गर्न माग गरेका हुन् । ‘गौर हत्याकाण्ड संघर्ष समिति’को तर्फबाट शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्रसहित दोषीमाथि कारबाहीको माग गरिएको संघर्ष समितिका सदस्य मनोज यादवले जानकारी दिए । 

छानविन समितिले गौर घटनालाई जघन्य अपराध भनेपनि हालसम्म दोषीमाथि किन कारवाही भएन भनि आफू पनि आश्चर्यमा परेको प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्ने क्रममा भनेको सदस्य यादवले बताए । दोषीलाई कारवाही गर्न प्रधानमन्त्री ओली गम्भीर रहेको बताउँदै उनले आफूहरुले बुझाएको ज्ञापनपत्रलाई अध्ययन गरी थप कारवाहीको प्रकृया अगाडि बढाउने आश्वासन दिएको उनको भनाइ छ । 

यो घटनाको दोषी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि मानिएको छ । उनको विरुद्धमा प्रहरीमा उजुरी समेत परेको छ । पछिल्लो राजनीतिक घटनाक्रमका बीच गौर घटनालाई ब्युँताउने प्रयास भएको कतिपयको भनाइ छ । 
व्यक्तिगत रिसईवी र राजनैतिक झडपको रुपमा नभइ सुनियोजित र षड्यन्त्रपूर्ण रुपले यो घटना गराइएको दावी गरिँदै आएको छ । 
उपेन्द्र यादव हाल जनता समाजवादी पार्टीका अध्यक्ष हुन् । घटनाको वास्तविक तथ्य पत्ता लगाउनका लागि गठन भएको छानविन आयोगले बुझाएको प्रतिवेदनले पनि घटनालाई राजनैतिक झडप नभइ जघन्य एवं अमानुषिक र अमानवीय अपराध गरेको निष्कर्ष निकालिए पनि अपराधीलाई कानुनको दायरामा नल्याएको गुनासो उनीहरुले गरेका छन् । सो घटनाको बारेमा २०६४ चैत २८ गते जाहेरी दर्ता भएपनि हालसम्म कसैलाई कारवाही नभएको ज्ञापनपत्रमा उल्लेख छ । 
दोषीलाई कानुन बमोजिम अविलम्ब कारवाही नगरे घटनालाई अन्तराष्ट्रिय न्यायालयमा प्रस्तुत गरी अन्तर्राष्ट्रियकरण लगायत राष्ट्रिय स्तर समेतमा विविध प्रकारका संघर्ष गर्ने चेतावनी दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप