ad
केन्द्रीय संस्करण

नेकपामा देखिएको विचलन र समाधान

person explore access_timeफागुन २३, २०७७ chat_bubble_outline0

-शेखर गौतम 

हिजो आज भालेको डाँकसँगै २, ४ जना बस्न मिल्ने चिया–पसलहरूमा एउटै कुराको बहस हुने गरेको छ । त्यो हो नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको विचलित मानसिकता र त्यसको समाधानको पाटो । कुरा जायजै पनि हो । यसमा दुई मत छैन । तर फरक मत भने पक्कै छ । विभिन्न खेमामा विभाजित उग्रहरूले ध्यान नदिए पनि बिखण्डनकारीले हल्ला गरिरहेकै छन्, ‘अहिले कम्युनिस्टको सिद्धान्त मरिसकेको छ । जरा सुकिसक्यो टुप्पो–हरियो जस्तो देखिएको मात्र हो ।” बेलाबेलामा म एक तमासले घोत्लिन्छु । के साँच्चै चिया पसलका बहस चिन्ताका बहस हुन् वा खुच्चिङका ? 

अहिलेको शक्तिशाली आईटी प्रविधि र खुला विश्व आर्थिक व्यवस्थाको असीमित अवसरको सिर्जना गरेको छ । नेताहरूलाई सामन्ती प्रवृत्तिको लालसाले निरङ्कुश र व्यक्तिवादी बनाएको छ । श्रमिकहरू विश्व अर्थतन्त्रको अवसरमा लागेका छन् । प्रविधिले उनीहरूका विरोधीलाई बलियो बनाएको छ । त्यसैले केहीको बुझाइमा अब कम्युनिस्ट आन्दोलन सम्भव छैन । भए पनि टिकाउ हुन सक्तैन । विश्वमा दुई शक्ति मात्र रहनेछन्, वैधानिक सरकार र प्रतिबन्धित समूह ।  यी दुईबीच मात्र द्वन्द्व हुन्छ । नेपालमा वैधानिक भनेको युगौँ पुरानो जग भएको राजतन्त्र नै हो । प्रतिबन्धित समूह महमा डुबेको माखो भएकाले अब उडान सम्भव छैन । 

४८ वर्ष पहिला विद्रोहमा संलग्न भएकै कारण इलामको माई नगरपालिकाको सुखानीमा झापा आन्दोलनका अगुवाहरूलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको थियो । ४८ वर्षअघि कम्युनिस्ट आन्दोलनका क्रममा पाँच जनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले परिचित रहेको छ । त्यस्तै २०३६ सालमा भएको धनकुटाको छिन्ताङ हत्याकाण्डमा तत्कालीन निरङ्कुश पञ्चायती सरकारले १६ जना कम्युनिस्ट कार्यकर्ताको निर्मम हत्या गरेको थियो । यिनै आन्दोलनको जग र सोचबाट नेपालमा कम्युनिस्ट आन्दोलनको उदय भएको हो । जसलाई पुष्पलालले संस्थागत गरे । सोही विचार र यही जगबाट उठेको नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न कालखण्डमा आफूलाई सम्हाल्दै प्रतिगामी शक्तिलाई धक्का मार्दै २०४६ र ०६२÷०६३ को महान् क्रान्तिद्वारा खुला समाजको आर्थिक समृद्धितर्फ अगाडि बढेको छ ।

सुखानीका पाँच सहिदलाई स्मरण गर्दै सरकारद्वारा नेकपा विप्लव पार्टीलाई हिंसात्मक आन्दोलनबाट शान्तिपूर्ण मूलधारमा ल्याएको सुनौलो घडी पनि हो यो । नेपाली राजनीतिमा हरेक दशकमा यस्ता खालका सशस्त्र द्वन्द्व र क्रान्ति नभएका होइनन् । हिजो झापा विद्रोह, जन आन्दोलनका कमान्डरहरू अहिले पनि राजनीतिको मूल नेतृत्वमै छन् । राजनीतिक यात्रा एकै ठाउँ र एउटै मोर्चाबाट गर्दै निष्कर्षमा पुगे पनि फुट र जुटको कालखण्ड पार गरी धेरै ध्रुवमा बाँढिएका छन् । यो कुनै पनि दृष्टिकोणबाट कम्युनिस्ट आन्दोलन विशेषगरी समाजवादी आन्दोलनमा अगाडि बढेका विकासोन्मुख देशको निम्ति अभिशाप नै हो ।

म मार्क्सवादी नै हुँ । तर एउटा छ, ब्रह्माजीले मरीची, अत्रि, अङ्गिरा, पुलस्त्य, पुलह, क्रतु र दक्षजस्ता मानसपुत्र पैदा गरेको प्रसङ्ग महाभारतमा पाइन्छ । नेपालमा पनि विदेशी शक्तिले रङ्गीविरङ्गी मानसपुत्रहरू पैदा गरेका छन् । दल, मानव अधिकार, प्रेस जगत्, एनजीओ, कर्मचारीतन्त्र, शैक्षिक क्षेत्र आदिमा ‘राष्ट्र र जनताका लागि’ भन्ने स्टिकर टाँसेर राष्ट्रहितविरुद्ध काम गर्नेहरूको कमी छैन । 

सत्ताका छेउछाउमा पुग्न होडबाजी गर्नेदेखि लिएर विद्रोह गर्ने–गराउने खेलमा अदृश्य शक्तिहरू सक्रिय रहन्छन् भन्ने कुरा इजिप्टदेखि लिबिया, टर्की, सिरिया, यमनलगायतका राष्ट्रमा देखिएको छ । नेपालमा राजनीतिक प्रणाली नै परिवर्तन भएको दस वर्षसम्म सरकार मात्र परिवर्तन भइरहेको पाइन्छ । स्थायित्वको कुनै सङ्केत देखिएको छैन । किन यस्तो भइरहेको छ त ? किन ठूला दलहरू स्थायित्वभन्दा सत्ताको खेलमा दौडिएका छन् ? अब अर्को विद्रोह हुँदैन भनेर ढुक्क हुने आधार देखिँदैन किन ? दलहरू असफल भएका हुन् कि राजनीतिक प्रणाली ? नयाँ पुस्ताले सोच्नैपर्ने समय आएको छ ।

कम्युनिस्ट आन्दोलनको मूल मर्म न त प्रतिनिधि सभा विघटन नै हो न त सङ्ख्याको आधारको बहुमत नै हो । यो दुवै कुराले विश्व कम्युनिस्ट आन्दोलनलाई आघात पुग्ने निश्चित छ । दुई फरक शैली र राजनीतिक कार्यदिशाबाट जडान भएका पार्टीहरू जुन हिसाबले एकता भएका थिए सोही अनुरूप विखण्डनको दिशातर्फ अगाडि बढेको देखिन्छ । कुनै शक्तिमा सरकारको दम्भमा छ भने कुनै शक्तिमा पार्टी र संसदीय दलमा बहुमतको दम्भ । यी दुवै खाले अतिवादी सोचले भर्खरै पालुवा भरिएका कम्युनिस्ट विचारलाई विश्वसामु नयाँ पन दिने योद्धाहरूमा ठेस लागेको छ । सोभियत सङ्घ उठ्नै नसक्ने गरी गर्ल्याम्म ढलेको बेला अब विश्वबाट कम्युनिस्ट पार्टीको बीउ पनि पाउन सम्भव छैन भन्दै खुसी मनाउने अमेरिकन साम्राज्यवादी र तीनका अवशेषहरूलाई टेवा पुग्न सक्छ । 

तीन वर्ष पहिले यस्तै खालका सोचलाई चुनौती दिँदै इतिहास बनाउने मैदानमा हामी निस्किएका थियौँ । साम्राज्यवादी सोच र त्यसका अंशहरूलाई खरानी बनाउने अभियानको पहिलो खुड्किलोको रूपमा नेपालमा दुई तिहाइ मतका साथ कम्युनिस्टले सरकार बनायो र सानदार तरिकाले चलायो पनि । सरकारले नागरिकलाई घिउ दिन खोज्यो । त्यही गतिमा अगाडि बढ्यो तर नेकपाका अर्का पाइलटले जनतालाई रक्सी बाँढ्दै तत्काल नतिजाको अपेक्षा गरे । आज अर्का पाइलटको सोचलाई ग्रामीण भेगमा भनिने एउटा जनबोलीले सम्झन मन लाग्यो– “कमरेड घिउ खाए कहिले कहिले रक्सी खाए अहिल्यै ।” जनता यति पजल भयाैं कि थकान मेटाउन घिउ रोजौँ कि विन्दास हुन रक्सी । त्यसैको फाइदा लिन एउटै जहाजका दुई पाइलट हान थाप गरे । एउटै जहाजका चालकहरू सत्ता र दम्भको हुटहुटीले दुई खेमामा बाँडिन पुगे । यो नै नेकपा विभाजनको मुख्य आधार हो । 

यस्तो बेलामा पछाडि बस्नेहरू नबाँडिएको भए सुन्दर हुने थियो तर नसोचेकै भयो । अब राता युवाहरूले पाइलटहरूलाई पछिल्ला सिटमा राखेर झर्दै गरेको विमानलाई उडान भर्नै पर्छ । यो आजको आवश्यकता हो । वर्गीय शत्रुको बुई चडेर समाजवाद स्थापना गर्छु भन्ने कोही नेतालाई लागेको छ भने त्यो गाईको पुच्छर समाएर बैतर्नी तरेजस्तै हो ।

लेखक अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.