शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रविण बाँस्तोला मृत्यु प्रकरणः यस्तो छ छानविन समितिको निष्कर्ष

आइतबार, २३ फागुन २०७७, १५ : ०८
आइतबार, २३ फागुन २०७७

काठमाडौं । उर्लाबारी नगरपालिका–५ बस्ने प्रविण बाँस्तोलाको मृत्युका सम्बन्धमा छानविन गर्न प्रहरीद्वारा गठित समितिले घटनाको अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीको कमी कमजोरी औंल्याउँदै विभागीय कारवाही अनुसार सचेत गराइ उनीहरुलाई जवाफदेही बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

फागुन ९ गते जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा गठित तीन सदस्यीय छानविन समितिले सो घटनाको मिसिल अध्ययन गर्नुका साथै स्थलगत रुपमा विभिन्न मानिससँग सो घटनासँग सम्बन्धित विविध पक्षका बारेमा जानकारी लिइ प्रतिवेदन तयार पारेको हो ।

‘गलत फोटो वदनियतपूर्ण राखिएको होइन’

अनुसन्धान मिसिलमा मृतकको नभई अर्कै व्यक्तिको तस्वीर राखिएको भन्दै पीडित पक्षले अनुसन्धानमाथि प्रश्न उठाएको सन्दर्भमा पनि छानविन समितिले आवश्यक अनुसन्धान गरेको छ ।जाहेरवाला पक्षबाट अनुसन्धान मिसिलमा अर्कै फोटो बनावटी गरी राखी बदनियतपूर्वक अनुसन्धान गरेको तथा मृतकले लगाएको कपडासमेत च्यातिएको कुरा मुचुल्कामा उल्लेख नगरेको भन्दै छानविन प्रक्रियामै त्रुटि रहेको औंल्याएका थिए ।

सो सम्बन्धमा स्थलगत रुपमा सम्बन्धित मानिस तथा अनुसन्धान मिसिल समेतको अध्ययन गरी छानविन समितिले मृतक प्रविणको फोटो राख्नुपर्ने ठाउँमा अर्कै व्यक्तिको फोटो राखिनुमा बदनियत नदेखिएको जनाएको छ ।

फागुन ३ गते करेन्ट लागि घाइते भएका जिल्ला मोरङ लेटाङ नगरपालिका वडा नं. ८ घर भई उर्लाबारी नगरपालिका वडा नं. ७ बस्ने वर्ष २६ को नविनराज घिमिरे गहतराजको गोदावरी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएपछिको फोटो ईलाका प्रहरी कार्यालय उर्लाबारीमा अनुसन्धानको लागि राखिएको हुँदा प्रहरी जवान योगिन सार्कीले कार्यालयको कम्प्युटरबाट मृतकको फोटो प्रिन्ट गरी राखेको तर उक्त फोटो मिति फागुन ९ गतेको अनुसन्धान प्रतिवेदन साथ मिसिलमा संलग्न नभए पनि सो फोटो कीर्ते गरी बदनियतपूर्वक राखेको भन्ने आधार नमिलेको छानविन समितिको भनाइ छ ।

साथै इसीजी गर्दा गोदवारी अस्पतालका कर्मचारीले नै मृतक प्रविण बास्तोलाले लगाएको कपडा छातीतर्फ सारेको तर कपडा च्यातिएको अवस्थामा नदेखिएको भन्दै छानविन समितिले मृतकको वास्तिक फोटो, शव जाँच मुचुल्का तथा गोदवारी अस्पतालको आकस्मिक कक्षमा हेल्थ असिस्टेन्ट ध्रुवप्रसाद चौहानको कागजबाट समेत यो कुरा प्रष्ट भएको उल्लेख गरेको छ ।

छनविन समितिका अनुसार ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुले अनुसन्धान मिसिलमा संलग्न कागजातहरु नियमित प्रमाणीकरण गर्ने तथा अनुसन्धान सम्बन्धी भौतिक सवुतको परीक्षण गर्ने र सो प्रतिवेदन अविलम्ब प्राप्त गर्ने, सम्बन्धित निकाय अथवा पदाधिकारी साथै जाहेरवाला पक्षहरुसँग प्रभावकारी एवम् नियमित समन्वय र सम्पर्क गर्ने कार्यमा कमी कमजोरी गरेको देखिएको हुँदा विभागीय कारवाही अनुसार सचेत गराई जवाफदेही बनाउनुपर्ने देखिन्छ ।

छानविन समितिका यस्ता छन् सुझाव

घटनाबाट पीडित अथवा प्रभावित परिवारजनहरूसँग अनुसन्धान अधिकृत लगायत अनुसन्धानमा खटिएका अन्य प्रहरी कर्मचारीहरुले पारदर्शी रुपमा र पीडित मैत्रीपूर्ण व्यवहार नियमित रुपमा गरी आवश्यक समन्वय,  सम्पर्क, सहकार्य तथा परामर्श गर्नुपर्ने सुझाव छानविन समितिले दिएको छ ।

यस्तै, लाश जाँच मुचुल्का तथा पोष्टमार्टम प्रतिवेदनमा मृतकको बाहिरी शारीरिक अवस्था र चोटपटक–घाउखत, शरीरमा लगाएको कपडाको अवस्था सम्बन्धमा सम्बन्धित अधिकारीहरुसँग समन्वय गरी विवरण समान अवस्थाको बनाउनुपर्ने साथै अविलम्ब पोष्टमार्टम गरी भिसेरा परीक्षणको लागि तुरुन्त पठाई प्रतिवेदन यथाशीघ्र प्राप्त गर्न सम्बन्धित निकाय एवम् पक्षसँग नियमित सम्पर्क र समन्वय गर्नुपर्ने खाँचो पनि छानविन समितिले औंल्याएको छ ।

अभद्र व्यवहार कसूरमा अनुसन्धानमा रहेका प्रतिवादीहरुको कर्तव्य ज्यान कसूरमा समेत प्रतिवादी कायम भएको अवस्थामा अभद्र व्यवहार कसुरको अनुसन्धान प्रतिवेदन समेतको कार्य सम्पन्न गरेरमात्र कर्तव्य ज्यान कसूरमा पक्राउ अनुमति लिई कर्तव्य ज्यान कसूरमा अनुसन्धान अवधी पर्याप्त लिने रणनीति लिनुपर्ने र सोको लागि अनुसन्धान अधिकृतले सम्बन्धित जिल्ला न्यायाधिवक्तासँग राम्रो समन्वय गर्नुपर्ने छानविन समितिको सुझाव छ ।

अनुसन्धान मिसिल तयार पार्दा लेखन कार्य तथा अनुसन्धानमा खटिएका अनुसन्धानका सहयोगी प्रहरी कर्मचारी समेतले पंजिका बनाउँदा लगायत अन्य कागजात गर्दा समेत गम्भीरताका साथ हेरी अनुसन्धान अधिकृतबाट नियमित रुजु तथा प्रमाणित गराउनुपर्ने छानविन समितिले जनाएको छ ।

लाश जाँच प्रकृति मुचुल्काको कार्य गर्दा सबै प्रकृतिका घटनास्थल तथा लाशको पर्याप्त फोटो अनिवार्य लिनुपर्नेमा छानविन समितिले जोड दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप