शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्चको फैसलाले राजनीतिमा थप भद्रगोल

आइतबार, २३ फागुन २०७७, ०६ : ००
आइतबार, २३ फागुन २०७७

सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादमा आइतबार फैसला गरेसँगै राजनीति थप भद्रगोल बनेको छ । ‘नेकपा’ नामलाई लिएर देखिएको विवादमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

निर्वाचन आयोगले आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै दुई वर्षअघि ऋषि कट्टेलले रिट हालेका थिए । निर्वाचन आयोगविरूद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।  

सर्वोच्चको यस फैसलाअनुसार तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज भएको छ भने तत्कालीन अवस्थाकै नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र अस्तित्वमा फर्किएका छन् । 

‘निर्वाचनमा आयोगका यी दुवै निर्णय बदर भए पश्चात साबिकका निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा अब यी दुई राजनीतिक दलको एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिइ शीघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नू गराउनू’ भनि इजलासले आदेश दिएको छ ।

यससँगै तत्कालीन प्रतिनिधिसभा निर्वाचनपछि रहेको तत्कालीन एमाले र माओवादी केन्द्रको अवस्थामा पार्टी पुगेको छ । तत्कालीन एमालेको अध्यक्ष केपी ओली हुन् भने माओवादीको अध्यक्ष प्रचण्ड हुन् । तत्कालीन अवस्थामा एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लडेका थिए भने सो अवस्थामा समानुपातिक सहित एमालेले १२१ सिट र माओवादीले ५३ सिट जितेको थियो । तर अहिले तत्कालीन एमालेका माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु  र प्रचण्ड एकैठाउँमा रहेका छन् । यस्तै तत्कालीन माओवादीका केही संसदपनि ओलीतिर लागेका छन् । 

सर्वोच्चको फैसलासँगै अब राजनीति कसरी अघि बढ्छ भन्ने चासोका साथ हेरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप