मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ घोटालासम्बन्धी विषयमा अख्तियारले सक्यो अनुसन्धान, १३६ जना विरुद्ध मुद्दा दायर

मङ्गलबार, २५ फागुन २०७७, २१ : ४४
मङ्गलबार, २५ फागुन २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा मिहिन छानबिन गरी आज एकैपटक १३६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले झण्डै रु ४० करोड बराबरको घोटाला भएको तथ्यसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

सरकारी स्वामित्वको नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि र सो फाइनान्ससमेत ‘मर्ज’ भई बनेको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा कोषको तर्फबाट सञ्चालकमा नियुक्त भएका नवौँ तहका कर्मचारी छविरमण अधिकारीले गलत तरिकाले कर्जा प्रवाह गरेको पाइएको छ । उक्त बैंक हाल नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा समाहित भएको छ । 

आयोगका अनुसार सो बैंकको दरबारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जामा न्यूनतम मापदण्डसमेत नअपनाएको पाइएको छ । लापर्वाही तवरले ठूलो मात्रामा कर्जा प्रवाह भएको तथा हिनामिना, हानी नोक्सानी गरिएको पाइएको छ । धितोको मूल्याङ्कन गर्दासमेत बदनियत राखिएको पाइएको छ । 

आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक वसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, इनोभेटिक कन्सेप्ट नेपालका सञ्चालक मनोजकुमार भेटवाल, ऋणी भैरवप्रसाद भेटवाल र रविन लामासमेतलाई पक्राउ गरी विशेष अदालतमा पेश गरेको छ ।

 आयोगले कूल ११ मुद्दामा फरक फरकरुपमा नागरिक लगानी कोषका तर्फबाट सञ्चालक रहेका छविरमण अधिकारीसमेत गरी १३६ विरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । उनीहरु विरुद्ध बिगोअनुसारको कारवाहीको माग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप