शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजनीतिले छायामा पारेको नारी दिवस

बुधबार, २६ फागुन २०७७, ११ : ०४
बुधबार, २६ फागुन २०७७

एक सय ११ वर्ष पहिले मार्च ८ का दिनदेखि निरन्तर प्रत्येक वर्ष महिलाका हकअधिकारको माग गर्दै नारी दिवस मनाउन थालिएको हो । सन् १९७७ मा संयुक्त राष्ट्रसङ्घले यसलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा घोषणा ग¥यो । यस्तो घोषणा नभएको भए सायद आज नेपालमा यो दिवस कुनै पनि क्यालेन्डरमा देखिने थिएन । तिथि मितिका आधारमा तोकिन्थ्यो भने नारी दिवस आउँदैछ कि गइसक्यो भनेर नेपाली महिलाहरू अलमलमा पर्ने थिए ।

देशको सबैभन्दा सर्वोच्च पदमा महिला नै हुनुुहुन्छ । तर उहाँलाई पनि यो दिवसको महत्त्वबारे हेक्का छ भन्ने देखिँदैछ । उहाँलाई त हिजोको सर्वोच्च अदालतको फैसलाकै चिन्ता होला । अब के हुन्छ आफुू रहन्छु या रहन्न, अनि आफ्नो समूह र कोटरीको हित र स्वार्थ टिक्छ कि टिक्दैन भन्नेमै चिन्ता होला । यसो भनिरहँदा देशकै सर्वोच्च पदको अपमान र आलोचना गर्न खोजेको भने पटक्कै होइन । यो एक आम नागरिक र त्योभन्दा पनि बढी महिला भएर महिलाकै बारेमा किन नसोचेको भन्ने गुनासो मात्रै हो ।

अमेरिका र अन्य मुलुकका महिलाहरुले नारी दिवसमा कस्ता कार्यक्रमहरु ल्याए भनेर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा खोजबिन गरेँ । अनि नारी दिवसबारे लेख्न सुरु गरेँ । तर कतै भेटिएन । नेपाली परिवेशमा शब्दबाहेक अरू कुराको अपेक्षा कमै थियो ।

सन् २०२० को अमेरिकी राष्ट्रपति पदको दौडमा होमिएकी वर्तमान उपराष्ट्रपति कमला ह्यारीले अन्तिममा अमेरिकाकै राष्ट्रपतिको दौडमा रहेका अर्का प्रत्यासी जो वाइडेनलाई समर्थन गर्दै आफू उपराष्ट्रपतिको पदमा उम्मेदवारी दिने घोषणा गरिन् । त्यसपछि कमलाको चर्चा एकाएक चुलियो । नतिजा पनि अपेक्षित नै भयो । जब उनी पहिलो पटक ह्वाइटहाउस प्रवेश गरिन् विश्वको ध्यान उनमा केन्द्रित थियो । अनि अब विश्वमा महिला सामथ्र्य र समानताले ठूलो स्थान पाउँछ भन्ने आशा भयो । उनको पहिलो सार्वजनिक भाषणले पनि संसारका महिलामा एक खालको तरङ्ग नै ल्यायो ।

उनले भनिन्– हो म पहिलो महिला हुँ तर अन्तिम भने होइन । हामी शिक्षा, समानता र महिला सशक्तीकरणका लागि लडिरहने छौँ । अमेरिकाको डेलावेरमा उनको पहिलो भाषण सुनेपछि संसारभरका महिलाहरुमा निकै ऊर्जा थपएिको थियो । हाम्रै छिमेकी मुलुक भारतबाटै आप्रवासी नागरिकका रूपमा अमेरिकाको त्यति ठूलो पदमा पुग्दा नेपाली महिलाहरुमा पनि फरक तरङ्ग आउनु स्वाभाविक नै थियो । चाहेर पनि नचाहेर पनि संसारले स्वीकारेको छ अमेरिकाले जे गर्छ त्यो कुराले विश्व राजनीति र समाजमा त्यसको प्रभाव पर्छ ।

अहिलेको मुख्य मुद्दा भनेको महिला सुरक्षा, सम्मान र रोजगारीकै हो । आज एक सय ११औँ नारी दिवस हो । नेपालले पनि यसलाई धुमधामसँग मनाएको छ । आजको नारा पनि “महिला सुरक्षा, सम्मान ः समृद्ध नेपालको आधार” हो भन्नेछ । नेपालले नारी दिवसको अवसरमा लिएको लक्ष्यलाई सिंहदरबार, बालुवाटार र शीतल निवासले नै कुरीकुरी भनिरहेको छ । एउटै कामना मात्रै गर्न सक्छु, आजकै दिन कोही पनि नारी बलात्कृत अपहेलना र पीडामा नपरून् । त्यसो त आज मैले यो विषयलाई उठाउन खोजेको होइन । लक्ष्यलाई कार्यान्वयनसँगै निष्कर्षमा पु¥याउन सरोकारलालाबाट केकती काम भए भन्ने कुरालाई उठाउन खोजेकी हुँ ।

कार्यक्रमपिच्छे फरक फरक विषयमा समूहको मनोभाव बुझ्दै तालिका लागि भाषण गर्न खप्पिस सरकार प्रमुख पनि निरिह भएका छन् । महिला सशक्तीकरणका लागि एउटा पनि उखान नआएकै हो र ? जोक्स र उखानै सही माहोल त बन्थ्यो नि एक दिन भए पनि । त्यसो त देश र जनता अनि विधिका लागि सडकमा आएको नेकपाकै अर्को समूहले पनि किन महिलाबारे केही कुरा समावेश गरेको छैन । उनीहरूले अवलम्बन गर्ने विधिमा ? सबैभन्दा प्रजातान्त्रिक दल ठान्ने नेपाली काँग्रेसले पनि महिला अधिकारका कुरालाई बिर्सेको छ । महिलाका हकअधिकारका लागि कहीँकतै एक शब्द पनि प्रकट गर्दैन ।

आज सबैको एउटै बोली छ । अहिले देशको राजनीतिमा कसको बहुमत पुग्छ र सरकार बनाउने भन्ने विषयमा मात्र बहस केन्द्रित छ ? तर महिलाको सशक्तीकरण र हक अधिकारका लागि दलहरुको निरन्तर आवाज र मद्दाका विषय बनिरहनुपर्छ ।  अनि मात्र समाजको सबै पक्षको विकास सम्भव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिशा श्रेष्ठ
अनिशा श्रेष्ठ
लेखकबाट थप