बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

अब अदालतले जे भन्छ त्यही हुन्छ– कोमल वली

शुक्रबार, २८ फागुन २०७७, १० : ३२
शुक्रबार, २८ फागुन २०७७

काठमाडौँ । गायिका एवम् राष्ट्रिय सभा सदस्य कोमल वलीको चर्चा यतिबेला फेरि चुलिएको छ । नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दाका कारण उनको चर्चा चुलिएको हो । केही दिनअघि पन्तले सार्वजनिक रूपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले गत मङ्गलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । उनले आफू अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् । पन्तले गत फागुन १५ गते एक कार्यक्रममा वलीले पिडौँला सांसद बनेको अभिव्यक्ति दिएका थिए । उनै भनाइविरुद्ध उनी न्याय खोज्दै अदालत पुगेकी हुन् ।​ पन्तविरुद्ध उनले अदालतमा दिएको उजुरी फिर्ता राजनीतिक कारणले फिर्ता हुने अनुमान धेरैले गरेका छन् । तर उनी भने अब उजुरी फिर्ता नहुने र अब अदालतले जे निर्णय गर्छ त्यही मान्ने पक्षमा छिन् । यही विषय लगायत समसामयिक विषयमा वलीलाई सोधिएका केही प्रश्न ।

शिवरात्री कसरी मनाउनुभयो ?

–शिवरात्री मनाउन म दाङमा आएकी छु । दाङमा शिवरात्री महोत्सव उद्घाटन र दुई स्थानमा महादेवको मूर्तिसमेत प्रतिस्थापनमा सहभागी भएँ । शिव भक्तिमै बिताएँ सबै दिन ।

तपाईं नेकपामा रहँदा केन्द्रीय सदस्य बन्नुभएको थियो, सर्वोच्चको फैसलापछि एमाले ब्युँतिएको छ, अहिले पार्टीमा तपाईंको स्थान के छ ?

–अहिले पनि म केन्द्रीय सदस्य नै छु । नभएको चिठी अहिलेसम्म आएको छैन क्यारे ।

एक अन्तर्वार्तामा तपाईंले आफूलाई हीरा नै भएको घोषणा गर्नुभएछ । पार्टीमा सुन, तामा, पित्तल, फलाम चाहिँ को को हुन् ?

– हाहा... हो म नेकपाको सक्षम कार्यकर्ता हुँ । त्यसै अर्थमा हीरा भनेकी हुँ । मेरो पूरा जीवन राजनीतिमा समर्पित गरेकी छु । मेरो सम्पूर्ण ऊर्जा पार्टीमा लगाएकी छु । सबैजसो नेपाली आमाबुबा दिदीबहिनी दाजुभाइको प्रिय छु । उहाँहरुले मलाई मन पराउनुहुन्छ । मैले गीतसङ्गीतमा पु¥याएको योगदान अतुलनीय छ । सञ्चार क्षेत्रमा लामो समय सेवा गरेँ । खेलकुद र उद्घोषणको त कुरै नगरौँ । सबैको दिल दिमागमा बस्न त्यतिकै सकिन्छ र ? केही न केही योगदान नभएर मान्छेले मन पराउँछन् र ? जनताको मन मुटुमा बस्न जसले पायो त्यसले सक्छ र ? म हीरा मात्र हैन मुटु हुँ । सबैको हृदयमा छु, सबैको हृदयमा बसेको मान्छे पार्टीका लागि हीरा नै हुँ नि ।

आफ्नै पार्टीका अर्का नेता रघुजी पन्तविरुद्ध मुद्दा हाल्नुभएको छ । पन्तले सरी भनेपछि पनि किन तपाईंले मुद्दा दायर गर्नुभएको हो ?

–त्यो विषयमा अहिले कुरा गरेर फाइदा छैन । मुद्दा अब अदालत पुगेको छ । अदालतले जे भन्छ, त्यही हुन्छ । यसमा मेरो व्यक्तिगत स्वार्थ केही छैन ।

मुद्दा फिर्ता हुन्छ कि हुँदैन ?

–मुद्दा फिर्ता हुँदैन । मैले भने नि अब अदालतले जे भन्छ त्यही हुन्छ ।

प्रसङ्ग बदलौँ, तपाईं अहिले नेता हो कि गायिका कोमल वली ?

–म राजनीतिकर्मी हुँ र गायिका पनि । गायिका पहिचान मेरो जीवनभर मसँग रहन्छ । यो मेरो जीवनमा मलाई प्राप्त थप अमूल्य उपहार हो यो ।

तपाईंले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिचित्रणको गीत गाउन थाल्नुभएछ । यो तपाईंको राजनीति हो कि शक्तिको आराधना ?

–देश र जनताका लागि प्रतिबद्ध अद्वितीय प्रभाववान् व्यक्ति जसले समाज समृद्ध बनाउन र नेपाली जनतालाई दुःखमुक्त गर्न चाहनुहुन्छ त्यस्ता नेताको उद्देश्य लक्ष्य पूरा गर्नुपर्ने भएकाले गीत बनाएको हो । यो शक्तिको आराधना होइन, व्यक्तिको आराधना होइन, यो कर्मको आराधना हो ।

अब कोमल वलीका गीत कस्ता आउँछन् ?

–सबै प्रकारका गीत गाउँछु । चेतनाका, नारी सशक्तीकरणका, राष्ट्रिय, चलचित्रका गीतहरु गाउँदै जानेछु ।

तपाईं गायिका हुँदा जनताले धेरै मनोरञ्जनमूलक गीत सुन्न पाउँथे, तपार्इं राजनीतिमा लागेर जनताले के पाए, उनीहरुलाई के फाइदा पुग्यो ?

म राजनीतिमा लागेपछि जनताका लागि केही न केही उपलब्धि भएका छन् । धेरैभन्दा धेरै उपलब्धि होस् भनेर प्रयासरत छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप