बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकीय स्थलको ब्रान्डिङमा जुट्यो पर्यटन बोर्ड, पहिलो चरणमा बुद्धको जन्मभूमिको प्रचार गरिँदै

आइतबार, ०१ चैत २०७७, ११ : २८
आइतबार, ०१ चैत २०७७

नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्यलाई ब्रान्डिङ गर्न शुरु गरेको छ । बोर्डले यसको शुरुवात गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने काम थालेको बोर्डले क्रमशः अन्य गन्तव्यहरुलाई पनि ब्रान्डिङ गर्दै लैजाने योजना बनाएको छ । गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्रान्डिङ आवश्यक्ता महशुस गरी ब्रान्डिङको शुरुवात गरिएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले जानकारी दिए ।

‘कुनै पनि पर्यटकीय गन्तव्यहरुको आफ्नै पहिचान हुन्छ, त्यसको आफ्नै विशेषता हुन्छ । ती विशेषतालाई  समेट्दै ब्रान्डिङ गर्दा लुम्बिनीलाई आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल सहयोग पुग्ने छ । हामीले यो प्रयास गरेका छौं,’ सिइओ रेग्मीले भने, ‘विस्तारै अन्य गन्तव्यको पनि ब्रान्डिङ गर्दै लगिने छ ।’

प्रारम्भिक रुपमा लुम्बिनीको समग्र पक्षलाई समेटेर ब्रान्डिङ शुरु गरेको बोर्डले क्रमशः अन्य गन्तव्यलाई पनि सोही अनुरुप विकास गर्ने गरि नयाँ सोच अगाडि बढाइने उनले बताए ।

यसरी गरिदैछ ब्रान्डिङ

जापानी वास्तुकलाविद् केन्जो टाँगेको अर्किटेक्ट, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैँचालाई सुन्दर ढंगले प्रस्तुत गरी संयोजन लुम्बिनीको ब्रान्डिङ गरिएको छ । जसमा लुम्बिनीको प्राकृतिक सुन्दरता सहित ॐ माने पद्मे हुँको गुन्जायमान वातावरण, राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचिन सहर र बोधी वृक्षलाई ब्रान्डिङमा संयोजन गरिएको छ । यस्तै लुम्बिनीको टोपीग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करणी पोखरी, अशोक स्तम्भ र चराहरू प्राचीन आर्किटेक्ट, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई ‘ब्रान्डिङ’ मा स्थान दिइएको बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार ब्रान्डिङका काममा भिक्षुभिक्षुणीले लगाउने चिबरका विभिन्न कलरहरू प्रयोग गरिएको छ । ब्रान्डिङपछि त्यहाँबाट प्रकाशन हुने पुस्तक, ब्रोसर, झोला तथा श्रव्य दृष्यका सामग्रीबाट एउटैखाले सन्देश प्रवाह हुने छ । त्यस्तै कार्ड, पोस्टकार्ड, पोस्टर र ब्यानरका लागि ब्रान्डिङ गरिएको छ । कस्तो रङको लिपि र लोगो प्रयोग गर्ने भनेर पनि उल्लेख गरिनेछ । यहाँ हुने पर्यटन प्रवर्द्धनका हरेक गतिविधिमा त्यसलाई उपयुक्त हुने गरी ब्रान्डिङका प्रकार तयार गरिएको छ ।

नेपालले यसअघि ‘नेचुरल्ली नेपाल’ भन्ने ब्रान्ड बनाएर समग्र देशको ब्रान्डिङ गरेको थियो । नेपाल जस्तै थाइल्यान्डले एमाइजिङ थाइल्यान्ड, भारतले अतुल्य भारत, मलेसियाले मलेसिया इज ट्रुली एसिया जस्ता थिमबाट आफ्नो देशको ब्रान्डिङ गर्दै आएका थिए ।

यो पटक नेपालको पर्यटकीय गन्तव्य मध्ये एक लुम्बिनीलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन रङ, नाम, लोगोमा ब्रान्डिङ गरिएको र यसले लुम्बिनीको महत्व प्रचारलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उजागर गर्न थप मद्दत पुग्ने  लुम्बिनी प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समिति संयोजक सागर अधिकारीले बताए ।

बोर्डका अनुसार काठमाडौँको आर्ट एन्ड डिजाइन कम्पनी कर्प्स एन्ड कलर्सले बुद्धस्थल लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम पुगेर अध्ययन अनुसन्धान गरी त्यहाँको अवस्था, सुन्दरता, पुरातात्विक एवं ऐतिहासिक वैभवलाई सिर्जनामार्फत उतारेर तयार पारेको ब्रान्डिङलाई बोर्डले त्यसक्षेत्रका सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा सार्वजनिक गरेको हो । बोर्डले कीर्तिपुर र  पोखराको पनि ब्रान्डिङको काम गरिरहको छ । लुम्बिनी नेपालको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो । यहाँ बार्षिक  १६ लाखभन्दा बढी स्वदेशी, करिब दुई लाख तेस्रो मुलक र करिब दुई लाख भारतीय पर्यटक आउने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप