शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डीबी गुरुङको ‘गुरुङ दर्पण’ सार्वजनिक

सोमबार, ०२ चैत २०७७, ११ : ५१
सोमबार, ०२ चैत २०७७

काठमाडौँ । नेपालको राजनीति, निजामती र अन्य सेवामा गुरुङहरूको पहुँच र प्रतिनिधित्वको अवस्थाबारे लेखक तथा अध्येता डीबी गुरुङको पुस्तक ‘गुरुङ दर्पण’ सार्वजनिक भएको छ ।

गुरुङले २००७ सालयता राज्य सञ्चालनमा रहेको गुरुङहरुको सहभागिता, पहुँच र प्रतिनिधित्वको बृहत् तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरेका छन् । सो पुस्तकको शनिबार सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले विमोचन गरेका छन् । पुस्तकमा अहिलेसम्म भएका मन्त्री, सांसदसहित उच्च ओहोदामा पाएका नियुक्ति र नेतृत्वका बारेमा समेटिएको छ ।

नेपालको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायत विभिन्न निकाय र क्षेत्रमा विगतदेखि वर्तमानसम्म गुरुङ समुदायको पहुँच र प्रतिनिधित्वको अवस्था तथा भविष्यको सम्भावना र चुनौतीसमेत पुस्तकमा समेटिएका छन् ।

मन्त्री गुरुङले पुस्तक विमोचन गर्दै गुरुङ समुदायका लागि पुस्तक ऐतिहासिक ऐना भएको धारणा राखे । ‘योभन्दा पहिले प्राप्त उपलब्धिको समीक्षा गर्नुपर्ने अवस्था छ र थप उपलब्धिका लागि पुस्तकले सिङ्गो समुदायलाई प्रेरणा दिनेछ,’ मन्त्री गुरुङले भने ।

सो पुस्तकबारे सांसद हीरा गुरुङ, पूर्व राज्यमन्त्री सीता गुरुङ, पूर्वकार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, प्राध्यापक डा. ओम गुरुङ, डा. टेकबहादुर गुरुङ, तमू ह्युला छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका महासचिव सूर्य गुरुङ लगायतले पुस्तकबारे चर्चा गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका लेखक गुरुङको यसअघि ‘गुरुङ सेरोफेरो’ पुस्तक प्रकाशित छ । उनको शासन र शक्तिको चित्रमा नेपाल नामक अर्को पनि पुस्तक प्रकाशोन्मुख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप