शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत विमानस्थल विस्तार कार्य अन्योलमा

सोमबार, ०२ चैत २०७७, १२ : १२
सोमबार, ०२ चैत २०७७

सुर्खेत । निकै चर्चाको विषय बनेको सुर्खेत विमानस्थलको विस्तार कार्य अन्योल बनेको छ । स्थानीय बासिन्दाले चर्को विरोध गरेपछि विस्तार कार्यमा नागरिक उड्डयन कार्यालय र प्रदेश सरकार पछि हटेको हो ।

वीरेन्द्रनगर नगरपालिकाले नै साथ नदिएपछि अहिले विस्तारको विषय सेलाएको छ । प्रदेश र केन्द्र सरकारले सुर्खेत विमानस्थलको विस्तार कार्यका लागि पहल थाले पनि स्थानीय बासिन्दाको जोडबलमा वीरेन्द्रनगर नगरपालिकाले माघ ३ गते कार्यपालिका बैठकबाट नै विमानस्थल विस्तार कार्य तत्कालका लागि रोक्ने निर्णय गरिदिएको थियो ।

सो निर्णयमा विमानस्थलको विकल्प खोजिनुपर्ने भन्दै नागरिकहरुको प्रतिनिधित्व पनि गरिएको थियो । माघ ५ गते प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि सोही निर्णयसहितको पत्र नगरपालिकाले लेख्यो ।

नगरपालिकाले नागरिकहरुबाट दबाब आएकाले अन्य ठाउँमा विकल्प खोज्नका लागि सहजीकरण गरेको भन्दै नगरपालिकाले पन्छिन खोजेजस्तो ग¥यो । विमानस्थलको धावनमार्ग विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका १०, ११ र १२ का सयौँ नागरिक प्रभावित हुनेभएपछि नागरिकहरु आन्दोलनमा उत्रिएका थिए ।

प्रभावित क्षेत्रका नागरिकहरुको प्रतिनिधित्व गर्दै नागरिक सरोकार समितिले दीर्घकालीन र अन्तर्राष्ट्रिय स्तरको विमानस्थलका लागि हाल भएको स्थान प्रभावकारी नहुने भएकाले अन्थ स्थानमा विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेपछि विमानस्थल विस्तारको कार्य सुस्ताएको हो ।

‘अहिले प्रदेश सरकारले कुनै निर्णय नै गर्न सकिरहेको अवस्था छैन । विमानस्थलको विकल्प खोजिनुपर्ने माग उठेपछि उपयुक्त ठाउँ खोजी गरी विमानस्थलको काम अघि बढाउनुपर्ने देखिन्छ,’ सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावत भन्छन्, ‘मुख्य केन्द्र वीरेन्द्रनगर नजिकको कुनै उपयुक्त ठाउँ खोजी गर्नुपर्छ ।’

रावत भन्छन्– ‘सकेसम्म त प्रभावित क्षेत्रका बासिन्दासँग सहमती गरेर अहिलेकै विमान स्थललाई स्तरोन्नति गर्नुपर्छ ।’

‘केही गर्दा नमानेपछि विकल्प त खोज्नै प¥यो ।’ सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख उमेश कुमार पन्थी भन्छन्– ‘तत्कालै नयाँ ठाउँको खोजी कार्यबारे कुनै छलफल भएको छैन ।’

उसो त नागरिक उड्डयन कार्यालयले लगत सङ्कलनको कार्यसमेत अघि बढाइसकेको थियो । त्यसका लागि वडापालिकाहरुलाई पत्रसमेत काटिसकेको थियो ।

सो क्षेत्रका कुनै जग्गाजमिन खरिदबिक्री नगर्न भन्दै पत्रकाटे पनि स्थानीयले चर्को विरोध गरेपछि लगत सङ्कलनको कार्य पनि रोकिएको थियो ।

पन्थीले नागरिकको अवरोधपछि यही विमानस्थलको स्तरोन्नति गर्ने या नयाँ ठाउँको खोजी कार्य गर्ने भन्न विषयमा सहजीकरणका लागि प्रदेश सरकारलाई पत्र पठाइएको बताए । उनले भने, ‘त्यसपछि कार्य अघि बढ्छ ।’

प्रदेश सरकारले सहजीकरण समिति बनाउने भनेको छ । यद्यपि आजसम्म त्यो काम पनि अघि बढ्न सकिरहेको छैन ।

हाल प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव पदको जिम्मेवारी सम्हालेका हीरालाल रेग्मी केही समयअघि जिल्ला प्रशासन सुर्खेतमा थिए । सो समयमा नै प्रदेश सरकारले सहजीकरण समिति गठन गर्ने निणर्य गरेको बताए ।

अब त्यो समिति बन्यो भने यो विषयले निक्र्योल पाउला,’ उनले भने । विमानस्थल प्रभावित क्षेत्रका नागरिकले आफूहरूको उचित पुनस्र्थापना नभएसम्म विस्तारको काम गर्न नदिने बताइसकेका छन् ।

उनीहरुले नागरिक सरोकार समिति नै गठन गरेर विस्तारको काम गर्न नदिने भन्दै स्थानीय, प्रदेश र सङ्घ सरकारसम्म जानकारी नै गराइसकेका छन् ।

के थियो मुख्यमन्त्रीको योजना ?

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मङ्सिर अन्तिम साता बसेको बैठकले विमानस्थललाई ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित काम अघि बढाउने थियो ।

प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण (क्षेत्रफल र तीन पुस्ते) यथाशीघ्र तयार गरी जग्गा रोक्का प्रक्रिया अघि बढाउने, विस्तारका क्रममा आउनसक्ने विविध समस्या सामाधान गर्न प्रदेश सरकारले सर्वदलीय एवं सर्वपक्षीय समिति गठन गर्ने, जग्गा प्राप्ति प्रक्रिया तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारीले तीन दिनभित्र मूल्याङ्कन समितिको बैठक आह्वान गरी काम अघि बढाउने, विमानस्थल विस्तारका लागि मुआब्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले व्यहोर्ने सहमति भएको थियो ।

प्रदेश सरकारले चालू आवमा ५० करोड रुपैयाँ बजेटसमेत विनियोजन गरेको थियो ।

उक्त रकममध्येको पाँच प्रतिशत लागत रकम वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने निर्णय भएका थियो भने २ अर्ब बजेट लाग्ने अनुमान गरिएको यो विमानस्थल निर्माणका लागि सङ्घीय र प्रदेश सरकारबीच गत असोज १५ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

तर प्रदेश सरकारले यी सबै कामलाई अघि बढाउन सकेन । उल्टै नागरिक तहमा कुनै छलफल नै नगरी जग्गा रोक्का प्रक्रियाका लागि पत्र लेख्ने काम भयो । नागरिकले यसको प्रतिवाद गरे । रोकिएको जग्गा खरिदबिक्रीको कारोबार अहिले खुला भइसकेको छ । 

६ सय मिटर विस्तार गर्दा कति प्रभावित ?

नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थलको उत्तरतिर विस्तार गरी ६ सय मिटर बढाउने गरी नक्सा तयार भएको छ । ‘पहिला ४ सय ६० मिटर उत्तर र दक्षिणतिर लाइटिङका लागि २ सय मिटर बढाउने कुरा थियो ।

यद्यपि पछि नक्सा बदलिएर उत्तरतिर ६ सय मिटर विस्तार गर्नेगरी नक्सा आएको छ । विमानस्थलको बीच भागबाट पूर्व–पश्चिम ९०–९० मिटर चौडाइ बढाइने छ । जसबाट वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १०, ११ र १२ का गरी करिब ९ सय २३ घरधुरी प्रभावित हुने देखिन्छन् भने १६ वटा सार्वजनिक संस्थाका २ सयभन्दा बढी कोठा, सार्वजनिक संस्थाको करिब ६० कट्ठा जमिन अधिग्रहण हुने नागरिक सरोकार समितिले निष्कर्ष निकालेको छ ।

 त्यसमध्ये सबैभन्दा धेरै अमरज्योति नमुना माविको जमिन पर्दछ ।

नागरिकलाई विचल्ली बनाएर विस्तार गर्नु राम्रो होइन : पर्यटन मन्त्री ढकाल

शनिबार सुर्खेत आएका नेपाल सरकारका संस्कृति, नागरिक उड्डयन र पर्यटन मन्त्री भानुभक्त ढकालले सुर्खेत विमान स्थल विस्तारको कार्य अघि बढाइनुपर्ने त बताए । यद्यपि उनले जनताको घर भत्काएर होइन, बनाएर विस्तार गरिने बताए ।

विमानस्थलको विस्तार गरी ठूला विमानस्थल बनाउने सरकारको योजना भएकाले नागरिकलाई विचल्ली नबनाई गरिने ढकालले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप