शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सभापति देउवालाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय भइसक्यो’

एमालेसँग पनि अनौपचारिक छलफल भइरहेको छ : पूर्णबहादुर खड्कासँगको अन्तरवार्ता
मङ्गलबार, ०३ चैत २०७७, १० : ४८
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प दिनेमा एकमत देखिएको छ । शुक्रबारको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्षस्थ नेता सम्मिलित बैठकमा काँग्रेस नेतृत्वको सरकार बनाउने सहमति बनेको छ । पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने सहमति पनि बनिसकेको छ । काँग्रेसभित्र सहमति बने पनि गठबन्धन निर्माण हुन सकेको छैन ।

पुनः स्थापित प्रतिनिधि सभाको तेस्रो बैठक चैत ३ गते बस्न लाग्दा पनि प्रधानमन्त्री ओलीको विकल्प दिन दलहरु एकमत भएर निर्णयमा पुग्न सकिरहेका छैनन् । सत्ता समर्थक दल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन साइत कुरिरहेको छ । यता प्रधानमन्त्री केपी ओली इतर पक्षलाई साथमा लिएर सरकार बनाउने तयारीले तीव्रता पाउन सकेको छैन ।

एक चरण काँग्रेसले माओवादी केन्द्र र जसपासँग छुट्टाछुट्टै छलफल गरे पनि परिणाम निस्किन सकेको छैन । तीन दल एकअर्काले खुलेर अग्रसरता नदेखाउँदा गठबन्धनले आकार धारण गर्न नसकेको बताउँछन् । तर काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का भने काँग्रेसले एउटा दृष्टिकोण बनाए पनि माओवादी केन्द्र र जसपामा त्यो हुन नसकेको बताउँछन् । यद्यपि खड्काले सत्तासीन नेकपा एमालेसँग पनि अनौपचारिक छलफल भइरहेको बताए ।

रातोपाटीसँगको कुराकानी क्रममा गृहजिल्ला सुर्खेतमा रहेका महामन्त्री खड्काले सबै दलहरूको दलगत दृष्टिकोण बनेपछि मात्र काँग्रेस निर्णयमा पुग्ने सुनाए । काँग्रेसले भने सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेर वर्तमान सरकारको विकल्प दिने दृष्टिकोण बनाइसकेको खड्काको दाबी छ । थप कुरा प्रस्तुत छ महामन्त्री पूर्णबहादुर खड्कासँग गरिएको सङ्क्षिप्त कुराकानीको सम्पादित अंशमा :

त्रिपक्षीय गठबन्धन बनाउने कुरामा नेपाली काँग्रेसले तदारुकता नदेखाउँदा राष्ट्रिय राजनीतिले आकार लिन सकिरहेको छैन । काँग्रेसले खोजेको के हो ?

–राष्ट्रिय सहमति निर्माण गर्नेगरी छलफल भइरहेको छ । माओवादी केन्द्रसँग छलफल भइरहेको छ । जनता समाजवादी पार्टीसँग छलफल भएको छ ।

एमालेसँग पनि काँग्रेसको छलफल भइरहेको छ । सबै पार्टीसँग काँग्रेसका नेताहरुले विभिन्न तरिकाले अनौपचारिक– औपचारिक कुराकानी चलाइरहनु भएको छ । 

निर्णयमा चाहिँ किन पुग्न सकिराख्नुभएको छैन ?

–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामको आधिकारिताबारे सर्वोच्च अदालतले फागुन २३ गते गरेको  फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र साबिककै अवस्थामा फर्किएका छन् । एमाले र माओवादी केन्द्रले आफूलाई कसरी अगाडि बढाउनुहुन्छ, त्यसैमा धेरै कुरा भर पर्छ । काँग्रेस र जसपाले चाहेर मात्र त सरकार फेरबदल हुँदैन । सत्य कुरा त्यो हो नि त । अहिलेको अवस्थामा नेपाली काँग्रेसको समन्वयकारी भूमिका हुनुपर्छ र हुन्छ । नेपाली काँग्रेसले सबै दलसँग कुरा गर्नुपर्छ । सबै नेतासँग कुरा गर्नुपर्छ ।

एमाले, माओवादी, जसपा र संसदमा रहेका साना पार्टीसँग नेपाली काँग्रेसले संवाद गरेर वार्ता गरेर अहिलेको परिस्थितिबाट मुलुकलाई निकास दिनुछ । त्यसका लागि सहमतिको वातावरण बनाउने प्रयत्नको जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको छ । यो कुरा सत्य हो ।

तपाईंको पार्टी सभापतिले देशको नेतृत्व गर्न लालायित छैन भनेर किन भनिराख्नुभएको छ  ?

–सभापतिजीले आफ्नो व्यक्तिगत कुरा भनिसक्नु भएको छ । सभापतिजीले प्रधानमन्त्री हुन लालयित छैन मात्र भन्नु भएको छैन । मुलुकलाई निकास दिन नेपाली काँग्रेसको काँधमा जिम्मेवारी आएको पनि बताउनुभएको छ । उहाँले म प्रधानमन्त्री हुँदिनँ पनि कहाँ भन्नुभएको छ ? संसदीय व्यवस्थामा विपक्षी दलको नेता ‘प्राइममिनिस्टर इन वेइटिङ’ हो पनि भन्नुभएको छ नि । प्रधानमन्त्रीका लागि उथलपुथल गर्ने प्रवृत्तिमा छैन मात्र भन्नुभएको हो । यतिबेला दलहरुबीच कुरा चलिरहेका छन् । म फेरि भन्छु काँग्रेसले एक पटक ऐतिहासिक भूमिका निर्वाह गरेजस्तै अब सबै दलसँग वार्ता र संवाद गरेर एक ठाउँमा उभ्याउने प्रयत्नको जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको छ । त्यो जिम्मेवारीलाई काँग्रेसले धैर्यतापूर्वक, गम्भीरतापूर्वक, जिम्मेवारीपूर्वक अगाडि बढाउनुपर्छ । त्यसका लागि पार्टी सभापति लगायतका नेताहरु लागिरहनु भएको छ । यो आन्तरिक रूपमा भएकाले देखिने कुरा भएन । अनौपचारिक कुराकानी भइराखेका छन् ।

त्यसो भए अनौपचारिक छलफलले सहमतिको आकार कहिले ग्रहण गर्छ ?

–नेकपा एमाले र माओवादी केन्द्र भर्खर पार्टीगत रूपमा काम गर्दै हुनुहुन्छ । उहाँहरु कसरी प्रस्तुत हुनुहुन्छ । उहाँहरुले कसरी निर्णय लिनुहुन्छ ? उहाँहरुको केन्द्रीय कार्यसमिति र संसदीय दलले के गर्छ ? कसरी प्रस्तुत हुनुहुन्छ ? त्यसमा धेरै कुरा भर पर्छ । तर नेपाली काँग्रेसले अहिले खडा भएको नयाँ परिस्थितिलाई सम्हाल्नका लागि सबैलाई समेटेर समन्वय गरेर एक ठाउँमा ल्याउने काम गर्नुपर्छ । समन्वयकारी र नेतृत्वदायी भूमिकामा काँग्रेस अगाडि बढ्नुपर्छ । पार्टी सभापति, वरिष्ठ नेता लगायतका नेताहरु त्यो काममा लागिरहनु भएको छ ।

वर्तमान केपी ओली सरकारको विकल्प दिनुपर्छ भन्नेमा काँग्रेसमा एकत नै देखिन्छ । तर प्रतिनिधि सभा पुनः स्थापना भएपछि तेस्रो पटक प्रतिनिधि सभा बैठक बस्न लाग्दा पनि किन विकल्प खडा गर्न सकेन भन्ने प्रश्न छ नि ? अविश्वासको प्रस्ताव दिन काँग्रेसले किन सकिरहेको छैन ?

–संवाद चलिरहेको छ । कुराकानी भइरहेको छ । त्यसको निष्कर्ष नआइकन हामीले यो गर्छौं भनेर घोषणा गरेर परिणाम आउँदैन नि । अहिले काँग्रेस अनौपचारिक संवादमै छ । सबै दल, सबै दलका नेताहरुसँग संवाद जारी छ । कुराकानी भइरहेका छन् । ती कुराकानीका क्रममा एउटा निष्कर्षमा पुग्ने वातावरण नबनी अविश्वासको प्रस्तावबारे के गर्ने के नगर्ने भनेर निर्णय गरिहाल्ने अवस्था भएको छैन । केही समय लाग्छ, नेकपा एमाले र नेकपा माओवादी केन्द्र भर्खर अलग–अलग पार्टी भएको बुझिदिनुपर्छ । उहाँहरु आफ्नो पार्टी व्यवस्थित गराउनेतिर लाग्नुभएको छ ।

माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा नेपाली काँग्रेसलाई निर्णय लिन अप्ठ्यारो भएको भनेर बुझ्दा हुन्छ ।

– मैले जे भनेको हो त्यति नै हो । यो तपाईंको बुझाइ हो । तपाईंको बुझाइ मैले भन्ने कुरा भएन ।

यतिबेला नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाले काँग्रेसको कारण निर्णयमा पुग्न बिलम्ब भएको भनिरहेको छ नि ? काँग्रेस खुलेर सत्ता समीकरण किन आइरहेको छैन ?

–उहाँहरु (महन्थ ठाकुर– उपेन्द्र यादव)कै पार्टीमा (जसपा) छलफल चलिरहेको छ । उहाँहरुको पार्टीमा ठ्याक्कै एक मत भइसकेको छैन । यो देखिएकै छ । काँग्रेसभित्र छलफल भएर एक खालको दृष्टिकोण बनेको छ । जसपाका नेताहरु एउटा दृष्टिकोण बनाउँदै हुनुहुन्छ । एमालेको दृष्टिकोण बनिसकेको छैन । माओवादी केन्द्रको पार्टी गत दृष्टिकोण बनिसकेको छैन । प्रचण्डजीले भेटेर के भन्नुभयो, फलानाले भेटेर के भन्नुभयो, माधवजीले अथवा ओलीजीले के भन्नुभयो भन्ने कुराले महत्त्वपूर्ण हुँदैन ।

पार्टीको दृष्टिकोण पनि बन्नुपर्यो नि त ? त्यो बन्ने क्रममा छ । सबै नेताहरु आआफ्नो पार्टीमा जिम्मेवारीपूर्वक लाग्नुभएको छ । काँग्रेसले अहिलेको परिस्थितिमा सबै दलहरूलाई एकै ठाउँ उभिने अवस्था निर्माण गर्नेछ । देशले काँग्रेसको नेतृत्वदायी भूमिका खोजेको छ ।

शुक्रबारको पदाधिकारी बैठकबाट सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने सहमति भएको हो ?

– हो । पार्टीको पदाधिकारी बैठकले निर्णय नै गरिसकेको छ । त्यसमा अन्यथा शङ्का उपशङ्का यो हो होइन भन्ने प्रश्न नै छैन ।

पदाधिकारी बैठकबाट निर्णय भएको भन्नुभयो, आधिकारिक रूपमा निर्णय सार्वजनिक भएको छैन नि ?

–यसमा विज्ञप्ति आउनुपर्ने आवश्यकता भए विज्ञप्ति नै आउला । अहिले जे कुरा आएको छ त्यही हो ।

त्यसो भए सभापतिलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र एक मत बनेको हो ?

–हो, यसमा दुई मत छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप