बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालकी पहिलो महिला डेपुटी गभर्नरको कथा

एक पटक रद्द भएको परीक्षाले भाग्य बदल्यो
बुधबार, ०४ चैत २०७७, ०९ : ४९
बुधबार, ०४ चैत २०७७

मानिसले सोचेको जब पूरा हुन्छ नि तब सारा संसार नै उसकै पक्षमा छ जस्तो अनुभव गर्छ । त्यसपछि आउन थाल्छ हिम्मत, आत्मविश्वास र खुसी । अनि आउँछ नयाँ उत्साहका साथ काम गर्ने जाँगर पनि । बैङ्किङ इतिहासमा पहिलो महिला डेपुटी गभर्नर बनेर इतिहासमा नाम लेखाउन सफल भएकी डा. निलम ढुङ्गानालाई पनि अहिले त्यस्तै सोच आउन थालेको उनका अभिव्यक्तिबाट बुझ्न कठिन छैन । उनमा छुट्टै खालको उत्साह र खुसी  देखिन्छ ।

जब उनी राष्ट्र बैङ्कमा तेस्रो नम्बरकी  कार्यकारी निर्देशक भइन् त्यतिबेलादेखि नै आफूलाई डेपुटी गभर्नरको दाबेदार सोच्न थालिसकेकी थिइन् ।  समावेशी बनाउनका लागि पनि यस पटक सरकारले आफूलाई चयन गर्छ भन्नेमा उनी विश्वस्त भइन् । आखिर हुन पनि उनले सोचेजस्तै भयो । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक नहुँदै उनी विभिन्न सञ्चार माध्यममा छाइन्– नेपालकी पहिलो महिला डेपुटी गभर्नर बनेर ।

हुन त उनीसँगै बमबहादुर मिश्र पनि डेपुटी गभर्नरमा छनोट भएका थिए तर उनीभन्दा बढी ढुङ्गाना चर्चाको पात्र बनिन् । कारण उनले रचेको इतिहास नै थियो । राष्ट्र बैङ्कको इतिहासमा अहिलेसम्म त्यो तहसम्म कुनै महिला पुगेकै थिएनन् ।

वि.स. २०२५ सालमा दमकमा जन्मिएकी ढुङ्गाना आफ्नो अध्ययनकालमा कहिले पनि राष्ट्र बैङ्कमा जाने सोचेकी थिइनन्  । जब उनले एमबीएस पास गरिन् त्यसपछि उनले एमबीएलाई नै पढाउँन थालिन मोरङ कै कलेजमा । उनले कमर्स पढ्नुको एउटा बाध्यता थियो, एसएलसी पास भएपछि घरदेखि टाढा पढाउन उनका आमा बुबाले हिम्मत नै गरेनन् । छोरीलाई टाढा पठाउन उनका अभिभावकको मनले मानेन सायद । त्यही भएर उनले मोरङमै खुलेको कमर्स पढाइ हुने क्याम्पसमा सो विषय पढ्न बाध्य भइन् ।

उनको शैक्षिक पृष्ठभूमि कमर्सकै गोरेटोमा हिँडिरहेको थियो । उनले कलेज पढाउँदै गर्दा उनका विद्यार्थीले एक दिन भनेका थिए, ‘म्याडम तपाईंले राष्ट्र बैङ्कको तयारी गर्नुस्, नाम निकाल्नु हुन्छ ।’ उनीहरुको कुरा सुनेपछि उनले पत्रपत्रिका पढ्न थालिन् । राष्ट्र बैङ्कमा आवेदन खुलेको थाहा पाएपछि उनले फारम भरिन् र परीक्षा दिन काठमाडौँ आइन् । मोरङबाट रात्रि बसमा परीक्षा दिन आएकी उनले भोलिपल्ट राष्ट्र बैङ्क जनशक्ति व्यवस्थापन विभागमा राजनीति परिवर्तनसँगै परीक्षा स्थगित भएको सूचनाबाट थाहा पाइन रे । उनी जावलाखेलमा आफन्तको घरमा बस्न गाडी चढेर जाँदै थिइन रे । सोही बेला उनले रत्नपार्कमा राष्ट्र बैङ्क प्रतियोगिताको  किताब फिँजाएर बेच्न राखेको देखिन् र सोचिन् यो त मलाई काम लाग्ने रहेछ । उनले सो पुस्तक किनेर आफन्तको घरतिर सोझिइन् । फेरि रात्रिबसमै घर फर्किइन् । घरमा उनले सो किताब यसरी रटिन् कि मूलमन्त्र नै उनलाई त्यही किताबमा लेखिएका कुरा हुन् भन्ने भयो । अन्तत वि.स. २०५४ मा उनको परीक्षा भयो ।

नाम निक्लेको थाहै भएन, झण्डै अन्तरवार्ता छुट्यो

 राष्ट्र बैङ्कको परीक्षामा उनले मूलमन्त्र मानेको सो किताबले काम गरेको उनको स्मरण छ । उनी भन्छिन्, मलाई आफ्नो नाम निस्केको थाहै थिएन । आफन्तले बधाइ दिएपछि पो तिम्रो राष्ट्र बैङ्कमा नाम निस्किएछ भने । अहिले जस्तो अनलाइन हेर्न सकिने अवस्था थिएन । जे गरे पनि भौतिक रूपमा उपस्थित भएरै गर्नुपर्ने अवस्था थियो । नाम निस्किएको एक हप्तापछि  बैङ्कमा अधिकृत स्तरमा नाम निस्किएको थाहा पाएर उनले नेपाल राष्ट्र बैङ्क विराटनगर कार्यालयमा सोध्न पुगिन् । त्यहीँबाट आफ्नो नाम निस्किएको निश्चय भएपछि अन्तरवार्ताका लागि रात्रि बस चढेर काठमाडौँ हानिइन् ।

त्यसमा पनि छनोट भएपछि उनलाई लाग्यो मिहिनेत गरे के नहुँदो रहेछ ? अनि उनले आफ्नो २ वर्षे अध्यापन पेसालाई बिट मार्दै बैङ्किङ यात्रा सुरु गरिन् ।

कार्यकारी निर्देशक भएपछि आशा पलायो

सानो तहमा भएका मानिसहरु एक तहमाथि जाने इच्छा राख्छन्  । राष्ट्र बैङ्कमा काम गर्न थालेपछि उनलाई पनि त्यस्तै इच्छा आयो  । आफू एक तह माथि जान पाए हुन्थ्यो भन्ने उनलाई जुन तहमा पुग्दा पनि लागिरह्यो । उनले आन्तरिक प्रतिस्पर्धा कहिले पनि महिला भएर समावेशी रूपमा गरिनन् रे । सधैँ पुरुषहरुसँगै प्रतिस्पर्धा गर्दै अगाडि बढिन् । उनी अहिले पनि १६ जना पुरुषसँग प्रतिस्पर्धा गरेर यो पदमा आएको बताउँछिन् । भन्छिन्, ‘राष्ट्र बैङ्कमा १७ जना कार्यकारी निर्देशक थियौँ, म एक महिला र बाँकी सबै पुरुष । तिनै १६ जना पुरुषसँग मेरो प्रतिस्पर्धा थियो । बरियतामा तेस्रो भएकाले पनि मलाई आशा थियो  ।’

कार्यकारी निर्देशकको कार्यकाल सात वर्षको हुन्छ । त्यस बीचमा एक पटक डेपुटी गभर्नरको पद खाली हुन्छ । यस कारण पनि उनमा आशा जाग्नु स्वाभाविक हो ।

जग नभई आधार बन्दैन

उनका बुबा माध्यमिक विद्यालयका  निरीक्षक थिए भने आमा शिक्षक थिइन् । अध्ययन पेसामै रहेका आमाबुबाका कारण उनलाई सधैँ पढ्न हौसला मिल्थ्यो रे । पढेर आत्मनिर्भर बन्नुपर्छ, सरकारी सेवामा भिड्नुपर्छ भनेर उनका आमा बुबा सधैँ उनलाई भनिरहन्थे । यसकारण सोहीअनुसारको वातावरण पनि उनलाई मिल्दै गयो ।

पढाइमा सधैँ अब्बल रहिन् । जिन्दगीमा अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन उनलाई । आफू महिला भएकै कारण पछि परिने हो कि भन्ने डर कता कता थियो रे उनलाई पनि तर सुरुमा आफ्नो काम देखाएर प्रमाणित गर्न रातदिन मिहिनेत गरिन् । त्यसकारण पनि महिला हुनुको विभेद न उनले घरमा भोगिन्, न त कार्यालयमा नै । उनको कार्यक्षमता माथि कसैले प्रश्न उठाउन सक्तैनथे । मिहिनेत गरे भने महिलाले पनि उचित स्थान पाउँदो रहेछन् भन्ने पाठ उनले राम्ररी सिकेकी छन् । यसकारण त उनको मिहिनेतले विश्राम खोजेको छैन । डेपुटी गभर्नर बनेपछि त उनमा झन् नयाँ जोस र उत्साह देखिएको छ ।

रातोपाटीले कुराकानीका लागि सोमबार साढे तीन बजेको समय लिएर नेपाल राष्ट्र बैङ्क उनकै कार्यकक्षामा पुग्दा झण्डै एक दर्जन मानिसहरु खादा र फुलको गुच्छा बोकेर उनको मिहिनेतको सम्मान  गर्न  बसिरेहका थिए । ढुङ्गानालाई बधाई दिन कार्यकक्ष बाहिर उभिएर बसेका ती जमातले एक एक गर्दै बधाई दिए । ढुङ्गाना हँसिलो मुद्रामा सबैको बधाई पालैपालो लिँदै रहिन् ।

काँधमा आएको जिम्मेवारीलाई उनले सुरक्षित अवतण गराउन सक्लिन् या नसक्लिन् त्यो भावी दिन र उनको कार्यशैलीले देखाउने नै छ ।

बाँकी भिडियोमा...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप