शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा लागु औषधले निम्त्याएको दुईवटा हत्याकाण्ड

बिहीबार, ०५ चैत २०७७, १४ : ०७
बिहीबार, ०५ चैत २०७७

काठमाडौं । छोरीको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेपछि बल्खुमा हत्या गरिएकी सन्तोषी श्रेष्ठकी आमाले आँसु पुछ्दै भनिन्, ‘लकडाउनभरि पाल्यौँ, ज्वाइँ होइन, हामीले सर्प पालेछौँ ।’  गत सोमबार सन्तोषीलाई उनकै श्रीमान् सन्तोष सापकोटाले ह्यामरले टाउकोमा हिर्काएर हत्या गरे । महानगरीय प्रहरी परिसर काठमाडौंले आरोपीलाई बुधवार सार्वजनिक गरेको थियो ।

सन्तोष र सन्तोषीको बीचमा १२ वर्षअघि प्रेम विवाह भएको थियो । उनीहरुको एउटा सन्तान छ । सम्बन्ध बिग्रिएपछि श्रीमतीको हत्या गरेको सन्तोषले प्रहरीलाई साविती बयान दिएका छन् । सन्तोषीकी आमाले रातोपाटीसँग भनिन्–‘मेरो छोरी मार्नेलाई जन्मकैदको सजाय हुनुपर्छ ।’

रङ्ग लगाउने सीप भएका सन्तोष लागु औषध प्रयोगकर्ता हुन् । उनका बुवा नारायण सापकोटाले रातोपाटीसँग भने–‘सँधै डुली हिँड्थ्यो, साथीहरुसँग मिलेर ट्याब (लागु औषध) खान्थ्यो ।’

लागु औषधको नशामा उनले पत्नीलाई कुटपिट गर्न थालेपछि पछिल्लो १ वर्षयता सन्तोषी माइतीघरमा बस्न थालिन् । छोरालाई पनि जोरपाटीस्थित माइतीमा नै राखेर पढाउन थालेकी थिइन् । ३३ वर्षीया सन्तोषीले पतिसँग सम्बन्ध विच्छेदको प्रस्ताव गरिन् । सम्बन्धविच्छेदको कुरा उठेपछि उनीहरुबीच विवाद झनै बढ्यो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार सन्तोषले लागु औषध नशाको सुरमा सन्तोषीको हत्या गरेका हुन् । हत्यापछि उनी शव व्यवस्थापन गर्ने तयारी गर्दै थिए । भाइ तेजबहादुरले घरको पेटीमा राखेको बोराबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरे । अनि, शव व्यवस्थापन गर्ने उनको योजना सफल हुन पाएन ।

हत्यापछि ओखलढुङ्गा घर भएका सन्तोष कार्कीसँग उनले २ सेट लागु औषध मागेका थिए । महानगरीय प्रहरी परिसरको टोलीले उनीसँग लागु औषध सेवन गर्ने समूहका सन्तोष कार्की र काभ्रे पाँचखाल घर भएका रोहित शर्मालाई पक्राउ पनि पक्राउ गरेको छ । उनीहरुको साथबाट २३ एम्पुल नुफ्रिन, २४ एम्पुल डाइजेपाम र २२ एम्पुल फेनारगन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

बुवा नारायण सापकोटाका अनुसार सन्तोष यसअघि लागु औषध मुद्दामा जेल बसेर छुटेका थिए ।

टोखा : ‘गाँजा’को विवादमा हत्या

काठमाडौंको टोखामा आशिष लिम्बुको हत्या भयो । फागुन २९ मा टोखा नगरपालिका–१ स्थित मालुङ्ग  साङ्ला ढलान सँगैको बाँसको झाङमा २२ बर्षिय आशिषको शव फेला परेको थियो ।

आशिष वुवा–आमासँग टोखामा डेरा लिएर बस्थे । डेरा नजिकैको ‘एमडी’ मोटरसाईकल वर्कशप सञ्चालक र कामदार मिलेर उनको हत्या गरेको काठमाडौँका एसएसपी सिंहले रातोपाटीलाई बताए ।

मोरङको बेलवारी–२ घर भएका आशिष लागु औषध प्रयोगकर्ता हुन् । उनी वर्कशपमा गाँजा तान्न गइरहन्थे । फागुन २८ मा साँझ ८ बजेतिर आशिषले साथीसँग गाँजा मागे । अनि, वर्कशपमा गए । 

आशिष गाँजा भर्दै थिए । वर्कशपका मिस्त्री  भुपेन्द्र कुमार शाहले उनलाई भने–‘सँधै आएर यहाँ गाँजा खान मिल्छ ?’

भुपेन्द्र भारतीय नागरिक हुन् । १९ वर्षिय भुपेन्द्रलाई आशिषले झापड हिर्काए । मिस्त्रीलाई झापड हानेपछि वर्कशप सञ्चालक मोहम्मद कासिम मन्सुरीले सटर लगाए ।

रौतहट घर भएका मन्सुरी, शेख अब्दुल र भुपेन्द्र कुमार मिलेर वर्कशप भित्र आशिषको हत्या गरे ।

‘लेवल पाइप घाँटीमा बेरेर हत्या गरेको देखिन्छ’ महानगरीय प्रहरी परिसर एसएसपी सिंह भन्छन्–‘तीनजना मिलेर कुटपिट गरेपछि घाँटीमा पाईपले बाँधेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।’

हत्यापछि आशिषको शव तन्नामा पोको पारेर करिब ४५ मिनेट पर बाँसको झाङमा लगेर शव ब्यवस्थापन गरे ।  वर्कशपमा बनाउन छाडेको स्कुटर मोहम्मद कासिम मन्सुरीले चलाए, शेख अब्दुल आशिषको शव समातेर पछाडी बसे । अर्को स्कुटर लिएर भुपेन्द्र कुमार पनि सँगसँगै गएर शव ब्यवस्थापन गरेको उनीहरुले प्रहरीलाई साबिती बयान दिएका छन् ।

अविवाहित आशिष लागु औषध सेवनकर्ता हुन् । हत्या हुनुअघि दिउँसो उनी मोटरसाईकल दुर्घटनामा परेका थिए । नशाको सुरमा नै मोटरसाईकल चलाउँदा दुर्घटनामा परेको बताइएको छ ।

लागु औषधको नशामा आशिषले मोहम्मद कासिम मन्सुरी र उनका कामदारलाई थर्काइरहन्थे । हत्या आरोपीहरुले प्रहरीसँग भनेका छन्, ‘आशिषले हामीलाई सँधै हेप्ने गरेको थियो ।’

टोखा र बल्खुमा ३ दिनको अन्तरमा भएका दुईवटा हत्याको एउटै कारण छ–‘लागु औषध ।’ ‘लागु औषध मुख्य कारण देखिएको छ’ एसएसपी अशोक सिंह भन्छन्–‘क्षणिक आवेग अर्को कारण हो, तर मुख्यचाहिँ लागु औषध नै देखिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रतिक्षा भट्ट
प्रतिक्षा भट्ट
लेखकबाट थप