शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कोरोनाको दोस्रो लहरको त्रास

जनस्वास्थ्यका मापदण्ड पालनामा उदासीनता
शनिबार, ०७ चैत २०७७, ११ : ५५
शनिबार, ०७ चैत २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर पछिल्लो समय कम देखिए पनि जोखिम कायमै रहेको जनस्वास्थ्यविद्हरु बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएका कारण अन्य मुलुकमा झैं नेपालमा पनि संक्रमण दर पुनः उच्च हुनसक्ने जनस्वास्थ्यविद्हरुको चेतावनी छ ।

नेपालमा आन्तरिक रुपमा कोरोना संक्रमण छँदैछ, अर्कोतिर भारतबाट संक्रमणको लहर आउन सक्ने जोखिम कायम रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला बताउँछन् ।

जनस्वास्थ्यविद् रविन्द्र पाण्डे पनि संख्यात्मक हिसाबले संक्रमण कम देखियो भन्दैमा सावधानी अपनाउन छोडेमा छिमेकी राष्ट्र भारतमा झैँ नेपालमा पनि नयाँ संक्रमित वृद्धि हुन सक्ने बताउँछन् ।

भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि नाइट कर्फ्यू जारी गरेको छ । महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतका विभिन्न राज्यमा कोरोना संक्रमण बढेकाले नेपालमा त्यसको प्रभाव देखिन सक्ने भन्दै आवतजावत र जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने जनस्वास्थ्यविद् पाण्डे बताउँछन् ।

यता डा. बाँस्तोलाले कोरोनाविरुद्धको खोप नेपालमा भित्रिए पछि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न हेलचेक्र्याइँ देखिएकाले सम्भावित जोखिमतर्फ ध्यान दिनुपर्ने खाँचो औंल्याउँछन् ।

संक्रमण दर उच्चविन्दुमा पुगेर क्रमशः ओरालो लागेका देशमा धमाधम संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन घोषणा गरिएको छ । फ्रान्सले पछिल्लो समयमा कोरोनाभाइरसको संक्रमण पहिलेको तुलनामा निकै बढेपछि बढी प्रभावित विभिन्न १६ वटा राज्यमा लकडाउन घोषणा गरेको हो ।

संक्रमण तीव्र गतिमा बढेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले करिब चार महिनाअघि मात्र पनि दोस्रोपटक लकडाउनको घोषणा गरेका थिए ।

मास्क लगाउन उदासीनता

संक्रमित दर कम भए पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसियुमा भर्ना हुने बिरामीको संख्यामा कमी आएको छैन ।

कोरोना संक्रमण भएर कात्तिकमा ६१, मंसिरमा ५७, पुसमा २७, माघमा २८ र फागुनमा ३० जना आइसियुमा भर्ना भएका थिए । तर, समुदायमा कोरोना संक्रमण दर कायम भए पनि स्वास्थ्य सुरक्षामा हेलचेक्य्राइँ गर्नेहरूको संख्या बढेको भन्दै डा. बास्तोलाले चिन्ता व्यक्त गरे । ‘उदाहरणका लागि हिजोआज मास्क लगाउनेहरू कागको बथानमा बकुल्लाजस्तै देखिन्छन्,’ उनले भने, ‘यही तरिकाले सुरक्षाका मापदण्ड पालना नगरे जोखिम झन् बढ्छ ।’

सावधानी नअपनाइकन भोजभतेरमा सामूहिक रुपमा सहभागी भएका २५/२६ जनालाई एकैपटक कोरोना संक्रमण भएको अस्पतालमा उपचाररत बिरामीमार्फत थाहा पाएकोसमेत उनले सुनाए । यसरी जनस्वास्थ्यका मापदण्ड पालना नगरे अवश्य पनि संक्रमण बढ्ने भन्दै उनले सबैलाई सावधानी अपनाउन आग्रह गरे ।

‘सुरक्षा अपनाए जुन प्रजातिको भाइरस आए पनि फरक पर्दैन’

विश्वमा कोरोनाभाइरसको नयाँनयाँ प्रजाति देखापरेको छ । जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा अपनाएको खण्डमा नेपालमा जुन खालको कोरोनाभाइरसको प्रजाति आए पनि केही नहुने डा. बाँस्तोलाको विश्वास छ । 

‘स्वास्थ्य सुरक्षा अपनाएमा बेलायत, फ्रान्स, भारत जतासुकैको नयाँ प्रजातिको कोरोना भाइरस आए पनि केही हुँदैन,’ उनले भने, ‘संक्रमित हुने कि नहुने, सावधानी अपनाउने कि नअपाउने, त्यो हाम्रै हातमा छ ।’   

सरकारले समुदायमा संक्रमणबारे थाहा पाउन सातवटै प्रदेशबाट ३ हजार १ सय ५० वटा रगतको नमुना संकलन गरेको थियो । सेरो–प्रिभिलेन्स सर्भे गर्दा १३.९ प्रतिशतमा कोरोनाभाइरस विरुद्धको एन्टिबडी बनेको पाइएको थियो । सर्वेक्षणमा बागमतीमा करिब २२ प्रतिशत र सबैभन्दा बढी २ नम्बर प्रदेशमा करिब २८ प्रतिशतमा एन्टिबडी बनेको देखाएको थियो । विगतमा जनस्वास्थ्यका मापदण्ड अपनाएर जोगिएका भए पनि अब सावधानी नअपनाएमा संक्रमण हुन सक्नेतर्फ उनले सचेत बनाए ।

खोपको अभाव

नेपालमा कोरोनाविरुद्धको खोप भित्रिए पनि सर्वसाधारणको पहुँचमा खोप पूर्णरुपमा पुगेको छैन । त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुको विकल्प नभएको जनस्वास्थ्यविद् पाण्डे बताउँछन् । कोरोनाविरुद्धको खोप निर्माण भए पनि कोरोना संक्रमण केही होइन भन्ने भ्रमबाट मुक्त हुनुपर्ने उनको भनाइ छ । खोप सर्वसाधारणको पहुँचमा नपुगेकाले जोखिम कायम रहेको उनले बताए ।

हाल नेपालको सन्दर्भमा जनस्वास्थ्य मापदण्डभन्दा अन्य कुनै खोप नभएको भन्दै उनले पछिल्लो समयमा कोरोना संक्रमणको शंका लागे पनि पिसिआर नगरिकन कोही घरभित्रै बस्ने र कोही सावधानी नअपानाइकन बाहिर निस्कने गरेको भन्दै उनले यसबाट ठुलो जोखिम निम्तिन सक्ने बताए ।

नेपाल अझै कोरोना महामारीकालमै भएकाले सचेत हुन जरुरी रहेको उनले बताए । पहिलो मात्राको खोप लगाएका व्यक्तिहरूले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको पाइएको उनले सुनाए ।

‘पहिलो मात्रा खोप लगाउँदैमा जनस्वास्थ्यको मापदण्ड पालना नगर्नु मूर्खता हो,’ उनी भन्छन्, ‘जबसम्म शरीरमा एन्टिबडी विकास हुँदैन, एन्टिबडीलाई बुस गर्न दोस्रो खोप लगाइँदैन, त्यसैले दोस्रो खोप नलगाएसम्म सुरक्षित भइँदैन ।’

पहिलो र दोस्रो मात्राको खोप लगाए पनि जनस्वास्थ्यका मापदण्ड पालना अनिवार्य रुपले गर्नुपर्ने उनले बताए ।

स्थल र हवाई मार्गमा सधैं निगरानी राख्नुपर्छ

भारतमा कोरोना संक्रमण दर पछिल्लो समय बढेको छ । अन्य मुलुकमा समेत कोरोना संक्रमणको दर पछिल्लो समय एक्कासी बढ्न थालेको छ । यस्तो अवस्थामा भारत लगायत अन्य राष्ट्रबाट स्थल र हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्नेलाई सधैं निगरानीमा राख्नुपर्ने जनस्वास्थ्यविद् पाण्डे बताउँछन् । ‘जब महामारी आउँछ, तबमात्र सीमा नाकामा स्वास्थ्य सुरक्षा अपनाउने होइन,’ उनले भने, ‘अन्य समयमा पनि सावधानी अपनाउनुपर्छ ।’

धेरै राष्ट्रमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएकाले त्यहाँबाट आउने नागरिकलाई क्वारेन्टिन, आइसोलेसनका नियम पालना गरेर संक्रमण बढ्न नदिनेतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने डा. बाँस्तोला समेत बताउँछन् ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेशन, क्वारेन्टिन परीक्षणको व्यवस्था गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप