शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झा दम्पती बेपत्ता प्रकरण : अभियुक्त सार्वजनिक, दम्पतीको अवस्था अझै अज्ञात

सोमबार, ०९ चैत २०७७, १० : ५७
सोमबार, ०९ चैत २०७७

जनकपुर । महोत्तरीको पिपरा गाउँपालिकास्थित सोहडवाका वृद्ध दम्पती सुतिरहेको अवस्थामा आफ्नै घरबाट बेपत्ता भएको महिना दिन बित्दासमेत उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन ।

फागुन १० गते मध्यरातमा ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीय उनकी पत्नी गीतादेवी झा आफ्नै कोठामा सुतिरहेको बखत बेपत्ता भएका थिए ।

झा दम्पती फेला नपरे पनि प्रहरीले ४ जनालाई उनीहरुको अपहरणको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको छ । सो घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) सक्रिय भएको दुई दिनमै ४ जना आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

आरोपितहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेपछि आन्दोलनसमेत मत्थर भएको छ । तर झा दम्पतीको अवस्था पत्ता नलाग्दा अझै विभिन्न शंका कायमै छ ।

घरका सदस्यहरु बिहान उठेपछि कोठामा वृद्ध दम्पती नरहेको भन्दै छरछिमेकमा खबर गरेका थिए । उनीहरु सुतेको कोठामा रगतका छिटाहरु यत्रतत्र देखिएको र घिसारेको चिह्नसमेत पाइएपछि उनीहरुमाथि सांघातिक आक्रमणसमेत भएको हुन सक्ने अड्कलवाजी गरिएको थियो । घरपरिवारले प्रहरीलाई घटनाबारे जानकारी गराएसँगै प्रहरीले अनुसन्धान थाले पनि उनीहरुको अवस्थाबारे सुइँको पाउन नसक्दा स्थानीयस्तरमा चरणवद्ध आन्दोलन हुन थालेको थियो ।

लामो समयसम्म पनि घटनामा संलग्नहरुको पहिचान हुन नसक्नुका साथै वृद्ध दम्पतीको अवस्थासमेत पत्ता लाग्न नसकेपछि सिआईबीलाई अनुसन्धानको जिम्मा लगाइएको थियो ।

सिआईबी सक्रिय भएको दुई दिनमै झा दम्पतीको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले एकै परिवारका ३ जनासहित ४ जनालाई सार्वजनिक गरेको छ । प्रहरीले झा दम्पतीको अपहरणमा संलग्न रहेको अभियोगमा पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनकै छोराहरु २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव, भारतको बिहारस्थित मधुवनी जिल्लाको थाना मधुवापुर, ग्रामपञ्चायत तरैया–२ स्थित अनदौली घर भई हाल महोत्तरीकै पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित बनौली चोक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

झा दम्पतीको अवस्था वा उनीहरु जीवित रहे नरहेको विषयमा अहिलेसम्म स्पष्ट हुन नसकेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । उनका अनुसार प्रहरीले भारतीय सीमामा रहेका प्रहरी युनिटहरूसँग समन्वयसमेत गरेको छ ।

उक्त घटनामा हालसम्म जिल्ला प्रहरी कार्यालय महोत्तरी, २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा जनकपुरबाट विभिन्न टोलीले अनुसन्धान गरेका छन् । अहिले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप अनुसन्धान गरिरहेको छ ।  

पक्राउ परेका भारतीय नागरिक हरेन्द्र ठाकुरले महोत्तरीकै सहोडवा गाविस वडा नं. ६ स्थित अन्दाजी १३ बिघा जग्गामा प्लटिङ गरेको, सो प्लटिङको उत्तरतर्फ हाल बेपत्ता पारिएका मुसाफिर झाको १४ कट्ठा जग्गा रहेको प्रहरीको भनाइ छ । सो जग्गाभन्दा उत्तरतर्फ हरेन्द्र ठाकुरको हाल बाटो नभएको २ बिघा जग्गा रहेको र सो जग्गामा जान मुसाफिर झाको जग्गा हुँदै बाटो लैजानुपर्ने भएकाले १४ कट्ठा जग्गा विक्री गर्न मुसाफिरलाई पटक–पटक दवाव दिएको पाइएको पनि प्रहरीले जनाएको छ ।

बाटो नभएकै कारण हरेन्द्रको जग्गा हाल खेतको भाउमा बिक्री हुने तर सोही जग्गा बाटो जोडी प्लटिङ गर्दा घडेरीको रूपमा उच्च मूल्यमा बिक्री हुने भएकाले पनि घटनामा उनको संलग्नता हुनसक्ने भन्दै सिआइबीले उनीतिरै अनुसन्धान सोझ्याएको थियो ।

पक्राउ परेका रामबाबु यादवको माध्यमबाट हरेन्द्र यादवले प्लटिङको जग्गा खरीद गरेको, सो कारोबारमा हरेन्द्र यादव र रामबाबु यादव साझेदार रहेको प्रहरीको भनाइ छ ।

पोलिग्राफ रिपोर्टले प्रहरीलाई सहज
रामबाबु यादवको घरको पश्चिमतर्फको ढोकाको दक्षिण भित्ता र घरको कोठाभित्र विभिन्न स्थानमा रगतजस्तो रातो पदार्थ फेला परेको थियो । प्रहरीका अनुसार परीक्षण गर्दा उक्त पदार्थ मानव रगत नै रहेको पुष्टि भएको थियो ।

पक्राउ परेका चारैजना शंकित ब्यक्तिको पोलिग्राफ गरिएको र पोलिग्राफ गर्दा निजहरूले झुटो बोलेको पुष्टि भएको प्रतिवेदन आएपछि प्रहरीलाई अनुसन्धानमा थप सहज भएको थियो ।

मुसाफिर झाको हाल बन्दै गरेको पक्की घर रामबाबु यादवले नै बनाएको हुँदा उक्त घरको सम्बन्धमा सम्पूर्ण बस्तुस्थितिबारे उनलाई राम्रो जानकारी रहेकाले पनि घटनामा नौलो व्यक्तिको संलग्नता नरहेको निष्कर्षमा प्रहरी पुगेको थियो ।

घटनास्थलबाट फेला परेका प्रमाण यस्ता थिए
मुसाफिर झा र निजकी श्रीमती गीतादेवी झा समेत सुत्ने कोठाभित्र रगतजस्तो रातो पदार्थ फेला परेको थियो ।

गीतादेवी झा सुत्ने घर कोठा भित्रबाट मुसाफिर झाले प्रयोग गर्ने सिमसहितको मोबाईल एक थान फेला परेको थियो ।

मुसाफिर झाको कोठाभित्र र कोठा बाहिरबाट मुसाफिर झाले प्रयोग गर्ने रिलेक्सो कम्पनीको एक जोर चप्पल पनि फेला परेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप