शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्सी चालक र पठाओ राइडरको सडकमै मारामार !

हाम्रो क्षेत्राधिकार भित्र पर्दैन : यातायात व्यवस्था विभाग
मङ्गलबार, १० चैत २०७७, १४ : २९
मङ्गलबार, १० चैत २०७७

प्रयास श्रेष्ठ

काठमाडौं । केही दिन अघिको मात्र कुरा हो, राजधानीको मुटु नै मानिएको दरबारमार्गमा ट्याक्सी व्यवसायी र पठाओ राइडरहरुबीच ग्याङ फाइट जस्तै प¥यो । कल–भेहिकल अर्थात् सेयर राइडिङ ‘पठाओ’ राइडर माथि ट्याक्सी व्यवसायीहरु जाइलागेपछि प्रतिवादमा पठाओ राइडरहरु पनि सडकमा उत्रिए । केही छिन् सडकको माहोल नै तनावपूर्ण अवस्थामा बदलियो । यो घटनाको केही दिनपछि पुनः कलङ्कीमा पनि यस्तै घटना दोहोरियो । सो स्थानमा पनि पठाओ राइडर र ट्याक्सी चालकहरूबीच नै घम्साघम्सी प¥यो । त्यसपछि, बानेश्वर, नयाँ बजार, बालाजु, भक्तपुरको काँडाघारी र हिजो मात्र सामाखुसीमा पनि यस्तै घटना दोहोरिएको छ ।

अहिलेको विवादको मुख्य जड भनेको ‘कालो नम्बर प्लेट’ र ‘रातो नम्बर प्लेट’को क्षेत्राधिकारको हो । पछिल्लो समय सहरमा व्यवसायिक कालो नम्बर प्लेटका भाडाको ट्याक्सीले जस्तै रातो नम्बर प्लेट धारी टुटल र पठाओ राइडरहरुले समेत चोक–चोकमा बसेर यात्रु बोक्न थालेपछि समस्या देखिएको हो ।

यी कम्पनीहरुले अनलाइन बुकिङमार्फत् मात्र सेयर राइडिङ सेवा दिने भनेर सञ्चालनमा आएका हुन् । तर यी कम्पनीहरुले पछिल्ला दिनहरुमा अफलाइन अर्थात् बाटोमै कुरेर मान्छे बोक्न थालेपछि अहिलेको समस्या आएको हो । यो मामलामा टुटलभन्दा पनि पठाओ कम्पनी अघि देखिएको छ । जसका हजारौँ राइडरहरुले यतिखेर सडकमा सेयर राइडिङ सेवा दिँदा भाडाका ट्याक्सीहरू प्रभावित हुन पुगेका छन् । जसले अहिलेको झडपको स्थिति बनेको छ ।

पटक–पटक विवाद देखिए पनि यो समस्या समाधान गर्न सरकारको  ध्यान जान सकेको छैन ।  बरु ऐन नियम भित्र नपर्ने टुटल र पठाओ जस्ता कम्पनीलाई आफूहरुले केही गर्न नसक्ने यातायात व्यवस्था विभागको उत्तर छ । ‘अहिलेसम्म टुटल र पठाओ यातायात व्यवस्थापन ऐन बमोजिम सञ्चालित यातायात सेवा होइनन् । त्यसैले यी कम्पनी हाम्रो क्षेत्राधिकार भित्र पर्दैन,’ यातायात व्यवस्थापन विभागका प्रवक्ता डा.लोकनाथ भुसालले भने, ‘कानुनतः यस्ता कम्पनीहरु यातायात व्यवस्थापन ऐन अन्तरगत आए मात्र हामीले हेर्न मिल्छ, नत्र केही गर्न सक्दैनौँ ।’ 

अनलाईन सेवालाई अफलाइनमा लैजाँदा समस्या

यतिखेर नेपालमा प्रमुखतः दुई वटा सेयर राइडिङ कम्पनी टुटल र पठाओ सञ्चालनमा छन् । सन् २०१६ मा सञ्चालन आएको नेपाली अनलाइन सवारी बुकिङ्क सेवा ‘टुटल’ र सन् २०१८ मा मात्र सञ्चालनमा आएको बंगलादेशी कम्पनी ‘पठाओ’ले नै यतिखेर सेयर राइडिङ अवधारणामा लोकप्रियता हासिल गरिरहेका छन् ।

सेयर राइडिङ कम्पनी टुटलका सञ्चालक शिक्षित भट्टले भने, ‘यसले हाम्रोसमेत बदनाम हुनपुगेको छ । कम्पनीले यस्तो गतिविधि अविलम्ब सच्याउनु पर्छ ।’

यद्यपी यी कम्पनीहरुले अनलाइन बुकिङमार्फत् मात्र सेयर राइडिङ सेवा दिने भनेर सञ्चालनमा आएका हुन् । तर यी कम्पनीहरुले पछिल्ला दिनहरुमा अफलाइन अर्थात् बाटोमै कुरेर मान्छे बोक्न थालेपछि अहिलेको समस्या आएको हो । यो मामलामा टुटलभन्दा पनि पठाओ कम्पनी अघि देखिएको छ । जसका हजारौँ राइडरहरुले यतिखेर सडकमा सेयर राइडिङ सेवा दिँदा भाडाका ट्याक्सीहरू प्रभावित हुन पुगेका छन् । जसले अहिलेको झडपको स्थिति बनेको छ ।

‘अहिलेको मुख्य समस्याको जड नै अफलाइन सेवा हो । अनलाइन बुकिङ्गमार्फत् नै सेयर राइडिङको सेवा दिने भनेर हामी टुटल सेवा सञ्चालनमा ल्याएका हौं । तर, यहाँ हामीभन्दा पछि आएको पठाओले अनलाइन सेवालाई अफलाइनमा लैजान खोज्दा अहिलेको समस्या आएको हो ’

सेयर राइडिङ कम्पनी टुटलका सञ्चालक शिक्षित भट्टले भने, ‘यसले हाम्रोसमेत बदनाम हुनपुगेको छ । कम्पनीले यस्तो गतिविधि अविलम्ब सच्याउनु पर्छ ।’

त्यसो त भट्टकै भनाइ अनुसार पनि अहिले सडकमा पठाओका राइडरहरुले कम्पनी पहिचान सहितको ज्याकेट लगाएर ट्याक्सीकै काम गरिरहेका छन् । यसले ट्याक्सी र सेयर राइडिङ सेवाबीच समस्या ल्याएको हो ।

सो विषयमा पठाओसँग हामीले कुरा गर्न खोज्दा कम्पनीका प्रमुख कार्यकारी निर्देशक (सिईओ) असिममान सिंह बोल्नै चाहेनन् । पठाओ राइडरहरुकै अनुसार पनि अहिले कम्पनीले जतिसक्दो बढी राइडर बढाएर बिजनेश गर्न चाहिरहेको छ । त्यसैपनि एक लाख बढी राइडर पुगिसकेको पठाओ कम्पनीले राइडरहरुसँग प्रति ट्रिप अधिकतम २०–२५ प्रतिशत सम्म कमिसन लिने गरेको छ । जसबाट कम्पनीले दिनमा नै करोड बराबरको आम्दानी गरिरहेको छ ।

सेयर राइडिङ व्यवस्थापन ऐनको प्रक्रिया कहाँ पुग्यो ?

त्यसो त सेयर राइडिङ र ट्याक्सी बीचको यस्तो विवाद पहिलो भने होइन । यसअघि पनि पटकपटक सेयर राइडिङ सेवा टुटल, पठाओ र ट्याक्सीबीच विवाद देखिँदै आएको हो । तर हालसम्म पनि उचित समाधान निस्कन सकेको छैन । सरकारले उचित कानुन बनाएर टुटल र पठाओ जस्ता सेयर राइडिङ कम्पनीहरुलाई पनि व्यवस्थापन गर्ने भनिएपनि हालसम्म बन्न सकेको छैन ।

यातायात व्यवस्थापन विभागको अनुसार अहिले सेयर राइडिङ व्यवस्थापन सम्बन्धि निर्देशिका बने पनि त्यसले पूर्णता पाएको छैन । प्रवक्ता भुसालका अनुसार विभागले निर्देशिकासम्बन्धि मस्यौदा बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाइसकेको छ । तर, मन्त्रालयबाट सो मस्यौदा अघि सर्न सकेको छैन ।

मन्त्रालयले उक्त प्रस्तावित मस्यौदा हेरेर मन्त्रिपरिषद्मा पठाउने र मन्त्रिपरिषदले संसदमा पेस गरेर पास गरेपछि मात्र त्यसले मान्यता पाउँछ । त्यसपछि मात्र टुटल पठाओजस्ता सेयर राइडिङ कम्पनीहरुले कानुनी मान्यता पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप