बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अन्तरिक्षमा बढ्यो फोहोर

बुधबार, ११ चैत २०७७, १० : १८
बुधबार, ११ चैत २०७७

केही दिन पहिला अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तर्राष्ट्रिय स्पेस स्टेसन सफा तथा हलुका बनाउने क्रममा काम नलाग्ने वस्तु फालेर अन्तरिक्षमा फोहोर बढाएको छ । त्यसक्रममा नासाले 'स्पेस डेब्रिस'मा २.९ टन फोहोर बढाएको छ ।

पृथ्वीदेखि झण्डै ४ सय किमि माथि रहेको अन्तर्राष्ट्रिय 'स्पेस स्टेसन' वास्तवमा एउटा वैज्ञानिक प्रयोगशाला हो । स्पेस स्टेसनमा सन् २००० यता केही व्यक्ति बस्दै आएका छन् ।

 'स्पेस स्टेसन'मा प्रयोगमा आइसकेका अनेकौँ वस्तु, ब्याट्री 'स्पेस स्टेसन'बाट नासाले बाहिर फालेको छ । 'स्पेस स्टेसन'बाट फालिएका यी वस्तुले पनि पृथ्वीको परिक्रमा गरिरहेका छन् । नासाले 'स्पेस स्टेसन'बाट वस्तु बाहिर फालेर आफ्नो प्रयोगशालालाई सफा र हलुको त बनायो तर उसको यस कामले अन्तरिक्षमा फोहोरको मात्रा भने बढाएको छ ।

यसरी फालिएका २.९ टन फोहोरमा 'स्पेस स्टेसन'मा प्रयोगमा आइसकेका पुराना वस्तु, काम नलाग्ने सामान र रासायनिक ब्याट्रीसमेत छन् । नासाले फालेको फोहोर कतै मेरो घरमा आई ठोक्किन्छ कि भनेर तपाईंले चिन्ता लिनु चाहिँ पर्दैन । अन्तरिक्षमा घुमिरहेका 'डेब्रिस' रूपी सानादेखि ठूला वस्तु पृथ्वीवासीका लागि नभई अन्तरिक्षयात्री, अन्तरिक्षमा पठाइने भूउपग्रह, पृथ्वीबाहिरका अन्य ग्रह, उपग्रहको यात्रामा जाने रकेट र स्वयं 'स्पेस स्टेसन'का लागि खतरा हुन्छन् ।

अन्तरिक्षमा रहेको फोहोर (विभिन्न रकेट तथा मृत भू–उपग्रह, अन्तरिक्ष यात्रीले छाडेका विभिन्न वस्तु, 'स्पेस स्टेसन'का यात्रीले फालेका टुथ ब्रस टुथपेस्टका खोल आदि) पृथ्वीसम्म आइपुग्दैनन् । कुनै ठूलो आकार र परिमाणको वस्तु छ भने पनि यसलाई पृथ्वीको सतहमा आइपुग्न धेरै नै समय लाग्छ ।

अन्तरिक्षमा पृथ्वीको निम्न कक्षामा (लोअर अर्थ आर्बिट, झण्डै ४ सय किमि माथिको अन्तरिक्ष) रहेका वस्तु पृथ्वीको गति गर्ने दिशामै घुम्दै पृथ्वीको परिक्रमा गरिरहेका हुन्छन् । यस स्थानमा सघन वातावरण नभएका कारण वस्तु जुन अवस्थामा छ त्यसै अवस्थामा रहिरहन्छ अर्थात यिनमा क्षय प्रक्रिया (decay process) प्रारम्भ भएको हुन्न ।

विस्तारै पृथ्वीको गुरुत्वाकर्षणले तानेर यी वस्तु पृथ्वीतिर आउन थाल्छन् । तर गुरुत्वाकर्षणले तानेर यी वस्तु एकै पटक पृथ्वीमा बजारिन आइपुग्दैनन् । पृथ्वीको परिक्रमा गरिरहँदै विस्तारै यी तलतल आउँछन् । यसरी तलतल आउने क्रममा पृथ्वीको नजिक झण्डै ८०-८५ किमि माथिको अन्तरिक्ष क्षेत्रमा आइपुगेपछि आफ्नो गति बढ्छ । अन्तरिक्षको त्यस क्षेत्रमा भएको मेसोस्फेयर (mesosphere) क्षेत्रको वातावरणमा प्रवेश गर्नवित्तिकै वातावरणसँग भएको घर्षणका कारण जुनसुकै वस्तु पनि जल्न थाल्छन् र पृथ्वीको सतहमा आई ठोक्किनुअगाडि नै जलेर नष्ट हुन्छन् । तर कहिलेकाहीँ वस्तुको आकार र त्यसको निर्माणमा प्रयोग भएका तत्त्वको गुणस्तरका कारणले गर्दा वस्तु जलेर नष्ट हुनुपूर्व पृथ्वी सतहमा आई ठोक्किन् सक्छन् ।

पृथ्वीमा भूमिको सतह छ नै कति ? पृथ्वीमा दुई तिहाइभन्दा बढी समुद्र भएका कारण यस्ता वस्तु प्रायः जलक्षेत्रमै खस्छन् । मानिसको बसोवास क्षेत्रमा यस्ता वस्तु कहिलेकाहीँ मात्रै ठोक्किन आइपुग्छन् ।

अन्तरिक्षमा रहेको फोहोर अथवा 'डेब्रिस' पृथ्वीवासीभन्दा अन्तरिक्ष यात्रामा जाने अभियानका लागि खतरा हुन्छन् । वैज्ञानिकहरुले अन्तरिक्षको फोहोर सफा गर्ने विषयमा सोच्न थालेका छन् ।

अहिले पृथ्वीको चारैतिर करोडौँ पिस 'स्पेस डेब्रिस' घुमिरहेका छन् । यिनीहरु सबैमा पृथ्वीको गुरुत्वाकर्षणको प्रभावले विस्तारै पृथ्वीको सतह नजिक आइरहेका छन् । यिनको सेटेलाइटसँग ठोक्किने खतरा पनि बढेको छ । अहिले पृथ्वीको कक्षमा झण्डै ३ हजार एक्टिभ सेटेलाइट छन् । यसैगरी काम गर्ने आयु समाप्त भएर घुमिरहेका सेटेलाइटको सङ्ख्या पनि झण्डै ३ हजारकै हराहारीमा छ ।

अन्तरिक्षमा प्रयोग गरेर फालिएका जुनसुकै वस्तु  'स्पेस डेब्रिस' हुन् । नासाका अनुसार प्रत्येक दिन एउटा फोहोर पृथ्वीको सतहमा खस्ने गर्छ । यो पृथ्वीको कक्षमा प्रवेश गर्नेवित्तिकै कि त जल्ने गर्छ कि त जलेकै अवस्थामा समुद्रमा खस्ने गर्छ । नासाको अनुमानअनुसार अन्तरिक्षमा झण्डै ६ हजार टन फोहोर जम्मा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप