बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो पात्रो एपको डाउनलोड १ करोड

बुधबार, ११ चैत २०७७, १० : २०
बुधबार, ११ चैत २०७७

काठमाडौं । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोको डाउनलोड एक करोड पुरा भएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोको एपले गुगल प्लेस्टोरमा १० मिलियन अर्थात एक करोड डाउनलोड पुरा गरेको हो ।

यससँगै हाम्रो पात्रो नेपाली प्रयोगकर्तामाझ एक करोड डाउनलोड हुने पहिलो नेपाली एप बनेको छ । यो अवसरमा एपका संस्थापक शंकर उप्रेतीले प्रयोगकर्ता, साझेदार र हाम्रोपात्रो टिमलाई धन्यवाद व्यक्त गरे । ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ उनले भने ।

एपले नेपाली एपहरुमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ । यस अघि १० लाख र ५० लाख पुरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो । पात्रो हेर्ने, मिति परिवर्तन (बि.सं.बाट इ.सं.मा र इस्वी संवतबाट बि.संमा ) फिचरसँगै सन् २००८ मा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो ।

सन् २००८ मा अध्ययनका लागि अमेरिका पुगेका उप्रेतीले अरुले जस्तै नेपालबाट साथमा भित्तेपात्रो बोकेर गएका थिए । तिथि मिति हेर्नुपरे त्यही भित्तेपात्रो नियाल्ने र वेबसाइट चहार्नुको विकल्प थिएन । त्यसैले सुरुमा आफ्नो व्यक्तिगत आवश्यकता पूर्ति  गर्नकै लागि उनले ‘हाम्रो पात्रो’ एप बनाए । कुनै विशेष योजनाका साथ उक्त एप बनाइएको भने थिएन । एप तयार भएको एक वर्षपछि अर्थात सन् २००९ तिर मात्रै हाम्रो पात्रो एप एप्पलको आईओएस एप स्टोरमा राखिएको थियो । आईओएसमा हाम्रो पात्रोको डाउनलोड पाँच लाखभन्दा बढी रहेको छ ।

गुगल प्ले स्टोरमा रिलिज भएको एक वर्षमै यो एपको डाउनलोड एक लाखभन्दा बढी पुगेको थियो । सन् २०१५ नहुँदै एपको डाउनलोड संख्याले दश लाखको आँकडा पार गरेको थियो । अहिले हाम्रो पात्रो एप नेपाली माझ सबैभन्दा धेरै प्रयोग हुने र डाउनलोड बनेको छ । एपका प्रयोगकर्ता मध्ये ९३ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा छन् भने सात प्रतिशत आईओएसमा छन् ।

हाम्रो पात्रोमा रेडियो, समाचार, पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता एक दर्जन फिचर समावेश छन् । विनिमयदर, शेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, नोट, आदि जस्ता  दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ । दैनिक १३ लाख सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या ७३ लाखमाथि रहेको छ ।

हालै हाम्रो पात्रोमा म्यासेञ्जर समेत थपिएको छ । बेटा भर्सनमै रहेको यो फिचर प्रयोग गर्नेहरुको संख्या एकलाखभन्दा बढी रहेको कम्पनीले जनाएको छ । निकट भविष्यमै हाम्रो पात्रोमा म्यासेञ्जरको फुल भर्सन समेत आउनेछ । त्यस्तै आईओएस प्रयोगकर्ताले समेत म्यासेञ्जर प्रयोग गर्न पाउने कम्पनीका संस्थापक उप्रेतीले बताए ।

हाम्रोपात्रोमा देशका प्रमुख ८० भन्दा बढी अनलाइन न्युजपोर्टल र चार सयभन्दा बढी रेडियो समेत जोडिएका छन् । नेपाली, अंग्रेजी सहित एप सात वटा फरक भाषामा प्रयोग गर्न सकिन्छ ।

नेपालमा सस्ता मोबाइलका प्रयोगकर्ता धेरै हुने भएकाले उनीहरुलाई र्याम र स्टोरेज फुल हुने समस्या आइरहन्छ । यस्तोमा फोटो, भिडियो वा एप मध्ये कुनै न कुनै सामग्री डिलिट गर्नुपर्ने बाध्यता बन्न पुग्छ ।

यस किसिमको समस्यालाई सम्बोधन गर्न हाम्रोपात्रोले एउटै एपमा धेरै फिचरहरु समावेश गर्दै लगेको हो । त्यसैले त अहिले एउटै एपमा सबैभन्दा धेरै फिचर भएको नेपाली एपमा पनि हाम्रो पात्रो नै पहिलो नम्बरमा आउँछ ।

फिचर धेरै भए पनि एपको साइज ठूलो हुन नदिन एपका डेभलपर र इन्जिनियरहरुले लगातार रुपमा मेहनत गरिरहेका छन् । अहिले हाम्रो पात्रोको साइज डिभाइस अनुसार १२ देखि २३ एमबी मात्र छ ।

हाम्रो पात्रो इंक अन्तर्गत अहिले हाम्रो पात्रोसँगै हाम्रो किबोर्ड, हाम्रो डिक्सनरी, हाम्रो म्यागेजिन लगायतका एपहरु पनि छन् । सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै डाउनलोडमा दश लाखको आँकडा पार गर्ने पहिलो नेपाली एप हो । यो एपको डाउनलोड अहिले ६० लाखभन्दा बढी छ । हाल हाम्रोपात्रोमा ३५ जनाको टिम कार्यरत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप