शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना रिटर्न्स २ - भ्याक्सिन र सङ्क्रमणको अन्तर्सम्बन्ध

बुधबार, ११ चैत २०७७, ११ : ४१
बुधबार, ११ चैत २०७७

नेपालमा कोभिड–१९ विरुद्धको पहिलो डोज भ्याक्सिन डा शेरबहादुर पुन, डा विपिन नेपाल, डा रवीन्द्र समिर लगायतले सुरुमा लगाउनु भएको थियो । सबैभन्दा पहिले यो खोप लगाउँदा भ्याक्सिनको साइड इफेक्ट देखिन्छ कि भनेर धेरै मानिस डराएका पनि थिए । यो भ्रमलाई चिर्न उहाँहरुले सर्वप्रथम खोप लगाउनुभएको थियो । अहिले भारतलगायत अन्य देशमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यस सन्दर्भमा सबैभन्दा पहिला खोप लगाउनुहुने डाक्टरहरुले निकै नै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँहरुले दिनुभएको अभिव्यक्तिबाटै लेख प्रारम्भ गर्नु  सान्दर्भिक लाग्यो ।

 'सरकार, स्वास्थ्यकर्मी लगायत सबै सामान्यजनले बुझ्नुपर्ने कुरा के हो भने कोभिड–१९ भ्याक्सिन कोरोना सङ्क्रमण हुनै नदिनका लागि बनाइएको होइन । यो भ्याक्सिन भनेको कोरोनाको उपचार गर्ने अथवा सङ्क्रमण नै हुन नदिने कोटिको होइन । यो भ्याक्सिन भाइरसलाई दुर्बल, कमजोर प्रारूपलाई स्वस्थ व्यक्तिमा प्रवेश गराएर  व्यक्तिको इम्युन सिस्टमलाई ट्रेन्ड गर्ने प्रविधि हो । भ्याक्सिनका रुपमा शरीरभित्र प्रवेश गरेको यस विजातीय तत्त्वलाई नष्ट गर्न इम्युन सिस्टम सक्रिय  हुन्छ र यसलाई नष्ट गर्न एन्टिबडीको सैन्यदल खडा गर्छ ।  शरीरमा प्रवेश गरेका शत्रुको सङ्ख्या न्यून हुन्छ, सहजै इम्युन सिस्टमका सैन्यदलले यसलाई धुलिसात बनाइदिन्छ ।'

'भ्याक्सिन भनेको इम्युन सिस्टमलाई शत्रु चिनाएर त्यसविरुद्ध सैन्यदल र हतियार तयार गर्ने उपाय हो । भ्याक्सिनका रूपमा शरीरभित्र प्रवेश गरेको भाइरसलाई नियन्त्रण गर्ने क्रममा इम्युन सिस्टमलाई भविष्यमा यस्ता शत्रु आएको खण्डमा आफ्नो कुन सैन्यदल र कुन हतियारको प्रयोगले शत्रुलाई ठेगान लाउने जानकारी आउँछ । अर्थात भ्याक्सिन लिएका व्यक्तिको इम्युन सिस्टमले कोरोना सङ्क्रमण हुँदा 'हिट एन्ड ट्रायल'को लामो प्रक्रिया गरिरहनुपर्दैन । इम्युन सिस्टमलाई थाहा हुन्छ, 'ए यो त फलानो नम्बरको शत्रु हो, यसलाई ठेगान लाउन फलानो सैन्यदस्तालाई मोर्चामा पठाउनुपर्छ । इम्युन सिस्टमले भ्याक्सिनका माध्यमले आएको शत्रुलाई ठेगान लाएको अनुभवका आधारमा शरीरभित्र आइपुगेका शत्रुलाई (भाइरस) तुरुन्तै उपयुक्त पाइला चाल्दै नेस्तनाबुद बनाउँछ ।'

 


भ्याक्सिन लिएका व्यक्तिमा र भ्याक्सिन नलिएका व्यक्तिमा अन्तर यति मात्रै हो भ्याक्सिन लिएका व्यक्तिमा कोरोना सङ्क्रमण हुँदा इम्युन सिस्टमले यस शत्रुलाई पहिलादेखि चिनेको हुन्छ ।  पहिला नै यससँग डिल गरिसकेको हुन्छ । यसलाई कुन अस्त्र (एन्टिबडी ) ले परास्त गर्ने थाहा हुन्छ इम्युन सिस्टमलाई । इम्युन सिस्टमले प्रवेश गरेका शत्रुलाई शक्तिशाली हुनुपूर्व नै सखाप बनाइदिन्छ ।

भ्याक्सिन नलगाएका व्यक्तिको इम्युन सिस्टमले पनि शत्रुलाई सखाप बनाउने लडाइँ लड्छ । तर शत्रु नयाँ भएकाले यो कुन अस्त्रबाट पराजित हुन्छ भन्ने जानकारी इम्युन सिस्टमलाई हुँदैन । त्यसैले यसले 'हिट एन्ड ट्रायल' गर्दै भाइरसलाई सखाप बनाउने प्रयास गर्छ ।  तर यस क्रममा भाइरसलाई आफ्नो जनसङ्ख्या बढाउने  पर्याप्त समय प्राप्त हुन्छ । परिणामस्वरुप भाइरसको पनि विजयी हुने सम्भावना रहन्छ ।

डाक्टर सुनील शर्माले भ्याक्सिन लिनु आवश्यक थिएन । डा बाबुराम भट्टराईले पनि भ्याक्सिन लिनु आवश्यक थिएन । किनभने उहाँहरु कोरोना सङ्क्रमित भई निको हुनुभएको हो । बाबुराम भट्टराई त मेडिकल डाक्टर नभएकाले उहाँसँग गुनासो गर्ने ठाउँ छैन । तर सुनील शर्मालाई प्रश्न गर्ने धेरै ठाउँ छ । गम्भीर सङ्क्रमित बनाउने कोरोना भाइरसलाई पराजित गर्न तपाईंको इम्युन सिस्टमले एन्टिबडीको सैन्यदल खडा गरी भाइरसलाई सजिलै पराजित गर्‍यो । के तपाईंले लगाएको कोभिसिल्डको भ्याक्सिन (ऐडिनो भाइरसमाथि कोरोनाको स्पाइक प्रोटिन लेपन गरिएको) ले त्यति मात्रामा एन्टिबडी बनाउँछ ? अथवा त्यो भन्दा विशिष्ट खाले एन्टिबडी बनाउँछ ? के तपाईंले कोरोना सङ्क्रमणबाट निको भए पछि एन्टिबडी  जाँच गर्नुभएको थियो ? अथवा तपाईंले भ्याक्सिन लाएको एक महिना त नाघी सक्यो, भ्याक्सिनले बनाउने एन्टिबडी बनी सक्यो । के तपाईंले एन्टिबडी टाइटर  जाँच गराउनुभएको छ ?​


 


तपाईंले यी दुवै टेस्ट गराएको भए बडो बहुमूल्य डाटा हुन्छ यो । 

तपाईंले भ्याक्सिन लिनु स्वाभाविक हो । किनभने नेपालमा भ्याक्सिनेसन अभियान स्वास्थ्यकर्मीबाट नै प्रारम्भ भएको थियो । तर स्वास्थ्यकर्मी यसप्रति खासै उत्साहित थिएनन् । तपाईंले आफ्ना तमाम सहकर्मीलाई प्रेरणा दिन भ्याक्सिन लिनुभएको हुनसक्छ ।

भ्याक्सिन लिएका अथवा विगतमा कोरोना सङ्क्रमित भई निको भएका व्यक्तिलाई फेरि कोरोना सङ्क्रमण हुँदैन भन्ने होइन ।  याद राख्नुस् भ्याक्सिनले शरीरमा कोरोनाको प्रवेशद्वार 'एसीई– २ (ACE 2 ) रिसेप्टर्स' लाई ब्लक गर्ने होइन ।  न त यसले कोरोना भाइरसले आफ्नो 'रिप्लिका' गर्न चाहिने प्रोटिनको उत्पादन बन्द गर्ने हो (भ्याक्सिन मेडिकेसन होइन) । सङ्क्रमित भई निको भएका अथवा भ्याक्सिन लिएका व्यक्तिमा बनेको एन्टिबडीको काम पुनः सङ्क्रमित हुँदा भाइरसलाई शक्तिशाली भई शरीरमा नकारात्मक असर पुर्‍याउनुभन्दा पहिला ठेगान लाउने मात्रै हो ।  यो एन्टिबडी सबै भ्याक्सिन लिएका व्यक्तिमा निर्मित हुँदैन । भ्याक्सिनसँग गाँसिएको 'इफिकेसी'  शब्दको अर्थ यही हो कि भ्याक्सिन लिएका कति प्रतिशत व्यक्तिमा एन्टिबडी निर्माण हुन्छ ? यहाँनिर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने सङ्क्रमित भई निको भएका अथवा भ्याक्सिनको सुई लाएर एन्टिबडी बनेका व्यक्तिमा  कोभिड–१९ भाइरसविरुद्ध प्रतिकार क्षमता विकसित भएको हुन्छ । कोरोनाका नयाँ नयाँ भेरिएन्टविरुद्ध होइन । कोरोनाका नयाँ भेरिएन्टले कोभिड १९ भाइरसविरुद्ध बनेको एन्टिबडीलाई चकमा दिन सक्छन् ।

जुनसुकै किसिमले पनि एन्टिबडी बनेका व्यक्ति कोभिड–१९  भाइरस (पुरानो भाइरस) विरुद्ध लडन सक्षम हुन्छन् । यसबाट सङ्क्रमित हुँदैनन् भन्ने किमार्थ होइन । हुन सक्छन्, बारम्बार सङ्क्रमित हुन सक्छन् । तर यहाँ राहतको कुरा के हो भने उनीहरुसँग रहेको एन्टिबडीले उनीहरुलाई सुरक्षा प्रदान गर्छ । सङ्क्रमणलाई 'माइल्ड -मोडरेट' स्तरमै नियन्त्रित राखी निर्मूल बनाउँछ । तर नयाँ भेरिएन्टविरुद्ध कुनै ग्यारेन्टी छैन । नयाँ भेरिएन्टबाट सङ्क्रमित हुँदा परिणाम जे पनि हुन सक्छ ।

विश्वभरी नै  कोरोनाका अनेको नयाँ भेरिएन्ट देखा परिसकेका छन् । सङ्क्रमितको बढ्दो सङ्ख्याले यी  भेरिएन्ट पहिलाको भाइरसभन्दा  निकै घातक रहेको पुष्टि भइसकेको छ । विश्व एकपटक पुनः लाचारी, विवशता, र महामारीको ताण्डव चपेटभित्र पर्न  गइरहेको छ ।  टाढाको के कुरा सबैभन्दा निकटको छिमेकी देश भारतमा झण्डै झण्डै लकडाउनको अवस्था सिर्जना भइसकेको छ ।

भारतमा भ्याक्सिनका दुवै डोज लाइसकेका मानिस पनि पुनः सङ्क्रमित हुने क्रम देखापरिसकेको छ। स्थिति जटिलभन्दा जटिल अवस्था उन्मुख हुँदै गइरहेको छ। आउने दस दिनभित्र नेपालमा नयाँ भेरिएन्टको कोरोनाले  प्रवेश गरिसकेको जानकारी सार्वजनिक हुने प्रबल सम्भावना छ ।

नेपालमा एक डोज भ्याक्सिन लाएका अथवा पूर्वमा सङ्क्रमण भई निको भएका व्यक्तिले पनि ढुक्क हुने अवस्था छैन ।  भ्याक्सिन नलाएका व्यक्तिबारे थप केही चर्चा गर्नु आवश्यक छैन् । सबै नेपालीले आफ्नो सुरक्षा आफै गर्नुपर्ने बाध्यत्मक स्थिति छ । गत वर्ष अवलम्बन गरेका सुरक्षाका सबै उपाय, सबै नेपालीले यस वर्ष पनि पालन गर्नुपर्ने नितान्त आवश्यकता छ । कोरोना केही होइन भन्ने फेसबुकिया गफमा नरुमलिनुस् ।  फेसबुकका सबै प्रयोगकर्ता मित्रहरुसँग विनीत आग्रह छ, कृपया  भाइरस सम्बन्धमा अनर्गल पोस्ट नलेख्नुस् ।

सरकारले पनि भ्याक्सिनको चक्करमा नलागेर सन् २०२० का भाँती सुरक्षाका सबै वैकल्पिक उपाय अवलम्बन गरोस् भन्ने अनुरोध गर्छु ।

सरकारले लकडाउन गर्नुको सट्टा आजैदेखि भीडभाड घटाउने उपक्रम प्रारम्भ  गरोस् ।  सरकारी कार्यालयमा ४०-५० प्रतिशत जनशक्तिले काम गर्ने व्यवस्था गर्नुका साथै स्कुल- कालेज अविलम्ब स्थगित गराओस् । अन्य भीडभाड हुने स्थलमा पनि नियन्त्रण लाओस् । स्थानीय स्तरमा देशभित्र यस कामको सुरुवात भइसकेको छ । विभिन्न ठाउँका स्थानीय प्रशासनले बोर्डरमा नियमन गर्ने कार्य प्रारम्भ गरिसकेका छन् । यसका साथै विभिन्न प्रदेशमा  सभा- सम्मलेन नगर्ने अनुरोध गरिएका समाचार आउन  थालेका छन् । देशको केन्द्रीय सरकारले पनि तत्काल सक्रिय भई यस दिशामा सबै आवश्यक पहल गर्नुपर्ने अति जरूरी भएको छ । सबै नेपालीले सजग र जागरूक बनी सुरक्षाका समस्त उपाय पालन गर्नुहोस् ।

भारतका एकजना डाक्टरलाई भ्याक्सिनका दुवै डोज लगाउँदा  पनि कोरोना सङ्क्रमण भएपछि उनले जनसामान्यलाई यसबारे अवगत गराउन एउटा भिडियो बनाएर सार्वजनिक गरेका छन् ।  तलको लिङ्कमा यो भिडियो हेर्न सकिन्छ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र

लेखक अध्यात्म र विज्ञानमा विशेष रुचि राख्छन् ।

लेखकबाट थप