शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादी समूहबीच एकीकरणका लागि गोपाल किरातीको पत्राचार

प्रचण्ड समूहका नेता र किरातीबीच वार्ता सुरु
बुधबार, ११ चैत २०७७, २२ : ३८
बुधबार, ११ चैत २०७७

निर्वाचन आयोगमा नेकपा (माओवादी केन्द्र) दर्ता गरेको पूर्वमन्त्री गोपाल किरातीले सबै माओवादी समूहका नेताहरुलाई एकीकरणका लागि पत्राचार गरेका छन् । किरातीको पत्र पाएपछि प्रचण्ड समूहका नेताहरुले किरातीसँग छलफल अघि बढाइसकेका छन् ।

माओवादी नेता किरातीले पार्टी एकता वा मोर्चाबन्दीका लागि माओवादीका अध्यक्ष प्रचण्ड, जसपाका नेता डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बेग्लाबेग्लै पत्र पठाएर एकताका लागि आह्वान गरेका हुन् ।

किरातीको पत्राचारपछि प्रचण्ड, जनार्दन शर्मा र मात्रिका यादवले केही चरणमा छलफलसमेत चलाइसकेका छन् । किरातीको प्रस्तावमा प्रचण्ड सकारात्मक रहेको भन्दै माओवादी केन्द्रबीच एकीकरण गर्ने प्रस्ताव खुमलटारले राखेको बुझिएको छ । तर, किरातीले भने समाजवादको दिशा स्पष्ट हुनुपर्ने अडान राखेका छन् ।

बाबुराम, मोहन वैद्य र विप्लवबाट भने पत्रको कुनै प्रतिक्रिया आइनसकेको किराती निकट एक नेताले रातोपाटीलाई बताए । 

 


 

किरातीले पत्रमा समाजवाद निर्माणका लागि पूर्वमाओवादीका सबै समूहहरु एक हुनुपर्ने उल्लेख गरेका छन् । 

दुई वर्ष पहिले नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेकपा बनेपछि किरातीले निर्वाचन आयोगमा गई नेकपा (माओवादी केन्द्र) दर्ता गराएका थिए । तर, गत फागुन २३ गते सर्वोच्च अदालतले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रलाई नै जगाइदिएपछि एउटै नाममा प्रचण्ड र किराती नेतृत्वका दुईवटा पार्टीहरू अस्तित्वमा देखा परेका छन् ।

किरातीसँग भएको छलफल सकारात्मक बनेको अवस्थामा पार्टीको नामसम्बन्धी समस्या पनि समाधान हुने प्रचण्ड पक्षका एक नेताले बताए ।

तर, माओवादीका अन्य नेताहरु (प्रचण्ड, वैद्य, बाबुराम र विप्लव) वीचको एकता भने अलि टाढाकै विषय भएको माओवादी नेताहरु बताउँछन् ।

यसैबीच, मोहन वैद्य, ऋषि कट्टेल, विश्वभक्त दुलाल ‘आहूती’ र विप्लव समूहबीच यसअघि नै संयुक्त रणनीतिक मोर्चा गठन भइसकेको छ । तर, यो मोर्चामा गोपाल किरातीलाई भने संलग्न गराइएको छैन ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप