शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीसँग जसपा सती पनि जाँदैन, फुट्दा पनि फुट्दैन : उपेन्द्र यादव

शुक्रबार, १३ चैत २०७७, ११ : ०६
शुक्रबार, १३ चैत २०७७

जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सत्ता साझेदारी नगर्ने बताएका छन् । प्रेस मञ्च नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधानविराेधी, लोकतन्त्र र संघीयता बिरोधी, प्रतिगामी शक्तिसँग सत्ता साझेदारी गर्न, सती जान र लगनगाँठो कस्न नसकिने बताएका हुन् । उनले आफ्नो पार्टी नफुट्ने र कुनैपनि बहानामा केपी ओली र ओली प्रवृत्तिसँग साँठगाँठ नहुने प्रष्ट पारे ।

‘अहिलेको ओली नेतृत्वको सरकार विस्थापित लोकतन्त्रको पक्षमा रहेका दलहरु मिलेर नयाँ सरकार गठन गरी निर्वाचनमा जानुपर्छ,’ उनले भने । उनले आफ्नो पार्टीले ओली सरकारलाई विस्थापित गर्न खोजेपनि अन्य दलहरुले निर्णय गर्न नसक्दा सो कुरा पूरा हुन नसकेको जिकिर गरे । संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउनका लागि अब नयाँ सरकार बनाउनुपर्ने कुरा उनले औँल्याए ।

 


ओली सरकारलाई हटाएर नयाँ सरकार बनाउनको लागि ढिला भएको बिषयमा सोधिएको प्रश्नमा उनले नेपाली काँग्रेसले नेतृत्व गर्न ढिला गरेको बताए । उनले भने, ‘मनले चाहेर मात्रै हुँदैन अङ्क गणित चाहिन्छ । त्यसमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । हामी तयार छौँ ।’ नेपाली, माओवादी र जसपा मिलेर अङ्क गणित मिल्दा सरकार बन्न सक्ने भएपनि त्यसमा आफुहरु मात्रै ताताएिर केही नहुने बताउँदै उनले यसमा नेपाली काँग्रेस पनि तातिनुपर्ने प्रष्टाए ।

यादवले जसपाका नेताहरु र प्रधानमन्त्रीबीचको भेटवार्ता रेशम चौधरीलगायत साथीहरुको रिहाइको लागि मात्र भएको प्रष्ट पारेका छन् । ‘चौधरीको मुद्दा राजनीतिक हो, अपराधिक मुद्दा होइन । उनलाई रिहा गर्नुपर्छ भन्ने हाम्रो माग हो । त्यसलाई हामीले सत्तामा जाने बाटो बनाउन र सरकारले पनि अङ्क गणितका लागि ब्ल्याकमेलिङ गर्ने अस्त्र बनाउन मिल्दैन,’ उनले भने, ‘पहिला मुद्दा फिर्ता र रिहाइ हुनुपर्छ । अनि बल्न सरकार जाने विषयमा छलफल हुन्छ ।’

यादवले प्रधानमन्त्री ओलीमाथि संसदलाई असफल बनाउन खोजेको आरोप पनि लगाए । प्रधानमन्त्री ओलीले पहिला आफै संसद विघटन गरेर र अहिले फेरि विजनेश नदिएर संसदलाई बेकामे बनाउन खोजको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप