शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा व्यापारीको प्रवेश : पार्टीमोह कि निजी स्वार्थ ?

विज्ञ भन्छन्– राजनीतिमा ठेकेदार पसेपछि सिन्डिकेट मौलाउँछ
शुक्रबार, १३ चैत २०७७, ११ : ४६
शुक्रबार, १३ चैत २०७७

गतसाता उद्योगपति मोतीलाल दुगडको पहलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उद्योगी–व्यवसायीहरु जम्बो टोली बालुवाटार पुग्यो ।  प्रधानमन्त्रीलाई भेट्न गएकामध्ये २३५ व्यवसायीहरु एमालेको टीका लगाएर फर्किए ।

यसरी उद्योगी–व्यवसायीहरु सामूहिकरुपमा सत्तारुढ एमालेमा प्रवेश गरेसँगै उनीहरुको पार्टी प्रवेशलाई चासोका साथ हेरिएको  छ । व्यवसायीहरु सरकारलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न एमालेमा प्रवेश गरेको आरोपसमेत कतिपयले लगाएका छन् । व्यापारीहरू आफ्नो स्वार्थ पूरा गराउन सधैं सत्ताको निकट पुग्ने गरेको विश्लेषकहरू बताउँछन् ।

यद्यपि, केही व्यवसायीले भने आफूहरुलाई मोतिलाल दुगडले तपाईँहरुका समस्या प्रधानमन्त्रीसँग राख्न पाउनुहुन्छ भनेर बोलाएको तर पछि पार्टी प्रवेश गराएको आरोप लगाएका छन् । पार्टी प्रवेश कार्यक्रमबारे आफूलाई जानकारी नभएको र त्यहाँ पुगेपछि पार्टी प्रवेश कार्यक्रम पनि रहेको थाहा पाउँदा आफूहरु अचम्ममा परेको ती व्यवसायीको गुनासो छ ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले भने यति ठूलो संख्यामा व्यवसायीहरु पार्टी प्रवेश गरेको पहिलो पटक भएको बताउँदै आएका छन्  । उनका अनुसार अझै १५० जना व्यवसायीहरु एमालेमा प्रवेश गर्ने चरणमा छन् ।

दुगडका अनुसार व्यवसायीहरु एमालेको काम गराइबाट प्रभावित भएर पार्टी प्रवेश गरेका हुन् । मोतिलाल दुगड आफैँ नेकपा एमालेका संसद हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनाएका थिए । उनी अहिले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारका रुपमा कार्यरत छन् ।

पार्टी प्रवेश गर्नेको सूचीमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका तर पछि पराजित भएका किशोर प्रधान देखि गोल्छा परिवारका सदस्य हितेश गोल्छा (जो दिवाकर गोल्छाका छोरा हुन्) सम्म छन् । प्रवेश गर्ने अधिकांश व्यवसायी प्रधानमन्त्रीका गृहजिल्ला नजिक (विराटनगर) का छन् । त्यसमा पनि मारवाडी व्यवसायीहरु बढी छन् ।

 


व्यापारीहरू एमालेमा प्रवेश गरेको केही दिनमै थापाथलीमा ती व्यापारीहरुले एमालेको पार्टी कार्यालयका लागि भवनको प्रबन्धसमेत गरिदिएका छन् ।

को–को प्रवेश गरे एमालेमा ?

बालुवाटार पुगेर एमाले प्रवेश गर्नेहरुमा ललित अग्रवाल, सीताराम अग्रवाल वकिल, पुनम ब्यास, कृष्ण प्रसाई, मदन मित्तल, अजय सराबगी, ओमप्रकाश बंसल, नरेन्द्र गुप्ता, जुगल किशोर धनावत छन् ।

त्यसैगरी दिलिप जैन, नरेशकुमार सरिया, पाइला समूहका सम्पूर्ण उद्यमी, सन्तोष खेतान, आशुतोष पटुवारी, राकेशकुमार जलान, शुभाष गोयल, प्रकाश कपुरी, अजय जलान, बिनोद सक्तानी, पियुस मित्तल, शिवकुमार शर्मा, रमेश पन्सारी, दधिराम सापकोटा, दीपक टिवडेवाल, बिनोद सेठिया, महेन्द्र अग्रवाल, इन्द्र कुमार मिठुवाल, श्याम सराबगी, अनिल जलान, श्रीधर बञ्जाडे, उषा धनावत, अमन कन्दोई, अशोक अग्रवाल, अंकुर लोहिया, नविन कर्माचार्य, बबिता श्रेष्ठ, रमेश दास, राजेश अग्रवाल, विनित अग्रवाल, महेन्द्र अग्रवाल, सुश्मिता खड्का, कमल पोखरेल, गणेश प्रधान, सुरेन्द्र मोर, अरुण शर्मा, अनिल अग्रवाल, कान्छा तुलाधर लगायत छन् । यस्तै चिराग लोहिया, जिवन दारुका, दिपेश खड्का, नविन क्षेत्री, नारायण श्रेष्ठ पनि सत्तारुढ एमालेमा प्रवेश गरेका छन् ।

अर्थविद् क्षेत्री भन्छन्– राजनीतिमा ठेकेदार पसेपछि पप्पु कन्स्ट्रक्सनकै हालत बनाउँछन्

राजीनतिमा ठेकेदार पसेपछि विकास निर्माणले गति नलिने अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीको बुझाइ छ । निर्माणको काम समयमा नसक्ने र  काम पनि गुणस्तरको नहुने आरोप लागेको पप्पु कन्स्ट्रक्सनका प्रतिनिधि पनि यसअघि सांसद थिए । त्यही राजनीतिको छाँयाले उनको काम गराइप्रति सरकारले अहिलेसम्म कठोर बनेर कारबाही गर्न सकेको छैन । पप्पुले ठेक्का लिएका धेरैवटा निर्माणका कामहरुमा ढिलाइ हुनुका साथै केही शुरु नै भएका छैनन् ।

जुन पार्टीको सरकार छ, त्यही पार्टीमा व्यावसायीहरु प्रवेश गर्दा सिन्डिकेट सिस्टमले टेवा पाउने र अर्थतन्त्र खराब बनाउने क्षेत्रीको धारणा छ  । सरकारको बजेट लिएर आफ्नो आफ्नो व्यवसायमा लैजाने र दुनो सोझ्याउने काम मात्र हुने गरेको उनी बताउँछन् ।

व्यवसायीको स्वार्थ हाबी हुन्छ : पूर्ववाणिज्य सचिव ओझा

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा व्यवसायीको धर्म आफ्नो व्यवसाय बढाउने भएको बताउँछन् । ‘व्यवसायीहरु कता लाग्दा व्यवसायको संरक्षण हुन्छ, त्यहीँ प्रवेश गर्छन्’ ओझाले रातोपाटीसँग भने, ‘पार्टी प्रवेश गर्न हुन्छ तर सरकारले गर्ने काम व्यक्ति विशेषका लागि हुनु हुँदैन, आफ्नो पार्टीका व्यवसायी हुँदैमा त्यसलाई गलत ढंगले संरक्षण दिइनुहुँदैन ।’

यसअघि पनि उद्योगी व्यवसायीहरु सांसद र मन्त्री नबनेका होइनन् । मोतिलाल दुगड स्वयं सांसद छन् । अर्का विश्व अर्बपतिको सुचिमा समेत पर्न सकेका ठूला व्यवसायी विनोद चौधरी पनि सांसद छन् । जो नेपाली कांग्रेसको कोटामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप