मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीमा कोरोना सतर्कता : भारतबाट स्वदेश फर्कने बढ्न थालेपछि नाकामा ‘हेल्थ डेस्क’ राख्ने तयारी

शुक्रबार, १३ चैत २०७७, २० : ४२
शुक्रबार, १३ चैत २०७७

सुर्खेत । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै स्वदेश अथवा गाउँघर फर्कने प्रदेशीहरुको संख्या दिनानुदिन बढ्न थालेको छ ।  भारतका विभिन्न राज्यमा लकडाउन हुन थालेपछि रोजगारीको सिलसिलामा भारत गएकाहरु घर फर्कन थालेका हुन् । 

गत वर्ष लकडाउन भएपछि बीचमा निकै दुःख झेल्नुपरेको थियो । अहिले पहिलानै हामीले लकडाउन हुने हल्ला सुन्यौँ अनि तत्काल घर फर्किने निधो ग¥र्यौँ,’ भारतको हिमाञ्चल प्रदेशबाट घर फर्कीने क्रममा सुर्खेतमा भेटिएका पश्चिम दैलेखका सुरेश बुढाले भने ।

‘हामी प्रदेशीहरुलाई राज्यले नत राम्रोसँग व्यवस्थापन नै ग¥यो, नत घरमा नै जान दियो (गत बर्ष),’ उनले विगत सम्झे , ‘के गर्नु हामी प्रदेशीहरुको त कर्म नै खोटी छ ।’

'घरखर्च चलाउँला भनेर तीन महिना अघि मात्रै काला पहाड गएको थिए । यो कोरोनाले केही गर्न दिएन ।  नत राम्रो कमाई नै गर्न सकियो । गरिबको त सरकार पनि नहुने रहेछ,’ अर्का २५ बर्षीय पुर्ण बुढाले भने,‘ गाउँघरमै केही गरौँ भन्दा न रोजगार पाइन्छ नत सरकारले हाम्रो पीडा सुन्छ ।’ 

उनीहरु मात्र हैन भारतमा लकडाउन हुन थालेपछि घर फर्किनेहरुको क्रम बढ्न थालेको छ । जसको कारण कोरोनाको कहर पनि भित्रिन सक्ने देखिन्छ । त्यसको लागि सरकारले पूर्वतयारी थाल्नुपर्ने देखिन्छ । कर्णाली प्रदेश सरकारले भने  प्रदेश भित्रिने मुख्य तीनवटा सीमा नाकामा पुनः ‘हेल्थ डेस्क’ स्थापना गर्ने तयारी गरेको छ ।
 
प्रदेश भित्रिने नाका सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई र पञ्चपुरीको जामु लगायतका स्थानमा हेल्थ डेस्क पुनःस्थापना गर्न लागिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका स्वास्थ्य निर्देशक डा. रविन खड्काले जानकारी दिए ।  

‘भारतमा संक्रमणको दर पुनः बढेपछि कर्णालीमा पनि सतर्कता अपनाउनुपर्ने देखिन्छ, खुल्ला सीमाका कारण नयाँ भाइरस सहजै भित्रिन सक्ने भएकाले हामीले पहिलो चरणमा प्रदेश भित्रिने नाकामा कडाइ गर्ने निर्णय गरेका छौँं,’ निर्देशक खड्काले भने ।

‘हेल्थ डेस्क’मा ज्वरो नाप्नुका साथै कोभिडको लक्षण देखिए एन्टिजोन प्रविधिबाट पीसीआर परिक्षणसमेत गरिनेछ । रिपोर्ट पोजेटिभ आए आइसोलेसनमा राखेर उपचार गरिनेछ भने सीमा नाकाहरूबाट आउने व्यक्तिहरूको अनिवार्य अभिलेख समेत राखिने छ ।

यस्तै हाल बन्द रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पीसीआर प्रयोगशाला जुम्ला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालालाई तयारी अवस्थामा राखिनेछ । प्रदेशका विभिन्न स्थानमा स्थापना गरिएका आइसोलेसनलाई पनि पुनः स्थापना गरिने निर्देशक खड्काले बताए । यस्तै जिल्ला प्रशासन कार्यालयहरूले पनि सतर्कता अपनाउन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर भिडभाड हुने गतिविधि नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि विभिन्न निर्णय समेत गरेको छ ।

जिल्लाका सार्वजनिक स्थलमा हुने भिडभाड नियन्त्रण गर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडाइ गर्नेलगायतका निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप